रोकियो नेकपा महाधिवेशनको कार्ययोजना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकबाट पार्टीभित्रको विवाद अन्त्य गर्दै महाधिवेशन केन्द्रित हुने निर्णय गरे पनि त्यससँग जोडिएका तयारीका काम भने अझै सुरु हुन सकेको छैन । गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले पार्टीको एकता महाधिवेशन आगामी २५ देखि ३० चैतमा काठमाडौंमा गर्ने र तयारीसम्बन्धी निर्णयका लागि १५ देखि १७ कात्तिकसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । साथै, बैठकले तयारीका लागि महŒवपूर्ण मानिएको सदस्यता व्यवस्थापन र नवीकरणसम्बन्धी काम तत्काल अघि बढाउन संगठन विभागलाई निर्देशन पनि दिएको थियो ।
स्थायी समिति बैठक समापन भएकै भोलिपल्ट विभागको बैठक बसेर केही कार्ययोजना पनि बन्यो । तर, विभागले गरेका निर्णयहरूलाई सचिवालयले अनुमोदन नगरेसम्म उसले कुनै पनि योजना अगाडि बढाउन नसक्ने भएकाले महाधिवेशनका तयारीसम्बन्धी कुनै पनि काम अझै अगाडि बढ्न सकेको छैन । गत ४ असोजबाट सुरु भएको सचिवालय बैठकमा संगठन विभागको कार्ययोजना अनुमोदन गर्ने एजेन्डा रहे पनि अझै त्यसमाथि अझै निर्णय भएको छैन । जसले गर्दा विभागले तत्कालीन एमाले र माओवादी दुवैतर्फका संगठित सदस्यहरूको अभिलेखीकरण गर्ने काम नै अगाडि बढाउन सकेको छैन ।
यद्यपि, विभागले पार्टी सदस्यता अद्यावधिकको झमेला टुंग्याउन हस्तलिखित विवरणलाई पनि मान्यता दिने निर्णय गरिसकेको छ । खासगरी पूर्वमाओवादी समूहले व्यवस्थित अभिलेख नरहेको समस्या राखेपछि गाँठो फुकाउन हस्तलिखित विवरणलाई पनि मान्यता दिएर मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना विभागले पास गरेको थियो । तर, विवरण अद्यावधिक भइसकेपछि नवीकरणका बेला भने सम्बन्धित व्यक्तिले नै सदस्यता लिएको खुल्ने कागजात या तत्कालीन पार्टीले गरेको सिफारिस र निर्णय पुस्तिकाको कपी प्रमाणका रूपमा अनिवार्य पेस गर्नुपर्ने बनाइएको छ ।
पूर्वमाओवादीले प्रदेश २ मा व्यवस्थित अभिलेखमा समस्या देखिएकाले विवादित भएकाहरूका जिल्लाहरूमा मात्र कुनै न कुनै कागजातका आधारमा नविकरण टुंग्याउनुपर्ने अवस्था रहेको बताउँदै आएको छ । नेकपाले पार्टी एकीकरणपछि पूर्वएमालेको ५ लाख र पूर्वमाओवादीको ३ लाखसहित करिब ८ लाख सदस्यता रहेको दाबी गर्दै आएको छ । पूर्वएमालेले सदस्यता लिएको, नवीकरण गरेको मितिसहितको सबै सदस्यको तीनपुस्ते विवरणलाई कम्युटराइज्ड प्रणालीमै व्यबस्थित अभिलेख राखे पनि पूर्वमाओवादी समूहसँग भने त्यस्तो अभिलेख छैन ।
पहिलो संविधानसभा निर्वाचनको केही वर्षपछि पार्टी धेरै चिरामा विभाजित हुँदा सदस्यता अभिलेख छिन्नभिन्न भएकाले समस्या परेको भन्दै पूर्वमाओवादी समूहले भने थुप्रै जिल्लाबाट हस्तलिखित विवरण पेस हुन सक्ने जानकारी गराएको छ । उनीहरूले त्यस्तो समस्या दर्साएका कारण तत्कालका लागि सदस्यता विवरण संकलनलाई सहज बनाउन गाँठो फुकाउने विकल्प रोजिएको नेताहरूको भनाइ छ ।
स्थायी समिति बैठकले संगठन विभागको कार्ययोजनामा आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्ता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने, मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने, प्रवास क्षेत्रमा पनि सोहीअनुरूप गर्ने प्रस्ताव पारित गरेको थियो । विभागले पनि महाधिवेशन तयारीकै सिलसिलामा छलफल गरे पनि उसका कार्ययोजना अलपत्र परेको छ । कोभिड–१९ संक्रमणको जोखिम, नजिकिँदो दसैं र तिहार जस्ता चाडपर्वका कारण महाधिवेशनको तयारी अवरुद्ध हुने निश्चित भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply