नेम्वाङको ट्विस्टले एकतामा भाँजो
काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्ष सैद्धान्तिक–वैचारिक हिसाबले पेचिलो बन्दै जाँदा नेकपा पंक्तिमा अक्षुण्ण एकताबारे चिन्ता छाइरहेका बेला पार्टीकै एक नेताको भूमिका भने एकता वलियो बनाउनेतर्फ होइन झन् कमजोर बनाउनेतिर लक्षित देखिएको छ ।
पूर्वसभामुखसमेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङको आत्मकेन्द्रित चिन्तन, कानुनी क्षेत्रको सर्वेसर्वा ठान्ने सोच र शैलीका कारण नेपाल बारमा मात्र होइन, कानुनी क्षेत्रमा पूर्वएमाले पंक्ति झन्झन् कमजोर बन्दै गएकै छ । उनको त्यस्तो चिन्तन र शैलीले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि मिल्नै नसक्ने स्थितिमा पु¥याउने हो कि भन्ने नेकपाका दोस्रो तहका कतिपय नेताहरूले चिन्ता गर्न थालेका छन् ।
ओली र प्रचण्डबीच संवाद टाढिनेबित्तिकै बालुवाटारको सन्देश भन्दै उनी बेलाबेला समय लिएर दौडिँदै खुमलटार पुग्छन् । तर, बाहिर भने प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिनेबित्तिकै पटकपटक प्रचण्डले आफूलाई खोज्ने गरेका कारण खुमलटार जाने गरेको प्रचार गर्ने गरेका छन् । पार्टीभित्र अन्तरसंघर्ष चर्किएकै बेला आठ महिनाअघि प्रधानमन्त्री ओलीलाई पत्तै नदिई नेम्वाङले केही सांसदहरू लगाएर वरिष्ठ नेता माधवकुमार नेपालको नाडी छाम्ने कोसिस गरेका थिए । यसबारे पछि मात्रै जानकारी पाएपछि ओलीसमेत उनीसँग रुष्ट भएका थिए । नेम्वाङको योजनाअनुसार नेकपाकी सांसद बिन्दा पाण्डेलगायत केही सांसदले नेपाललाई भेटेर पार्टीको अनुभवी नेताको हैसियतमा भोलिका दिनमा पार्टीको नेतृत्व गर्नुपर्ने अवस्था आउने भएकाले अहिलेलाई प्रचण्डको सट्टा सुवास नेम्वाङलाई प्रधानमन्त्री अगाडि सार्दा के होला ? भन्ने जिज्ञासा राखेका थिए । प्रचण्डसँगको सम्बन्धमा खेल्न खोजेको पत्तो पाएका नेपालले त्यसबारे कुनै ठोस जवाफ नदिएपछि भन्ने नेम्वाङ जिल्लाराम परेका थिए । त्यसयता नेता नेपालको नाम लिने पार्टी नेता, सांसद, पत्रकार जोकोहीसँग नेता नेम्वाङ सशंकित मात्र हुँदैनन्, नेपालको प्रसंगलाई अन्तै मोडेर कुरासमेत ट्विस्ट गर्ने गरेका छन् । यतिसम्म कि उनले बरु पार्टी एकताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खम्बाका रूपमा देखिएको, यताउति गरिरहने ईश्वर पोखरेलको कुनै भरै नरहेको र वरिष्ठ नेता नेपालको त झन् भूमिकै ठीक नरहेको बताउने गरेका छन् ।
नैतिकवान्, समन्वयकारी वरिष्ठ नेता नेपालले उठाएको एजेन्डा ठीक रहेको र उनीसँग जोरी खोजेर ओलीले पनि कमजोरी गरेको जस्ता शब्द भेटमा कसैले उच्चारण गरिहाल्यो भने नेम्वाङ तत्काल ‘इरिटेड’ हुने गरेको समेत चर्चा चल्दै आएको छ । कतिसम्म भने कतिपय मिडियामा त बैठकमा नेपालले भन्दै नभनेको शब्दहरूसमेत ट्विस्ट गरेर बालुवाटारनिकट पत्रकारहरूमार्फत नेम्वाङले लेखाउने गरेकोसमेत सिंहदरबारमा चर्चा चल्ने गरेको बताइन्छ ।
केही दिनअघि न्यायपरिषद् निर्वाचनमा नेम्वाङले उठाएका उम्मेदवार महेश नेपालको पराजय र वरिष्ठ नेता नेपालनिकट रहेका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको जितले नेकपा पंक्तिमा उनको हैसियत पार्टीभित्र झन् कमजोर हुनेगरी खस्किँदै जान थालेको टिप्पणी हुन थालेको छ । नेम्वाङकै कारण यसअघि राजीनामा दिन बाध्य भएको श्रेष्ठको जितले अहिले उनीमाथि न्याय भएको नेकपा पक्षधर वकिलहरूले चर्चा गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply