सबैतिर बराबरी हिस्सा
काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को समान हैसियत र मर्यादाक्रम निर्धारण गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीहरूमा दुवै पूर्वसमूहको बराबरी हिस्सा रहनेगरी संगठनात्मक संरचनालाई पूर्णाकार दिने भएको छ । जनवर्गीय संगठनहरूको संरचनालाई पनि त्यसैगरी पूर्ति गर्नेगरी नेकपाले काम सुरु गरेको छ ।
रिक्त स्थानको पदपूर्ति र पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्न नौबुँदे मापदण्ड र आधार पास गरेपछि अध्यक्ष नेपाल र दाहालले ६९ वटा जिल्ला कमिटीको नेतृत्वको बाँडफाँट टुंगो लगाएका छन् । तीमध्ये पूर्वएमाले समूहले ३४ र पूर्वमाओवादी समूहले ३५ वटा जिल्ला नेतृत्व लिने समझदारी बनेको छ । ८३ वटा जिल्ला कमिटीमध्ये अब १४ ओटा जिल्ला कमिटीको नेतृत्व मात्र टुंगो लगाउन बाँकी छ । सर्कुलर पठाउनुअगावै जिल्ला नेतृत्वको टुंगो लगाउन दुई अध्यक्षले अन्तिम गृहकार्य गरिरहेको केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले बताए ।
तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी पनि थिए । जिल्ला नेतृत्वको पदाधिकारीका रूपमा हाललाई इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ । उपत्यकामा काठमाडौं र ललिपुरको अध्यक्ष पूर्वएमालेले पाएको छ भने भक्तपुरको नेतृत्व टुंगो लाग्न बाँकी छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगरसहित, विशेष जिल्ला कमिटीका नेतृत्वको पनि अन्तिम टुंगो लाग्न बाँकी छ ।
दुवै अध्यक्षले हस्ताक्षरसहित रिक्त स्थानको पदपूर्ति र एकीकरणका लागि नौबुँदे मापदण्ड र आधार आइतबार सार्वजनिक गरेका थिए । ‘पार्टीको कुनै पनि कमिटी र जनवर्गीय संगठनका कमिटीहरूमा सामान्यतया जुन समूहबाट रिक्त भएको हो, त्यही समूहले पूर्ति गर्ने तर समग्र संख्या पूर्व दुवै समूहबाट बराबरी रहने गरी संगठनात्मक संरचना बनाउनेगरी मापदण्ड बनेको हो,’ मापदण्ड बनाउने कार्यदलका सदस्य वेदुराम भुसालले भने, ‘सामान्यतया त्यस आधारमै पार्टी कमिटीमा पदाधिकारीहरू पनि चयन हुनेछन् ।’
मापदण्डमा रिक्त रहेका स्थानहरूमा साविकको जुन पक्षबाट रिक्त हो, त्यही पक्षले पदपूर्ति गर्ने तर समग्रमा कमिटीको संख्यामा पूर्वसमूहहरूबाट ५०÷५० प्रतिशत रहने भनिएको छ । ‘प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरू तथा जनसंगठनका पदाधिकारीमा सामान्यतया साबिकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने, त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुनेगरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने,’ मापदण्डमा भनिएको छ, ‘सामान्यतया पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ।’
त्यस्तै, रिक्त स्थानमा पूर्ति गर्दा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने र समावेशी सिद्धान्तको अनुशरण गर्ने पनि मापदण्डमा उल्लेख छ । ‘वरीयतामा ध्यान दिँदा साबिक घटकको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भए पनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरीयताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने,’ मापदण्डमा छ ।
त्यस्तै, विशिष्ट स्थितिमा भने स्थानीय आवश्यकताअनुसार प्रदेश कमिटीले सक्रियतालाई ध्यान दिएर फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्न सक्ने विशेष ध्यान दिने मापदण्ड छ ।
उता, पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरू चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिका रूपमा उपयुक्त व्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारीमा खटाइने, साबिक एमाले पंक्तिमा रहेको गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्न सक्ने कुरामा विशेष ध्यान दिने पनि मापदण्डमा उल्लेख छ । त्यस्तै, प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने पनि मापदण्डमा उल्लेख छ ।
गत २० पुसमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल, वर्षमान पुन, मातृका यादव, शक्ति बस्नेत र भीमबहादुर रावल सदस्य थिए । कार्यदलले १ माघमा बसेको स्थायी कमिटी बैठकमा प्रतिवेदन बुझाएको थियो ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply