कांग्रेसमा भाँडभैलो
एउटा उखान छ, ‘हारेको फौज आपसमै लड्छन् ।’ यतिबेला नेपाली राजनीतिक वृत्तमा यो उखान प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि सुहाउँदिलो बन्न पुगेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभामा नराम्रो पराजय बेहोर्नुपरेपछि कांग्रेसका नेताहरूले आफ्नो हारको गूढ रहस्य खोतलेर जनतासामु राख्नुभन्दा पनि एकअर्काप्रति दोषारोपण गरेर आपसमै भिडन्त गरिरहेका छन् । कांग्रेसका नेताहरूबीच दन्तबजानको शृंखला यति लामो रूपमा चलिरहेको छ, उनीहरूबीचको विवाद र आरोप–प्रत्यारोपको शृंखला कुनै पनि शृंखलाबद्ध टेलिफिल्मभन्दा कम प्रतीत हुँदैन । नेतृत्व र असन्तुष्ट समूहबीचको आरोप–प्रत्यारोपको दिक्कलाग्दा शृंखला हेर्न अहिले नेपाली जनता अभिशप्त छन् र कांग्रेसकै कार्यकर्ताहरूसमेत नेतृत्वमा देखिएको खिचातानी र तीव्र विवादका कारण प्रतिक्रियाविहीन अवस्थामा पुगेका छन् ।
पछिल्लो समय, कांग्रेसको केन्द्रीय समितिको बैठक बस्यो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको करिब ६ महिनापछि र एमाले–माओवादी केन्द्रसम्मिलित वाम गठबन्धनको सरकार बनेको करिब तीन महिनापछि कांग्रेसको बैठक बसेको थियो । लामो अन्तरालमा कांग्रेसको बैठक बसेको हुँदा तीनै तहको चुनावमा के–कस्ता कारणहरूले पराजय बेहोर्नुपरेको हो ? त्यसको गहन र वस्तुनिष्ठ समीक्षा र विश्लेषण कांग्रेसले गर्ला भन्ने अपेक्षा सो पार्टीका आमकार्यकर्ताले राखेका थिए । कांग्रेसका कार्यकर्ताहरूले मात्र होइन, अरू राजनीतिक दल र जनपंक्तिमा पनि कांग्रेसले चुनावमा पराजय हुनुका ठोस कारणहरू पहिल्याउला भन्ने अपेक्षा थियो । तर, कांग्रेसको बैठक दन्तबजान र आरोपप्रत्यारोपमै सीमित रह्यो ।
तीनै तहको निर्वाचनमा नराम्रो पराजय बेहोर्नुपरेको जिम्मा नेतृत्वले लिनुपर्ने कुरा कांग्रेसभित्र चर्को रूपले उठ्यो । सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तीनै तहको निर्वाचन भएको हुँदा पराजयको जिम्मेवारी नेतृत्वले नै लिनुपर्छ भन्ने कुरा असन्तुष्ट रहँदै आएको रामचन्द्र पौडेल समूहले जोडदार रूपमा उठाएको थियो । नेतृत्वको कमजोरी र गल्तीकै कारण चुनावमा पराजय बेहोर्नुपरेको तर्क पौडेल समूहको थियो । चुनावी पराजयको सम्पूर्ण दोष संस्थापन पक्षलाई बोकाएर आफूचाहिँ पानीमाथिको ओभानो बन्ने दाउमा पौडेल पक्ष उभिएको देखिन्थ्यो । तर, संस्थापन पक्षले यो कुरालाई पटक्कै स्वीकारेन मात्र पराजयको जिम्मेवार सिंगो केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्न पुग्यो । सायद, चुनावमा पराजय बेहोर्न संस्थापन वा असन्तुष्ट समूहको मात्र हात छैन, सिंगो कांग्रेस नै जिम्मेवार छ भन्ने कुरामा सबै सहमत देखिए ।
हुन पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले नराम्रो पराजय बेहोर्नुमा संस्थापन वा पौडेल समूहको मात्र दोष छैन । सिंगो कांग्रेसकै दोष रहेको स्पष्ट छ । विगतमा पटकपटक सत्ताको तालाचाबी हातमा लिँदा कांग्रेसले जेजस्ता कुशासन, जनविरोधी क्रियाकलापहरू गरे, तीनै तहको निर्वाचनमा कांग्रेसलाई पराजयको स्वाद चखाउन विगतका तिनै कर्तुतहरू मुख्य रूपमा जिम्मेवार छन् । यो सबैले बुझेको विषय हो । स्थानीय, प्रदेश र प्रतिनिधिसभामा कांग्रेसले पराजय बेहोर्नुमा संस्थापन वा पौडेल समूहको भूमिका छैन, सिंगो कांग्रेसले लिएको गलत नीति र क्रियाकलाप नै जिम्मेवार छन् । तसर्थ, सिंगो कांग्रेसले पराजयको जिम्मा लिनु स्वाभाविक देखिन्छ ।
एउटा सत्य के हो भने एमाले र माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल भएपछि जनताले वाम गठबन्धनलाई रुचाउन पुगे । लामो समयदेखि कांग्रेसको कुशासन, विकासविरोधी हर्कत देखिरहेका जनताले वाम गठबन्धनका उम्मेदवारलाई जिताएर देशमा शान्ति, अमनचयन, स्थिरता र समृद्धिको ढोका उघार्ने संकल्प गरे । मधेस कांग्रेसको ‘भोट बैंक’ थियो । तर, मधेसमा पनि कांग्रेसविरोधी माहोल बन्न पुग्यो र मधेसकेन्द्रित दलहरूले कांग्रेसलाई पराजयको नराम्रो स्वाद चखाउन पुगे । यी त कांग्रेसले चुनाव हार्नुका मुख्य कारणहरू थिए नै । भारतले लामो समयसम्म लगाएको नाकाबन्दीको वामपन्थी दलहरूले खुलेर विरोध गरे पनि कांग्रेसले भने मौनता साँध्यो । कुनै पनि छिमेकीले चालेको अन्यायीपूर्ण कदमप्रति मौन समर्थन जनाउने कार्यमा कांग्रेसले रेकर्ड नै तोडेको हुँदा नाकाबन्दीबाट पीडित जनता कांग्रेसको विपक्षमा उभिएका थिए । यस्ता अनेक कारणहरू कांग्रेस पराजित हुनुमा जिम्मेवार रहे ।
वाम गठबन्धन, मधेसकेन्द्रित दलहरूको गठबन्धन र नाकाबन्दीको विरोध गर्न नसकेका कारण कांग्रेसले चुनावमा पराजय बेहोरेको कुरामा जति सत्यता छ, त्यति नै सत्यता कांग्रेसभित्र व्याप्त गुटबन्दी, आफ्ना उम्मेदवारमाथि अन्तर्घातजस्ता पक्षहरू पनि पराजयका कारणहरू रहेकोमा कुनै दुईमत देखिँदैन । कांग्रेसले चुनावमा पराजय बेहोर्नुका अनेक कारण छन् । तर, अबका दिनहरूमा कांग्रेसले आफ्नो कमजोरी, गल्ती र जनविरोधी रवैयालाई सच्याउँछन् कि सच्याउँदैनन् ? निश्चय नै कांग्रेसले यस्ता पक्षहरूलाई सच्याए भने फेरि जनताले पत्यालान् । होइन भने एकअर्काबीच आरोप–प्रत्यारोप गर्दै नै कांग्रेसका दिनहरू बित्नेछन् ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply