बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री
७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आज (आइतबार) टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका हुन् ।
७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै भने, ‘फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो । आजभन्दा ठिक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेका थिए । यस महत्त्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नु हुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु । विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु ।’
निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएको स्मरण गर्दै प्रधानमन्त्रीले ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेको जिकिर गरे । यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न उनले अपिल समेत गरे ।
उनले भने, लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरूको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा एवं निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुन्छ । लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुन्छ ।
उनले थपे, सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्त्वपूर्ण कार्यभार हाम्रासामु छ । जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिन्छ । उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव छ ।
संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता रहेको प्रधानमन्त्रीको भनाई रहेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply