माधव–प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक
काठमाडौं । दलको आधिकारिकतासम्बन्धी विवाद छिनोफानोमा विलम्ब गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार निर्वाचन आयोग पुगेर कानुनअनुसार तत्काल टुंगो लगाउन ध्यानाकर्षण गराएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार आधिकारिकता माग गर्दै अध्यक्ष नेपाल र दाहालले केन्द्रीय कमिटीको सोमबारको बैठकको निर्णयको हस्ताक्षरसमेत बुझाएका छन् । ऐनको दफा ४४ अनुसार निर्वाचन आयोगले विवाद निरूपण गर्दा बहुमत हस्ताक्षरको सनाखत गरेर सम्बन्धित समूहलाई नै आधिकारिक मान्यता दिने नजिर रहेको छ । यसअघि निर्वाचन आयोगले २०५९ मा कांग्रेस विभाजित हुँदा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको समूहलाई आधिकारिक पार्टी कांग्रेस र चुनाव चिह्न रूख प्रदान गर्ने निर्णय गरेको थियो । तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले बेग्लै दल कांग्रेस प्रजातान्त्रिक दर्ता गरेका थिए भने आयोगले दर्ता भएको दललाई कलश चुनाव चिह्न प्रदान गरेको थियो ।
त्यही नजिरका आधारमा आयोगले विवाद छिटो निरूपण गरे माधव–प्रचण्डले नेतृत्व गरेको नेकपाले आधिकारिक दल र सूर्य चुनाव चिह्न प्राप्त गर्नेछ । तर, आयोगले दलको विवाद निरूपण नै नगरी बहुमतले गरेको निर्णयलाई अभिलेखीकरण गर्न अस्वीकार गर्दै निर्वाचनको तयारी अघि बढाउन थालेका कारण नेकपाले पुनः बहुमतको बैठक राखेर कानुनको दफामै टेकेर आधिकारिकता विवाद टुंगो लगाउन लिखित रूपमै माग गरेको छ । यससँगै अब नेकपाको आधिकारिकता विवाद छिनोफानो हुने चरणमा प्रवेश गरेको छ ।
दफा ४४ मा दलसम्बन्धी विवाद सुरु भएको ३० दिनभित्र दलको ४० प्रतिशत केन्द्रीय सदस्यले आयोगसमक्ष आधार र प्रमाण पेस गर्नुपर्नेछ । यस दफा अनुसार आयोगले अर्को पक्षलाई पनि १५ दिनभित्र दाबी पेस गर्न सूचित गर्नेछ । अर्को पक्षले लिखित जवाफ पेस नगरेमा, म्याद गुजारेमा आयोगले दुवै पक्षलाई सहमतिका लागि छलफलका लागि बोलाउनेछ । तर सहमति हुन नसकेको अवस्थामा भने आयोगले दफा ४४ को उपदफा (६) अनुसार जुन पक्षसँग बहुमत छ, त्यसैलाई आधिकाकिरता प्रदान गर्नुपर्ने हुन्छ ।
दफा ४४ को उपदफा (६) मा भनिएको छ, ‘(६) उपदफा (५) बमोजिम सहमति कायम हुन नसकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१) बमोजिम आयोगमा दाबी पेस गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलका रूपमा मान्यता दिई दर्ता गर्न सक्नेछ ।’
यस दफाअनुसार अब नेकपाको विवाद निरूपणको चरणमा प्रवेश गरेकाले अब ओली समूहले या त माधव–प्रचण्ड समूहले झैं साबिक ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत वा ४० प्रतिशत केन्द्रीय कमिटी सदस्य रहेको प्रमाणित गर्नुपर्नेछ वा छुट्टै दल दर्ता गर्न सहमत हुनुपर्नेछ । त्यसरी सहमतिमा नआए आयोगले स्वतः उपदफा ६ अनुसार माधव–प्रचण्डको नेतृत्वलाई नै आधिकारिक पार्टी र चुनाव चिह्न प्रदान गर्नेछ । यसरी आयोगले कानुनअनुसार निष्पक्ष ढंगले कार्यसम्पादन गर्दा ओलीको नेतृत्वमा सानो समूह मात्र नेकपाबाट चोइटिन सक्नेछ । अहिले उनको समूहमा रहेको धेरै ठूलो हिस्सा पुनः मूलधारमै फर्किने बाटो पनि खुल्नेछ ।
निर्वाचन आयोगले पछिल्लोपटक ५ पुसयता केन्द्रीय कमिटी बैठक राखेर दुवै समूहले गरेको निर्णय अभिलेखीकरण गर्न अस्वीकार गरेपछि भ्रम र अन्योल उत्पन्न भएको थियो । सुरुमा दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेका कारण पनि आयोगलाई विवादबाट पन्छिन सजिलो भएको थियो । तर, पार्टी फुटपछि विवाद निरूपण गर्ने दफा ४४ लाई नै आधार मानेर माधव–प्रचण्ड समूह लिखित पत्रसहित प्रस्तुत भएपछि भने आयोग एउटा निर्णयमा पुग्नैपर्ने बाध्यतामा पुगेको छ ।
अध्यक्ष नेपाल र दाहालसँगै निर्वाचन आयोग पुगेका वरिष्ठ नेता झलनाथ खनालले बहुमत केन्द्रीय कमिटीको समर्थनसहित निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरिएको बताएका छन् । त्यस्तै, नेता राजेन्द्र पाण्डेले २ सय ८७ जना केन्द्रीय कमिटीको नाम आयोगमा बुझाइएको जानकारी दिएका छन् । दलसम्बन्धी ऐनको दफा ४३ र ४४ मा दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयसम्बन्धी उठेका विवाद निरुपणसम्बन्धी व्यवस्था छ । आयोगका पूर्वपदाधिकारीहरूले नेकपाभित्रको विवाद छिटो निरूपण गर्नुपर्ने मत राख्दै आएका छन् । कुन समूह आधिकारिक हो भन्ने विवाद निरूपण नभएसम्म १७ वैशाखका लागि घोषणा गरिएको चुनावै हुन नसक्ने भन्दै उनीहरूले आयोग संविधान र कानुनले सुम्पिएको जिम्मेवारीबाट उम्किन नसक्ने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply