राम्रो काम गर्दा सबैतिर वाहवाही
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बारम्बार सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी पंक्तिले प्रचार नगरेको र जनस्तरमा प्रशंसा नभएको भन्दै निरन्तर गुनासो गर्दै आएका छन् । सरकार गठनपछिको पहिलो वर्ष सिन्डिकेट अन्त्यदेखि सुन तस्करी नियन्त्रणमा देखाएको सक्रियता, राष्ट्रिय पूर्वाधारको विकासमा तीव्रताका लागि देखाएको तत्परताबाहेक औंलामा गन्न सकिने केहीबाहेक खासै प्रशंसनीय काम हुन सकेन । यसबीचमा प्रधानमन्त्रीले विपक्षीविरुद्ध कार्यकर्ताहरूलाई अरिंगाल बनेर जाइलाग्न दिएको निर्देशनको पनि अहिलेसम्म काफी आलोचना हुँदै आएको छ । तर, प्रधानमन्त्रीका त्यस्तो निर्देशन नाच्न जान्दैन, आँगन टेढो भनेजस्तै उखान सम्झिएर त्यसलाई व्यापक उडाउने काम पनि भयो । यी पृष्ठभूमिमा रफ्तारमा सन्देशमूलक जनमुखी काम हुँदा भने रातारात प्रशंसा हुन्छ भन्ने उदाहरण सरकारको एउटा निर्णयबाटै काफी मात्र देखिएको छैन, केही भइहाल्छ कि भन्ने आशाको सञ्चारसमेत गराएको छ ।
सोमबार ३ सय ९६ ओटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास भएसँगै सरकारको विरोधको ग्राफ एक्कासि घटेको मात्र छैन, पार्टी पंक्ति र समर्थकहरू एकाएक सामाजिक सञ्जालमा प्रशंसामा उर्लिएका छन् । यस्तो, प्रशंसा सरकारले दुई वर्षअघि सामाजिक सुरक्षा कोष उद्घाटन गर्दासमेत नभएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको दाबी छ । त्यसो त सरकारले आर्थिक वर्ष २०७७÷७८ कै बजेटमा स्थानीय तहहरूमा अस्पताल निर्माणका लागि बजेट छुट्याइसकेकाले अहिले कुनै नयाँ काम भने भएको होइन । गत वर्ष र यस वर्ष त्यसैगरी प्राविधिक शिक्षालयहरू निर्माणका लागि पनि सरकारले अबौं बजेट छुट्ट्याइएको छ । तर, आफैंले ल्याएको बजेट कार्यान्वयनलाई पनि कुन तरिका र शैलीबाट अगाडि बढाउने भन्ने उदाहरण पछिल्लो अस्पताल उद्घाटनको उदाहरण नै काफी देखिएको छ । त्यसो त २०५१ सालको नौमहिने अल्पमतको सरकारको नेतृत्व गरेको तत्कालीन एमालेले ‘आफ्नो गाउँ, आफैं बनाऔं’ नराका साथ पहिलोपटक ३ लाख रुपैयाँ बजेट छुट्ट्याएर ९ ‘स’ को अभियान सुरु गर्दा जनसहभागितामा विकासको कार्यक्रम व्यापक रूपमा अगाडि बढेको थियो । अहिले ठ्याक्कै त्यस्तै शैलीको अनुशरण गरेर सन्देश दिँदा फेरि एकपटक २०५१ साल सम्झाउनेगरी नै देशव्यापी उत्साह छाएको छ । अझ एक वर्षभित्रै गुणस्तरीय ढंगले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेर सरकारले न्यूनतम सेवा र स्रोतसाधनसहित सबैतिर चिकित्सकको व्यवस्था गर्न सक्ने हो भने स्वास्थ्यको क्षेत्रमा आमूल सुधार गरेको जस ओली सरकारले नै लिनेमा दुईमत छैन । किनभने, अहिले सरकारले ६६ ओटा जिल्लामा एक लाखसम्म स्वास्थ्य बिमा कार्यक्रम पनि अगाडि बढाएको छ । यस्तो कार्यक्रममा घरघरमा पार्टी कमिटीहरूमार्फत कार्यकर्ताहरूलाई खटाउने, युवा संघमा आबद्ध युवाहरूलाई खटाउने काममा नेकपा चुक्दै आएको छ । पार्टीभित्रको भाँडभैलो हुनेगरी देखिएको तिक्त अन्तरसंघर्षले पार्टीपंक्ति देशव्यापी रूपमा निराश बनेर सरकारकै कुरा काटिरहेका छन् ।
पछिल्लो अभियानको जस भने सरकारको तर्फबाट विभागीय मन्त्रीका रूपमा अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य मन्त्रीभानुभक्त ढकालले लिएका छन् । पार्टी महासचिवसमेत रहेका पौडेलले कार्यकर्ताको मात्र होइन, नेकपाका समर्थक, शुभेच्छुकहरू प्रभावित हुने शैलीमा धमाधम काम अगाडि बढाइरहेका छन् । अर्थमन्त्रीमा नियुक्त भएको १५ दिनभित्रै उनले कोभिड संक्रमण भएकाहरूले एक हप्ताभित्र बिमा भुक्तानी पाउनेगरी प्रक्रिया अगाडि बढाउने कामको नेतृत्व लिए । त्यसो त भूमिहीन गरिबहरूलाई सम्बन्धित मन्त्रालयले तयारी गरेर हजारौं, लाखौंलाई त्यस्तै शैलीमा जग्गा वितरणको काम गर्ने र कार्यकर्ता परिचालन गर्ने काममा सरकार चुकेको छ । स्थानीय तहसम्म जालोका रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रणलगायत जनतासँग प्रत्यक्ष सम्बन्ध गाँसिने थुप्रै कार्यक्रम र अभियान पार्टीसँगको सल्लाह र सुझावमा चलाउने कुरामा पनि सरकार चुक्दै गएको छ । पार्टीको घोषणापत्रसँग गाँसिएको जनतालाई तत्काल प्रभावित गर्ने परिणाममुखी काममा सिंगो पार्टी परिचालन गर्ने काममा सरकार र नेकपा चुक्दै गएको विश्लेषकहरू पनि बताउँछन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply