मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, नयाँ वर्षपछि मात्रै धारामा आउने
२९ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुन: पठाउन थालिएको हो ।
अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ । आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ । आजको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी हुने भए पनि निर्वाचन आचारसंहिताका कारण उनी सहभागी नहुने भएका छन् ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री विना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।
तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो । १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए ।
२२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर वाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।
उद्घाटनको हतारोमा सरकारले त्यतिबेला सुरुङ खाली गरेर गर्नुपर्ने सुपरीवेक्षण र सुधारको काम नगरी पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।
त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् ।
तर, हेडवक्र्सको निर्माण नसकिँदै गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पार्यो । अस्थायी बाँध बनाइसकेपछि गत १९ चैतमा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको महुानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।
सातौं पटक उद्घाटन–शुभारम्भ हुन लागेको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन् कि छैनन् भन्ने टुंगो छैन ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply