कांग्रेसको पालिका अधिवेशन आजदेखि सुरु हुँदै
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ ।
काठमाडौैँको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो । यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।
यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।
शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply