अमर्यादित प्रधानमन्त्री
हरेक नागरिक आफ्नो मर्यादामा बस्नुपर्छ । अझ सरकार–प्रमुखले त मर्यादालाई बेवास्ता गर्न मिल्दै मिल्दैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीमा भने मर्यादा, शिष्टता र सद्भाव क्रमशः मर्दै गइरहेको आभास उनका पछिल्ला अभिव्यक्तिहरूले दिइरहेको छ । आफ्नो विरोध र आलोचना गर्नेहरूलाई तुच्छ, अमर्यादित र अशिष्ट वाक्य–विन्यासको सहारा लिएर गालीगलौजको तहमा ओर्लिने छुट त प्रधानमन्त्री ओलीले पाएका थिए नै, अब भने आफूलाई प्रखर राष्ट्रवादी देखाउन अरू नेताहरूलाई विदेशीको इसारामा नाच्ने पात्रका रूपमा चित्रित गर्न उनी समय खर्चिन थालेका छन् ।
नेपाली राजनीतिको एउटा पुरानै रोग हो– आफूलाई मन नपरेका, आफ्नो आलोचना गर्नेहरूजति सबैलाई विदेशी दलालको श्रेणीमा राखेर हेर्नु । परम्परादेखि नै यो गलत प्रवृत्ति मौलाउँदै आएको छ । कसैप्रति रिस उठ्यो वा टिप्पणी गर्नुप¥यो भने विदेशी दलाल भनिदिए भइहाल्यो । न कुनै तथ्य चाहियो, न कुनै प्रमाण । बस, त्यही दुई शब्द उल्लेख गरे पुगिहाल्यो । आफ्ना विरोधी÷आलोचकहरूलाई ‘विदेशी दलाल’ वा ‘विदेशीको इसारामा नाच्ने’ पात्रका रूपमा इंगित गरेर बदनाम तुल्याउने र आफूचाहिँ शुद्ध स्वदेशी भएको साखुल्ले पल्टिने प्रवृत्तिलाई प्रधानमन्त्री ओलीले पनि पछ्याएका छन् ।
प्रधानमन्त्री ओलीले केही दिनपूर्व मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्षित गरेर ‘विदेशीको इसारामा नाचेको’ बताए । गएको पुस ५ गते संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदमको बैशाखी टेकेर हिँडिरहेका प्रधानमन्त्री ओलीले आफूसँग सम्बन्धविच्छेद गरेका प्रचण्ड र नेपाललाई तल्लो स्तरमा ओर्लेर शब्द–बाण प्रहार गर्ने क्रममा नै ‘विदेशी दलाल’ भन्न भ्याएका हुन् । आफ्ना विरोधीहरूप्रति अरिंगालझैं खनिने प्रवृत्तिका प्रधानमन्त्री ओलीले अरूप्रति अमर्यादित टिप्पणी गर्ने शृंखलाकै यो पछिल्लो कडी हो । जुन उनको मर्यादाभित्र कदापि पर्दैन ।
प्रधानमन्त्री ओलीले प्रचण्ड, नेपाल, रामचन्द्र पौडेल वा अरू नेताहरूलाई जति आक्षेप लगाउँदै आएका छन् । त्यसको एक मात्र अन्तर्य हो– आफ्नो गल्तीलाई ढाकछोप गर्ने, आफ्नो गलत कदमलाई उचित ठह¥याउने प्रयत्न । आफ्नो गल्तीलाई चिन्न नसक्ने हरेक मानिसले जहिल्यै अरूकै गल्तीलाई बढाइचढाइँ गर्छन्, अरूलाई नै दोषी देख्छन् । आफू विशुद्ध निर्दोष, सही र सक्षम रहेको भ्रममा पर्छन् । असंवैधानिक कदम चालेपश्चात् प्रधानमन्त्री ओली पनि यस्तै प्रवृत्तिको सिकार बन्न पुगेका छन् । आफ्नो कदमलाई सत्य साबित तुल्याउन उनले अहिले भ्रामक कुराहरूको सहारा मात्र लिएका छैनन्, अरूप्रति अमर्यादित टिप्पणी गर्नसमेत पछि परेका छैनन् ।
अरूलाई विदेशी दलाल देख्ने प्रधानमन्त्री ओलीमा आफू ‘सर्वोत्तम राष्ट्रवादी’ एउटा ठूलो घमण्ड र भ्रम छ । मूलतः नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेपछि ती भूभागलाई नेपाली नक्सामा समेटेयता प्रधानमन्त्री ओलीमा राष्ट्रवादीको भ्रम पलाउन पुगेको हो । नेपाली भूभाग आफ्नो भएको दाबी गर्ने र नक्सामा समेट्ने प्रधानमन्त्री ओलीको कदमलाई तत्कालीन समयमा सबै राजनीतिक शक्तिहरूले साथ दिएका हुन् । त्यसमा उनले प्रयत्न गरे पनि सबैको सहयोग र सहमतिमा नै भारतले दाबी गरेका नेपाली भूभागलाई समेटेर नेपालले नक्सा जारी गरेको हो ।
तर, पछिल्लो समय भने प्रधानमन्त्री ओलीले राष्ट्रवादलाई मागी खाने भाँडो बनाउँदै छन् । आफू प्रखर राष्ट्रवादी भएको ढोंङ रच्दै अरूलाई अराष्ट्रवादीको कित्तामा उभ्याउने गलत प्रयत्न गर्दैछन् । अरू नेताहरूलाई विदेशी दलालको संज्ञा दिनु त्यसकै उपज हो । जहिल्यै मनगढन्ते र बकम्फुसे कुरा गरेर नथाक्ने प्रधानमन्त्री ओलीको कुरालाई हावामा उडाउन पनि सकिएला । तर, प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै बेइज्जत हुने कुरालाई ध्यानमा राख्नु पनि उत्तिकै आवश्यक छ । किनभने, प्रधानमन्त्रीले बोलेका हरेक कुरा दस्ताबेजका रुपमा रहन्छन् र त्यो इतिहास बन्न पुग्छ । तर, भ्रामक कुराको दस्तावेजीकरण हुँदा के होला ? निश्चय नै, त्यसबाट यथार्थलाई मेटमाट पार्ने र गलत कुराहरूले प्रश्रय पाउने आधार बन्छ । यो निन्दनीय विषय हो ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- आन्दोलन निर्विकल्प
- अर्थहीन भारत भ्रमण
Leave a Reply