जगेडा मन्त्रीको अस्वाभाविक चलखेल
काठमाडौं । निजामती कर्मचारी प्रशासनमा मुख्यसचिवले नरुचाएको वा खराब रेकर्ड भएको अधिकृतस्तरभन्दा माथिका कर्मचारीलाई परिभाषित जिम्मेवारी नै नदिई कार्यालयमा हाजिर गराएर थन्क्याउने चलन छ । अहिलेको मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा कुनै विभागीय जिम्मेवारी नतोकिएका त्यस्तै मन्त्री हुन्– उपप्रधानमन्त्री ईश्वर पोखरेल । प्रधानमन्त्री कार्यालयको साँघुरो कोठामा थन्किएर जिम्मेवारीविहीन बनेका उनै उपप्रधानमन्त्री पोखरेलका पछिल्ला गतिविधि भने अहिले पार्टी फुटलाई प्रश्रय दिने देखिएको छ ।
रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री केपी ओली आफैंले सम्हालेपछि प्रायः फुर्सदिला बनेका पोखरेलले दुई अध्यक्षबीच दूरी बढाउने र फुटपरस्त गतिविधिलाई सार्वजनिक रूपमै तीव्रता दिइरहेका छन् । करिब दुई तिहाइको बहुमतको जनमतसहित मुलुकको बागडोर सम्हालिरहेको नेकपा फुट्यो भने मुलुकको कम्युनिस्ट आन्दोलन नै धराशायी हुने र अबका निर्वाचनमा जनताले बदला लिने सिंगो पार्टी पंक्तिमा चिन्ता छाइरहेका बेला पोखरेलले भने सबै शक्ति प्रयोग गरेर फुट परस्त गतिविधिलाई प्रश्रय दिने काममा मात्रै ताउरमाउर देखाएका हुन् ।
दसैंपछि सरकारी सञ्चारमाध्यम गोरखापत्रदेखि निजी क्षेत्रका सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै पोखरेलले आफ्नै आत्मप्रशंसा गर्ने काम गरेका छन् । कार्यकर्ताहरूलाई भेट्नेबित्तिकै खिसिटिउरी गरेर दिक्दारी बनाउने स्वभावका पोखरेलले अन्तर्वार्ताका क्रममा यतिसम्म भन्न भ्याएका छन्– पार्टीभित्रको अन्तरविरोध र प्रतिस्पर्धामा म जता उभिन्छु, त्यतै संस्थापन हुने गरेको छ । अर्थात् पार्टीभित्र उनी यति प्रभावशाली छन् कि, पोखरेल उभिनेबित्तिकै त्यतै बहुमत पुगिहाल्छ ।
जता काफल पाक्यो, त्यतै चरी नाच्यो भने झैं पूर्वएमालेभित्र कहिले माधव नेपाल, कहिले झलनाथ खनाल त कहिले केपी ओलीनिकट भएर सातौं महाधिवेशनपछि निरन्तर लाभ मात्र हासिल गरेका पोखरेलको त्यस्तै स्वभावका कारण उनलाई अझै प्रधानमन्त्री ओलीले उत्तराधिकारीका रूपमा विश्वास गर्न सकेका छैनन् । पोखरेल आफैंले आत्मप्रशंसा गर्न थालेपछि त झन् ओली भित्रभित्रै चिढिएको बताइएको छ ।
तत्कालीन एमाले–माओवादी एकीकरण हुने क्रममा र एकतापश्चात् पोखरेलले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्वमाओवादी समूहको अपमान गर्ने गरेका कारण पोखरेलको विषयले दुई अध्यक्षको छलफलदेखि केन्द्रीय सचिवालय बैठकमासमेत प्रवेश पाएको थियो । अहिले दुई अध्यक्षबीच दूरी बढिरहेका बेला पार्टी महासचिव विष्णु पौडेलले एकताको पक्षमा भूमिका खेलिरहेका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ फुटपरस्त गतिविधिबाट टाढै देखिएका छन् । तर, पोखरेलले भने पूर्वएमाले समूहको बेग्लै भेला गर्ने कामको नेतृत्व गरिरहेका छन् । पोखरेलले मदन भण्डारी फाउन्डेसनलाई तलसम्म विस्तार गर्न र जनताको बहुदलीय जनवादको प्रचार गर्न निर्देशन दिएका छन् । जबकि महाधिवेशनको वैचारिक बहसलाई नेकपाको कुनै पनि कमिटीले संस्थागत निर्णय गरेर खुला गरेको छैन । पोखरेलको त्यस्तो गतिविधिबारे अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमदेखि स्थायी समितिका अधिकांश नेताहरूले प्रश्न उठाइरहेका छन् । पोखरेलले नेताहरूलाई भिडाउने, फुटको आधार तयारका लागि घृणा र द्वेष फैलाउने खालका अभिव्यक्ति दिने क्रम अझै रोकेका छैनन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply