स्वास्थ्य व्यवसायी महासंघ कि भ्रष्टाचारको अखडा ?
काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आर्थिक अनियमितता हुने गरेको पाइएको छ । महासंघका अध्यक्ष कैलाश खड्का र वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीले विगत डेढ वर्षदेखि कार्य सञ्चालनका नाममा व्यापक आर्थिक अनियमितता गर्ने गरेका छन् । उपाध्यक्ष रेग्मी महासंघका नामबाट देशविदेशमा हुने भ्रमणसमेत गरी स्वार्थ परिपूर्ति गरिरहेका छन् भने व्यवसायी तथा महासंघलाई तहसनहस पार्ने अभियानमा अध्यक्ष खड्कालाई साथ दिइरहेको व्यवसायीहरूको आरोप छ ।
बायोमेट्रिक प्रणालीको पूर्ण विरोध गरेर महासंघमा चुनाव जितेका वरिष्ठ उपाध्यक्ष रेग्मी महासंघमा छिर्नेबित्तिकै अध्यक्षसँगको मिलेमतोमा उक्त प्रणालीको समर्थन गरी महासंघलाई आर्थिक रूपमा धराशायी बनाउन लागिपरेको बताइन्छ । तर, रेग्मीले आर्थिक भागबन्डामा कुरा नमिलेपछि पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए । तैपनि, उनको राजीनामा स्वीकृत भने भएको छैन ।
८ करोड झ्वाम
मेडिकल रिपोर्टमा होलोग्राम टाँस्दा स्वास्थ्य व्यवसायीले प्रतिकामदार ५ सय रुपैयाँ महासंघमा बुझाउनुपथ्र्यो । एक दिनमा करिब २२ सय कामदारले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसरी महासंघमा दैनिक ११ लाख रुपैयाँ जम्मा हँुदै आएको थियो । यस हिसाबले हेर्दा महासंघको बैंक खातामा अहिलेसम्म करोडौं रुपैयाँ जम्मा हुनुपर्ने देखिन्छ । तर, महासंघको खातामा २ लाख रुपैयाँ पनि बचत छैन । महासंघका एक पदाधिकारीका अनुसार बैंक खातामा करिब डेढ लाखजति मात्रै रकम बाँकी छ । उक्त रकम विदेशमा मेडिकल फेल भएर नेपाल फर्केका कामदारलाई फिर्ता गर्नुपर्छ । व्यवसायीसँग धरौटीबापत लिइएको रकम पनि हरेक महिनाको अन्तिममा फिर्ता गर्नुपर्छ । तर, उक्त रकम करिब ६ महिनायता फिर्ता गरिएको छैन ।
स्वास्थ्य व्यवसायीलाई मात्रै महासंघले फिर्ता गर्नुपर्ने रकम करोडभन्दा माथि छ । त्यसैगरी, विगत एक वर्षदेखि महासंघले विदेशमा मेडिकल फेल भएर फर्केका करिब २ हजारभन्दा बढी कामदारलाई करिब ८ करोड रुपैयाँ क्षतिपूर्ति दिन बाँकी छ । नियमअनुसार महासंघले मेडिकल फेल भएर फर्केका कामदारलाई प्रतिव्यक्ति ४० हजार रुपैयाँ उपलब्ध गराउनुपर्छ । तर, कसैले पनि उक्त रकम पाएका छैनन्, न त त्यो रकम महासंघको बैंक खातामा नै देखिन्छ ।
८ करोड रुपैयाँ अध्यक्ष खड्काले आफैं प्रयोग गरेको र हिसाब कहीँकतै नदेखाएको नाम नछाप्ने सर्तमा महासंघका एक सदस्यले जानकारी दिए । उनका अनुसार अध्यक्ष खड्काले आफ्नो चाकडी गर्ने केही स्वास्थ्य व्यवसायीलाई भने फिर्ता गर्नुपर्ने रकम र क्षतिपूर्तीसमेत दिइसकेका छन् ।
बायोमेट्रिकका नाममा लुट
पैसा भनेपछि मरिहत्ते गर्ने अध्यक्ष खड्का बायोमेट्रिक मेडिकलको सेटिङ गरिदिन्छु भनि ३९ वटा मेडिकलसँग ५० लाख रुपैयाँका दरले करिब २० करोड कुम्ल्याउन सफल भएको बताइन्छ । २० करोड रुपैयाँ उठाएपछि उनले पैसा दिएका मेडिकलले मात्रै बायोमेट्रिक मेडिकल गर्न पाउने नियम बनाए । अहिले तिनै ३९ वटा मेडिकलले बायोमेट्रिक सिन्डिकेट लाद्दै आएका छन्, जसका कारण अन्य २ सय ५० भन्दा बढी स्वास्थ्य संस्थाहरू ठूलो मारमा परेका छन् ।
खड्काले अझै पनि बायोमेट्रिक मेडिकल मिलाइदिने भन्दै केही स्वास्थ्य व्यवसायीसँग पहिलेकै शैलीमा रकम उठाउन थालेको बताइन्छ । खड्काले पैसा लिएर पनि बायोमेट्रिक मेडिकल गर्ने अनुमति आफ्नो संस्थालाई नदिलाएको भन्दै एक व्यवसायी आफ्ना साथीभाइसँग गुनासो गर्दै हिँड्ने गरेको बताइन्छ ।
भ्रष्टाचारमा पनि उस्तै
अचम्मको कुरा त के भने अध्यक्ष खड्काले स्वास्थ्य व्यवसायी र विदेशमा मेडिकल फेल भएर फर्केकालाई करोडौं रुपैयाँ तिर्नुपर्नेछ । तर, उनीसँग कसैले आफैंले पाउनुपर्ने पैसा माग्ने आँटसम्म गरेका छैनन् । महासंघ स्रोतका अनुसार उनलाई महासंघका निवर्तमान अध्यक्ष प्रवीण तिवारी र निवर्तमान केन्द्रीय सदस्य एवं मास्टर माइन्ड डन भनेर चिनिने गुन्डा नाइके महेश श्रेष्ठको साथ रहेको बताइन्छ । उनीहरूकै आडमा उनले महासंघमा भ्रष्टाचार गर्दै आएका छन् । कोही अफिसमा पैसा माग्न आए खड्काले कहिल्यै पूरा नहुने आश्वासन बाँड्दै हिँड्ने निवर्तमान अध्यक्ष तिवारीलाई बोलाएर आश्वासनका पोेका बोकाएर फिर्ता पठाउने र तर्साएर भए पनि आफ्नो पैसा असुल्न खोज्नेलाई गुन्डा नाइके श्रेष्ठको आडमा धम्क्याएर पठाउने गरेका छन् ।
श्रेष्ठको सबै दलका शीर्ष नेतासंँग सीधा सम्पर्क भएको बताइन्छ । कांग्रेसको गत महाधिवेशनमा दाङ क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा जितेका उनी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काका दाहिने हात मानिन्छन् ।
यसकारण साथ छ तिवारी र श्रेष्ठको
निर्वतमान अध्यक्ष प्रवीण तिवारीको पालामा उनकै योजनामा नेपालमा बायोमेट्रिक लगाउन तत्कालीन वरिष्ठ उपाध्यक्ष कैलाश खड्कालाई उनले त्यो कामको जिम्मा लगाएका थिए ।
योजना बनाउन माहिर प्रवीण तिवारी, गुन्डाको नाइके महेश श्रेष्ठ र हालका अध्यक्ष कैलाश खड्काको मिलेमतोमा मलेसिया जाने कामदारको प्रतिकामदार १५ डलर महासंघको कार्यालयमा विनाबिल भर्पाई उठाई उक्त रकम खड्का, तिवारी, श्रेष्ठ र तत्कालीन श्रमराज्य मन्त्रीले बाँडेर लिने गरेको बताइन्छ । र, त्यस्तो रकममध्ये केही रकम महासंघका लेखापाल रवीन्द्र केसीसमेतलाई दिई बाँडेर खाने गरेको बताइन्छ ।
अचेल महासंघको कार्यालयलाई पुर्ण रूपमा आर्थिक लेनदेनको अखडा मात्र बनाउन ालीएको बताइन्छ । मलेसियामा बायोमेट्रिक लगाउने मुख्य योजनाकार बंगलादेशी नागरिक महोमद अमिन हुन् । उनकै उक्साहटमा मोटो आर्थिक चलखेल गरी विगतमा आम व्यवसायीको विरोधको बाबजुद बायोमेट्रिक प्रणाली लागू गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply