समानुपातिकलाई नदोहोर्याउने, पछिल्लो चुनाव हारेकालाई उम्मेदवार नबनाइने
११ भदौ, काठमाडौं । नेकपा एमाले समानुपातिक निर्वाचन पद्धतितर्फ एक पटक अवसर पाएकाहरुलाई नदोहोर्याउने नीति लिएको छ । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ र २२ भदौभित्र सिफारिस गरिसक्न पार्टीका तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमालेले पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई छनोट मापदण्ड बनाएको छ ।
तर समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने भन्दै उसले बन्द सूची बनाउन सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्नुपर्नेमा जोड दिएको छ । दामाशाहीमा वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण भएको भन्दै एमालेको निर्णयमा भनिएको छ, समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई आम रुपमा दोहोर्याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली लागु गर्नुपर्छ ।
एमालेले स्थानीय वा कुनै पनि तह (राष्ट्रियसभा) का जनप्रितिनिधिलाई राजीनामा गराएर प्रदेश वा प्रतिनिधिसभाको उम्मेदवार सिफारिस नगर्न भनेको छ ।
साथै पछिल्लो पटक भएका कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारलाई प्रदेश वा प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार बनाउन नहुने बताएको छ । तर जनधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखी अन्य पार्टीबाट प्रवेश गराइएकाहरुको हकमा भने विशेष निर्णय लिनु उपयुक्त हुन्छ, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।
प्रत्यक्षतर्फ कति पटक उम्मेदवार भन्ने तर्क व्यवहारिक नहुने भन्दै एमालेले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपमहासचिव गुरुङका अनुसार प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसमा जिल्ला र प्रदेशले आफ्नो अलग राय भए त्यसलाई पनि समावेश गरेर २२ भदौभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ । यस्तो सिफारिस, सिफारिस हुने भन्दै एमालेले भनेको छ, निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भए जस्तो व्यवहार गर्न मिल्दैन ।
साथै जनअनुमोदित हुन प्रतिस्पर्धामा सामेल हुने चाहना स्वाभाविक भए पनि म मात्र जित्छु, म मात्र योग्य भन्ने मनोकांक्षा उपयुक्त नहुने समेत एमालेले बताएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply