टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ४१ हजार नाघ्यो
४ फागुन, काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौं घरबारविहीन भएका छन् ।
खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।
टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय २०५ घण्टापछि एक महिलासहित नौ जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताएका छन् । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताएका छन् ।
आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
टर्कीएको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ ।
विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरियाका भूकम्प पीडितले आफूहरूलाई मार्न वा आफ्ना घर फर्काउन माग गरेका छन् । गृहयुद्धका कारण आफ्नै भूमिमा शरणार्थी बनेका उनीहरूले सिरिया सरकारसँग घरफिर्तीको माग गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग गर्न अपील गरेको छ । महासचिव एन्टोनियो गुटरेसले टर्कीएका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन् । टर्कीएको रेडक्रिसेन्टले आगामी डेढ वर्षसम्म क्षतविक्षत टर्कीएमा सहायता परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । यसैबीच, दश वटा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले पठाएका मानवीय सहायता सामग्री बोकका मालबाहक ट्रक सिरिया पुगेका छन् ।
एल साल्भाडोर, जर्मनी, मेक्सिको, कतार, दक्षिण कोरिया, स्विटजरल्याण्ड, युक्रेन र अमेरिकाबाट उद्धारकर्ताले ल्याएका तालिम प्राप्त कुकुरको सहयोगमा भूकम्पको एक सातापछि पनि भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्न सफलता प्राप्त भएको खोज तथा उद्धारमा संलग्न स्वयम्सेवकहरूले बताएका छन् । लागू औषध नियन्त्रण, सुरक्षा कारबाही र दैवी विपत्तिका बेला सहयोग गर्न विशेष रुपमा तालिम दिइएका कुकुर टर्कीए र सिरियाका भूकम्पले भत्काएका घरका भग्नावशेषबाट उद्धार गर्न साँच्चै सहयोगी भएका एक जना कतारी उद्धारकर्ताले एएफपीलाई बताए ।
प्रारम्भिक आकलनअनुसार टर्कीएमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply