सुन तस्करी प्रकरण : राजस्वले सीआईबीलाई दियो अनुसन्धानको जिम्मेवारी
२१ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको थप अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मामा आएको छ । राजस्व अनुसन्धान विभागले यही ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्वीन्टल सुन बरामद गरेको थियो ।
सुरुमा यो प्रकरणको आफैले अनुसन्धान गरिरहेको राजस्वले अब थप अनुसन्धानका लागि सीआईबीलाई फाइल बुझाएको हो । सुन तस्करी प्रकरण अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि प्रहरीलाई फाइल बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।
‘हालसम्म खुलेका प्रमाणले संगठितरुपमा गरिएको अन्तरदेशीय अपराध देखिन्छ । त्यही भएर बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिमार्फत गर्नुपर्ने भएर प्रहरीलाई जिम्मा दिइएको हो’ महानिर्देशक ढुंगानाले भने । नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक, नेपाली र भारतीय नागरिक छन् । तस्करहरूले त्यसअघि पनि ठूलो परिमाणमा सुन भित्र्याएको विभागले गरेको पछिल्लो अनुसन्धानले स्पष्ट पारेको छ । विभागले टोखामा सुन गाल्ने कारखाना फेला पारेको थियो भने त्यहाँ खोक्रा ब्रेकसु समेत भेटेको थियो ।
यो अनुसन्धान अब सीआईबीले गर्ने भएपछि संगठित अपराधमा पनि अनुसन्धान हुने भएको हो । यही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेको छ । विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।
सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तरदेशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन् ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply