६ वर्षपछि दुई नेताबीच तीन घण्टा एकान्त वार्ता
![६ वर्षपछि दुई नेताबीच तीन घण्टा एकान्त वार्ता ६ वर्षपछि दुई नेताबीच तीन घण्टा एकान्त वार्ता](https://ebudhabar.com/wp-content/uploads/2019/07/New-Project3.jpg)
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफ्नो कार्यशैलीका आलोचक स्थायी समिति सदस्य घनश्याम भुसालसँग करिब तीन घन्टा एकान्त छलफल गरेका छन् ।
गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले भुसालसँग निकै लामो छलफल गरेको बालुवाटारनिकट स्रोतले बतायो । स्रोतका अनुसार आफ्नै पार्टी अध्यक्षसँग भुसालले ६ वर्षपछि त्यति लामो भेटवार्ताको अवसर पाएका छन् । पार्टी कार्यालय, संसदीय दल, औपचारिक फोरम र सामूहिक रूपमा नेताहरूसँगको औपचारिक फोरमहरूमा जम्काभेट हुनेबाहेक प्रधानमन्त्री ओली र भुसालबीच लामो समयदेखि संवादहीनताको अबस्था रहेको कटु यथार्थबीच पछिल्लो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि ओली–भुसालबीच २०७० माघ २२ मा संसदीय दलको निर्बाचन हुनुभन्दा केही दिन पहिले यस्तै लामो छलफल भएको थियो । २०७१ सालमा सम्पन्न तत्कालीन एमालेको नवौं महाधिवेशनको संघारमा थोरै संवाद भए पनि उनीहरूबीच लामो छलफल भएको थिएन ।
पार्टी अध्यक्ष ओलीसँग औपचारिक फोरमहरूमा आँखा जुधाएर सैद्धान्तिक तर्क गर्ने र उनका कार्यशैलीको कटु आलोचना गर्ने प्रतिपक्ष नेताको जस्तो भुसालको बाहिरी छवि बने पनि यथार्थमा दुई नेताबीच ठ्याक्कै त्यस्तो प्रचारित सम्बन्ध पनि नभएको बताइन्छ । प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा भुसालले राष्ट्रिय अडान र दृष्टिकोणसँगै देशमा उत्साह जगाएको भन्दै उनको प्रशंसा गरेका थिए । त्यसका निम्ति भुसालले ओलीसँगको संक्षिप्त भेटहरूमा बधाई दिँदै सफल नेतृत्वका लागि पटक–पटक शुभकामना पनि दिएका थिए । यद्यपि, उनले सार्वजनिक फोरमहरूमा भने नेतृत्वको उतिसारो प्रशंसा र प्रतिरक्षा गरेनन् । ओली निकटहरू भुसालले आफ्नो विद्धतालाई कहिल्यै पार्टी र नेतृत्वको प्रतिरक्षामा प्रयोग नगर्ने, साँघुरो घेरामै रमाउने गरेको भन्दै आलोचना गर्ने गर्छन् । त्यति मात्र होइन, उनलाई मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको विरोधीका रूपमा चित्रित गर्दै आएका छन् । तर, भुसाल स्वयंले भने आफूहरूले नै आठौं महाधिवेशनमा जबजलाई सिद्धान्तका रूपमा विकसित गरेको दाबी गर्दै २०६२÷६३ को जनक्रान्तिसँगै त्यसको कार्यक्रमिक पक्षको ‘च्याप्टर क्लोज’ भएको र दार्शनिक, सैद्धान्तिक पक्ष बाँकी नै रहेकाले समाजवाद प्राप्तिको मार्गदर्शन हुनेगरी थप विकसित र समृद्ध बनाउनुपर्ने बताउँदै आएका छन् ।
नवौं महाधिवेशनमा भुसालले गरेको नेपाली समाजको चरित्र विश्लेषण स्विकार्दै राजनीतिक दस्तावेज पारित भएको थियो । त्यसपछि उनले पार्टीले स्कुल विभागको जिम्मेवारी दिने अपेक्षा गरेका थिए । तर, भुसालले त्यस्तो अपेक्षा ओलीलाई भेटेर वा मागका रूपमा कसैसँग प्रस्तुत गरेनन् । पार्टी एकतापछि नेतृत्वले प्रदेश इन्चार्जमा भुसालको नाममा छलफल त के सुन्न पनि नचाहेको बताइन्छ । तत्कालीन एमाले उपमहासचिवमा निर्वाचित भए पनि भुसाल कर्नरमा परे । भुसाल तत्कालीन महाधिवेशनमा नेपाल समूहबाट निर्बाचित भएकाले पार्टी एकतापछि पनि उनकै समूहमा छन् । पार्टी संचालनसम्बन्धि ओलीको कार्यशैलीमा निरन्तर फरक मत राख्दै आएका भुसालले पछिल्ला दिनमा नेतृत्वले सरकार र पार्टी सञ्चालनमा ध्यान नपु¥याए गम्भीर संकट आउन सक्ने चेतावनी दिँदै आएका थिए । पार्टी एकता लामो समयसम्म नटुंगिएको, राजनीतिक दस्तावेजसमेत प्रकाशनमा आइनसकेको मात्र होइन, पार्टी सञ्चालनमा विधि, प्रक्रिया र मापदण्डको विषय बारम्बार जोडदार उठ्दै गएको, पार्टी एकता कमजोर हुँदा सरकारले कतिपय राम्रा काम गर्न खोज्दाखोज्दै पनि क्रमशः ब्याक हुँदै गएको परिवेशमा ओली–भुसालबीचको भेटलाई अर्थपूर्ण रूपमै हेरिएको छ । यो भेटलाई बालुवाटार स्रोतले मात्र होइन, भुसाल स्वयंले पनि गुपचुप राख्न रुचाएका छन् ।
‘उहाँहरूबीच धेरै लामै छलफल भयो, करिब तीन घण्टाको समयमा दुई तिहाइभन्दा बढी समय त लामो समयदेखिको सम्बन्धका उतारचढावलाई संस्मरणात्मक ढंगले नै अध्यक्षले प्रस्तुत गर्नुभयो,’ स्रोतले भन्यो, ‘अन्त्यतिर घनश्याम कमरेडले व्यक्तिगत मामिलाभन्दा पनि राजनीतिक विषयमै छलफल गरौं भन्नेमै जोड गर्नुभएको थियो तर समय अभाव भएकाले छलफल त्यतिकैमा सकियो ।’ भुसषालले पार्टीलाई विधिसम्म ढंगले सञ्चालन गर्ने बित्तिकै अहिले आएका देखिएका समस्याहरू मूलभूत रूपमा समाधान हुँदै जाने र सकारात्मक वातावरण बन्ने सुझाव दिएको बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै समय मिलेपछि पुनः खबर गर्ने भुसाललाई आश्वासन दिएका छन् । भुसालले पनि निमन्त्रणालाई ‘पेस्की’का रूपमा स्वीकार गर्दै खबर भए बालुवाटारमा भेट्न आउने जवाफ फर्काएका छन् ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply