३८ किलो सुन प्रकरण : आजदेखि प्रतिरक्षा बहस
१२ असोज, मोरङ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ किलो सुन तस्करीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ ।
फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा मंगलबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन् । प्रतिरक्षा बहसका लागि ८० जना बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।
उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ शुरु भएको हो । आइतबार र सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे । सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका हुन् ।
सोमबार बहसका क्रममा सरकार पक्षका वकिलहरूले सुन तस्करी र हत्यामा प्रतिवादीहरूको संलग्नता रहेको दाबी प्रस्तुत गरेका थिए । तर, घटनाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीले तस्करी गरेको स्पष्ट प्रमाण उनीहरुले दिन सकेका छैनन् ।
मुख्य अभियुक्त गोरेले सनमको हत्या गरेको प्रमाण पुग्नेमा सरकारी पक्ष ढुक्क देखिए पनि सुन तस्कर गरेको प्रमाण भने नपुग्ने हो कि भन्ने डर उत्पन्न भएको छ । इजलासले बयानका क्रममा स्वीकार गरेको विषयलाई आधार माने मात्र गोरे दोषी हुने अपेक्षा गरिएको छ । त्यही बयानलाई सरकारी पक्षले सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजेको देखिन्छ ।
उनीहरुले मुद्दामा प्रतिवादी बनाइएकालाई विगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन् । सरकारी वकिलको बहस सकिएपछि सोमबार एक जना प्रतिवादीको पक्षमा पनि बहस भएको छ । प्रतिवादीमध्येका पूर्व डीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका हुन् । उनले सुन तस्करी र सनम हत्यामा संलग्न नभएको दाबी गर्दै पूर्व डीआईजी निरौलालाई सफाइ दिनुपर्ने जिकिर गरेका छन् ।
सूचना अधिकारी धमलाका अनुसार प्रतिवादीका कानुन व्यवसायीको बहस नसकिएसम्म मुद्दाको सुनुवाइ जारी रहने छ । प्रतिवादी पक्षको बहस सकिएपछि उनीहरुले उठाएका विषयलाई लिएर सरकारी वकिलले प्रतिवाद बहस गर्ने उनको भनाइ छ । सरकारी वकिलको प्रतिवाद बहसपछि भने अदालतले बहुचर्चित यो मुद्दाको फैसला गर्ने जानकारी धमलाले दिए ।
तस्करी गरेर दुवईबाट ल्याएको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो । गोरेकै ‘सेटिङ’ मा र व्यापारीको लगानीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुवई लगायतका देशबाट नेपालतिर सुन तस्करी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा लगभग ३८ किलो सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो ।
जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चार शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको हो । मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ किलो) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।
सुरुमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो । प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन् भने २२ जना अझैसम्म फरार रहेको सूचना अधिकारी धमलाले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply