माधव नेपाल पहिलो वरीयताका अध्यक्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । नेकपाले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यबस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका हुन् ।
प्रधानमन्त्री केपी ओली र उनको अल्पमत समूहले विशेषत अध्यक्ष नेपालविरुद्ध अनेक कुप्रचार चलाईरहेका बेला नेकपाले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालनका लागि विधानको व्यवस्था कार्यान्वयनमा आएको छ । पार्टी विधानमा दुवै अध्यक्षको वरीयता समान हुने, आलोपालो बैठकको अध्यक्षता गर्ने र त्यसरी अध्यक्षता गर्दा जुन अध्यक्षले अध्यक्षता गरेको छ, अर्को बैठक नबसेसम्म उसैको वरीयतामाथि हुने व्यवस्था रहे पनि प्रधानमन्त्री ओलीले त्यस्तो व्यवस्था कहिल्यै कार्यान्वयनमा ल्याएनन् । बरु, मिडियाहरूमा आफैंलाई स्वघोषित रूपमा पहिलो वरीयताको अध्यक्ष र प्रचण्डलाई दोस्रो वरीयताको अध्यक्षका रूपमा चित्रित गरिरहे । त्यसो त ओलीले अध्यक्ष नेपालको मानमर्दन हुनेगरी दोस्रो वरीयताको अध्यक्ष भएर प्रचण्डको मामुली कार्यकर्ता भएको कुप्रचारसमेत गर्दै आएका थिए । त्यस्तो कुप्रचारबाट पार्टी नेता–कार्यकर्ताहरूमा पूर्वएमाले र पूर्वमाओवादीका नाममा मनोवैज्ञानिक विभाजन गराउँदै बलियो बन्न सकिने ओलीको कोसिस यसबाट असफल भएको छ । यससँगै अर्को बैठक नबसेसम्मका लागि अध्यक्ष नेपालले नै पहिलो वरीयताको हैसियतमा कार्यसम्पादन गर्नेछन् । पार्टीका बैठक र कार्यक्रमहरूमा पनि यही वरीयता ख्याल गरिनेछ ।
गत १९ पुसमा पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक नेपालकै अध्यक्षतामा बसेको थियो । स्थायी समितिको अर्को बैठक नबसेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयता दोस्रो नम्बरमा रहनेछ । स्थायी समितिको बैठकको माइन्युटमा पनि नेपालको नाम एक र प्रचण्डको नाम दोस्रो नम्बरमा लेखिएको छ । दुवै अध्यक्षले वरीयताअनुसार नै माइन्युटिङमा हस्ताक्षर पनि गरेका छन् ।
स्थायी समिति सदस्य वेदुराम भुसालले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकले नै दुवै अध्यक्षको वरीयतासम्बन्धी निर्णय गरिसकेको जानकारी दिँदै सिंगो पार्टीपंक्ति अब आलोपालो प्रणालीमा अभ्यस्त हुँदै जाने बताए । ‘केन्द्रीय कमिटी बैठकले नै उहाँहरूको वरीयतासम्बन्धी विषय टुंग्याइसकेको छ,’ भुसालले भने, ‘दुवै अध्यक्षको हैसियत समान हुनेछ तर आलोपालो अध्यक्षताको प्रणाली लागु गरिएकाले जसको अध्यक्षतामा बैठक बस्छ, त्यतिबेला उसैको वरीयता माथि हुनेछ, अर्को बैठक नभएसम्म त्यही वरीयताले काम गर्नेछ र बिस्तारै पार्टी पंक्ति यो आलोपालो प्रणालीबारे अभ्यस्त हुँदै जानेछ ।’
यो प्रणालीअनुसार पार्टीका तल्ला कमिटीहरूले पनि दुवै अध्यक्षलाई एउटै कार्यक्रममा बोलाउँदा कसको वरीयता तलमाथि छ भनेर पहिला पहिचान गर्नुपर्नेछ । त्यसअनुसार कहिले प्रचण्ड त कहिले नेपाल वरीयतामा पहिलो नम्बरमा हुनेछन् । स्थायी समितिअघि ५ पुसमा बसेको केन्द्रीय कमिटी बैठक भने अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । अहिले नेपालको वरीयता एक नम्बर भए पनि अर्को बैठकमा भने आलोपालो प्रणालीअनुसार प्रचण्ड वरीयताको पहिलो नम्बरमा हुने बताइएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply