नेकपाको कार्यविभाजन , पोखरेल र गुरुङ हटाइए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला र जनसंगठनका पदाधिकारीको कार्यविभाजन नयाँ मोडलबाट गर्नेगरी तयारी अगाडि बढाएको छ । प्रधानमन्त्री केपी ओलीले विधि, प्रक्रिया र मापदण्ड लत्याएर पार्टीको ठूलो पंक्ति निष्क्रिय हुनेगरी पार्टी सञ्चालन गर्दा विभाजनकै तहसम्म पुगेको अनुभवका आधारमा नेकपाले नयाँ मोडलबाट कार्यविभाजन र एकताको बाँकी काम टुंग्याउनेगरी गृहकार्य अगाडि बढाएको हो ।
पार्टी कार्यालय, पेरिसडाँडामा आइतबार र सोमबार बसेको स्थायी समिति बैठकले कार्यविभाजन र एकताको बाँकी काम टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बाह्र सदस्यीय शक्तिशाली कार्यदल बनाएको छ । कार्यदलमा नेताहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, गोकर्ण विष्ट, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, जनाद्र्धन शर्मा, लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतलगायत नेताहरू रहेका छन् । यो कार्यदलले मंगलबारबाट निश्चित विधि, प्रक्रिया र मापदण्डका आधारमा कार्यविभाजन र एकीकरणको बाँकी काम टुंगो लगाउनेगरी गृहकार्य अगाडि बढाएको छ । एक हप्ताभित्रै गृहकार्य सकिएपछि स्थायी समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ ।
खासगरी पार्टी एकता गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डालाई आधार मानेर ओली समूहमा लागेका व्यक्तिहरू रिक्त रहेको स्थानमा पदपूर्ति गर्नेगरी कार्यदलले गृहकार्य गर्ने बताइएको छ । जसअनुसार पूर्वएमालेको रिक्त रहेको स्थानमा पूर्वएमालेबाटै र पूर्वमाओवादीको रिक्त रहेको स्थानमा पूर्वमाओवादीबाटै पदपूर्ति गर्नेगरी विधि बनाउन लागिएको बताइएको छ । ‘अपवादबाहेक अधिकांश रिक्त रहेका पदहरूमा त्यसैलाई आधारमा पूर्ति गर्ने मोटामोटी सहमति छ,’ कार्यदलका एक सदस्यले बुधबारसँग भने । पहिलो चरणमा यो काम सकिएपछि केन्द्रीय सदस्यहरूको पदपूर्ति, स्थायी समिति, सचिवालय बिस्तार र महासचिव चयनलगायतको काम सम्पन्न गर्ने नेकपाको तयारी छ ।
बैठकले गण्डकी र लुम्बिनी प्रदेशहरूमा पदाधिकारीहरू हेरफेर गरेको छ । जसअनुसार गण्डकी प्रदेश इन्चार्जमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल र सहईन्चार्ज केन्द्रीय सदस्य तुलबहादुर गुरुङ र सचिव श्रीमाया थकालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्ज स्थायी समिति सदस्य युवराज ज्ञवालीलाई तोकिएको छ ।
विभाजनअघि गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज थिए । उनीहरू दुवै ओली समूहको नेकपामा खुलेका छन् । त्यस्तै, यसअघि गण्डकी प्रदेशको सहइन्चार्ज रहेका प्रदेशको आर्थिक मामिला मन्त्री किरण गुरुङ र सचिव गोविन्द नेपालीलाई पनि बैठकले जिम्म्मेवारी मुक्त गरेको छ । उनीहरू पनि ओली समूहतिरै लागेका छन् ।
पार्टी एकतापछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले दोहोरो जिम्मेवारीमा रहेका गुरुङ र पोखरेललाई इन्चार्जको जिम्मेवारीबाट हटाएर विधि र प्रक्रियाअनुसार जिम्मेवारी बाँडफाँट गर्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १, २, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने तत्काल हेरफेर भएको छैन । तथापि, ती प्रदेश नेतृत्वबारे पनि कार्यदलले नै निर्णय गर्नेछ ।
त्यस्तै, बैठकमा २३ माघसम्मका लागि घोषित प्रतिगमनविरोधी संघर्षका कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्थायी समिति सदस्य वेदुराम भुसालले जानकारी दिए । स्थायी समिति बैठकमा आठ एजेन्डा छलफलका लागि प्रस्तावित छन् । संघर्षका कार्यक्रम, ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेशसभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभारलगायत विषय छलफलका लागि प्रस्तावित भए पनि अर्को बैठक भने कार्यदलले प्रतिवेदन तयार गरेपछि मात्रै बस्ने भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply