माधव नेपाल पहिलो वरीयताका अध्यक्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । नेकपाले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यबस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका हुन् ।
प्रधानमन्त्री केपी ओली र उनको अल्पमत समूहले विशेषत अध्यक्ष नेपालविरुद्ध अनेक कुप्रचार चलाईरहेका बेला नेकपाले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालनका लागि विधानको व्यवस्था कार्यान्वयनमा आएको छ । पार्टी विधानमा दुवै अध्यक्षको वरीयता समान हुने, आलोपालो बैठकको अध्यक्षता गर्ने र त्यसरी अध्यक्षता गर्दा जुन अध्यक्षले अध्यक्षता गरेको छ, अर्को बैठक नबसेसम्म उसैको वरीयतामाथि हुने व्यवस्था रहे पनि प्रधानमन्त्री ओलीले त्यस्तो व्यवस्था कहिल्यै कार्यान्वयनमा ल्याएनन् । बरु, मिडियाहरूमा आफैंलाई स्वघोषित रूपमा पहिलो वरीयताको अध्यक्ष र प्रचण्डलाई दोस्रो वरीयताको अध्यक्षका रूपमा चित्रित गरिरहे । त्यसो त ओलीले अध्यक्ष नेपालको मानमर्दन हुनेगरी दोस्रो वरीयताको अध्यक्ष भएर प्रचण्डको मामुली कार्यकर्ता भएको कुप्रचारसमेत गर्दै आएका थिए । त्यस्तो कुप्रचारबाट पार्टी नेता–कार्यकर्ताहरूमा पूर्वएमाले र पूर्वमाओवादीका नाममा मनोवैज्ञानिक विभाजन गराउँदै बलियो बन्न सकिने ओलीको कोसिस यसबाट असफल भएको छ । यससँगै अर्को बैठक नबसेसम्मका लागि अध्यक्ष नेपालले नै पहिलो वरीयताको हैसियतमा कार्यसम्पादन गर्नेछन् । पार्टीका बैठक र कार्यक्रमहरूमा पनि यही वरीयता ख्याल गरिनेछ ।
गत १९ पुसमा पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक नेपालकै अध्यक्षतामा बसेको थियो । स्थायी समितिको अर्को बैठक नबसेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयता दोस्रो नम्बरमा रहनेछ । स्थायी समितिको बैठकको माइन्युटमा पनि नेपालको नाम एक र प्रचण्डको नाम दोस्रो नम्बरमा लेखिएको छ । दुवै अध्यक्षले वरीयताअनुसार नै माइन्युटिङमा हस्ताक्षर पनि गरेका छन् ।
स्थायी समिति सदस्य वेदुराम भुसालले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले नै दुवै अध्यक्षको वरीयतासम्बन्धी निर्णय गरिसकेको जानकारी दिँदै सिंगो पार्टीपंक्ति अब आलोपालो प्रणालीमा अभ्यस्त हुँदै जाने बताए । ‘केन्द्रीय कमिटी बैठकले नै उहाँहरूको वरीयतासम्बन्धी विषय टुंग्याइसकेको छ,’ भुसालले भने, ‘दुवै अध्यक्षको हैसियत समान हुनेछ तर आलोपालो अध्यक्षताको प्रणाली लागु गरिएकाले जसको अध्यक्षतामा बैठक बस्छ, त्यतिबेला उसैको वरीयता माथि हुनेछ, अर्को बैठक नभएसम्म त्यही वरीयताले काम गर्नेछ र बिस्तारै पार्टी पंक्ति यो आलोपालो प्रणालीबारे अभ्यस्त हुँदै जानेछ ।’
यो प्रणालीअनुसार पार्टीका तल्ला कमिटीहरूले पनि दुवै अध्यक्षलाई एउटै कार्यक्रममा बोलाउँदा कसको वरीयता तलमाथि छ भनेर पहिला पहिचान गर्नुपर्नेछ । त्यसअनुसार कहिले प्रचण्ड त कहिले नेपाल वरीयतामा पहिलो नम्बरमा हुनेछन् । स्थायी समितिअघि ५ पुसमा बसेको केन्द्रीय कमिटी बैठक भने अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । अहिले नेपालको वरीयता एक नम्बर भए पनि अर्को बैठकमा भने आलोपालो प्रणालीअनुसार प्रचण्ड वरीयताको पहिलो नम्बरमा हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply