जुवाडेले भरिए काठमाडौं र भक्तपुरका प्रहरी हिरासत
२२ कात्तिक, काठमाडौं । दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् ।
ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ परेका ३४ जनासँग १५ लाख ८१ हजार नौ सय २० रुपैयाँ गरी ६२ लाख १९ हजार नौ सय ४५ रुपैयाँ बरामद भएको छ ।
‘तिहारमा धेरै जुवाखालमा अप्रेसन चल्यो । धेरै जुवाडे पक्राउ परेपछि हिरासत कक्ष नै भरिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘अधिकांश हिरासतमै छन् । केही भने धरौटीमा छुटेका छन् ।’ जुवाखालमा पक्राउ पर्नेमा राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय तहका नेता समेत छन् ।
प्रहरीका अनुसार लक्ष्मीपूजाका दिन बौद्ध जोरपाटीको नयाँबस्ती ओलाङचुङगोला गुम्बास्थित सागर लामाको घरबाट पक्राउ परेका बर्मा लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा राखिएको छ । लामा कांग्रेस दोलखा जिल्ला किमिटी सभापति हुन् । उनी केही समयअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी जुवा खेलेको खालबाट प्रहरीले १८ जुवाडे पक्राउ गरेको थियो भने ६ लाख ३२ हजार पाँच सय रुपैयाँ र ४८ थान कौडा बरामद गरेको थियो ।
परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जुवाखालबाट पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुने बताए । उनले भने, ‘पर्वका वेला जुवाखालबाट धेरै जुवाडे पक्राउ परे । उनीहरूको पृष्ठभूमिका सम्बन्धमा त हामीलाई थाहा हुने विषय होइन । कानुनी नजरबाट हेर्दा जुवाखालमा पक्राउ परेका सबै जुवाडे हुन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुन्छ ।’
त्यस्तै, भाइटीकाको दिन भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँका ५२ वर्षीय मणिराम पुरीको घरबाट १५ जुवाडेसहित कांग्रेस चाँगुनारायण नगर समितिका सहसचिव चन्द्रशेखर खत्री र कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का सचिव जनक खत्री पक्राउ परेका थिए । उनीहरूको खालबाट प्रहरीले १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ र दुई बुक तास बरामद गरेको थियो ।
धरौटी रकम बुझाएर उनीहरू हिरासतमुक्त भइसकेका छन् । उनीहरूलाई प्रहरीले २४ घन्टा पनि हिरासतमा नराखी तारेखमा छाडेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव श्रेष्ठले पक्राउ परेका सबैलाई तारेखमा छाडिएको बताए । ‘टीकाको दिन जुवाखालबाट १५ जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट १२ लाख रुपैयाँभन्दा धेरै रकम बारामद भएको छ । उनीहरूलाई तारेखमा छाडेका हौँ,’ उनले भने, ‘तारेखमा राख्नुको अर्थ हिरासतमुक्त गरेको भन्ने होइन ।’
प्रहरी भन्छ– ललितपुरमा जुवा खाल नै नखुलेपछि कोही पक्राउ परेन
काठमाडौं र भक्तपुरबाट ठूलो संख्यामा जुवाडे समातिँदा ललितपुरमा भने एक जना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । जिल्लाभर जुवाखाल नै नखुलेको प्रहरीको दाबी छ । पर्वआसपास गरिएका सुरक्षा कारबाहीका कारण यस वर्ष जुवाखाल नखुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी उज्वल महर्जनले बताए ।
‘यस वर्ष ललितपुरमा कोही जुवाडे पक्राउ परेन । किनभने यहाँ जुवाखाल नै खुलेनन्,’ उनले भने, ‘हामीले पर्व आसपास सुरक्षा कारबाही कडा तुल्यायौँ । जुवा नखेल्न सबैलाई सचेत गरायौँ । त्यसैले जुवाखाल नखुलेको हो ।’ नयाँ पत्रिका दैनिकबाट
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply