भोलि रातिदेखि मौन अवधि, सीमा नाका तीन दिन बन्द हुने
२६ वैशाख, काठमाडौं । शुक्रवार हुने स्थानीय निर्वाचनका लागि भोलि रातिदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।
चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।
मंगलबार मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निणर्यअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा छ । ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।
चीनतर्फका नाका पूर्वअनुमति बेगर आउजाउ गर्न नमिल्ने भएकाले निर्वाचन लक्षित नाका शिल गर्न कठिन छैन । भारतसँग जोडिएका सबै नाका खुला भएका कारण बन्द ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका बासिन्दा दुवै देश आउजाउ गरिरहन्छन् ।
भारतसँग इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, धनुषाको जटही, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको मोहना र गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायत दर्जनभन्दा बढी ठूला नाका व्यवस्थापनमा कठिन छैन । तर अरू छोटी भन्सार तथा चेक प्वाइन्ट र सीमा गौंडाबाट लुकीछिपी हुने आउजाउलाई रोक्न चुनौतीपूर्ण छ ।
दक्षिणतर्फका सीमा सुरक्षा र सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका २ सय २० बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी स्थानमा सीमा सुरक्षा चौकी छन् । ‘जस्तोसुकै स्थितिमा पनि निर्वाचन अवधिभर अत्यावश्यक र अनुमतिबाहेक सीमाबाट आवतजावत गर्न नदिन स्पष्ट निर्देशन दिएका छौं,’ गृह प्रवक्ता पोखरेलले भने ।
चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूणर् र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँड-रक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
आयोगले बिहीबार नै ‘स्थानीय तह सदस्य निर्वाचन-२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७९’ जारी गरिसकेको छ, जसमा आयोग र जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।
निर्वाचन आयोगको मापदण्डअनुसार मतदान हुने दिन सवारीसाधनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुनेछ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिएर प्रमुख जिल्ला अधिकारीमार्फत पास लिनुपर्नेछ । मानवीय सहायताका लागि प्रजिअबाट समन्वय गरेर सवारी आवागमन व्यवस्थापन गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थल जाने र विदेशबाट आउनेका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा आवागमनका लागि प्रजिअले समन्वय गर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर सहजीकरण गर्नेछ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने सवारी पास निर्वाचन आयोग परिसरको सवारी आवागमन व्यवस्थापन डेस्कबाटै एकीकृत रूपमा वितरण गरिनेछ । त्यसका लागि गृह र जिल्ला प्रशासन काठमाडौंबाट एक-एक जना अधिकृत तहका कर्मचारी खटाइएको छ ।
सवारीसाधनको अनुमतिपत्रका विषयमा सहजीकरण, व्यवस्थापन, अनुगमनका लागि आयोगले प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, सूचना तथा प्रसारण विभाग, आयोगकै योजना अनुगमन तथा वैदेशिक समन्वय शाखाका उपसचिव र शाखा अधिकृत सम्मिलित ५ सदस्यीय समिति गठन गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply