यसरी छान्दै छन् ओलीले सल्लाहकार र स्वकीय सचिवालय
काठमाडौं । ‘दाइ ! हामी अब के गर्ने, कता जाने ?’ राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी ओलीले शपथ लिएलगत्तै गत ३ फागुनमा बधाई दिन हतारिएर शीतल निवास पुगेका ओलीका पूर्वसल्लाहकार समूहका एक सदस्य यसो भन्दै थिए । थपलिया थरका एक सल्लाहकार समूहका सदस्यको यस्तो जिज्ञासा भुइँमा खस्न नपाउँदै तत्कालीन प्रमुख सल्लाहकार विष्णु रिमालले भीडमा जवाफ फर्काइहाले, ‘मलाई के थाहा कता जाने ? गाडी (प्रधानमन्त्रीको गाडी) जताजता जान्छ, पछिपछि त्यतै कुद्ने ।’
रिमालको रुखो जवाफ सुनेर नियुक्तिको त्यस दिन भीडमा चाउरिएको अनुहार लगाएका थपलियाजस्तै अहिले ओलीका पूर्वसल्लाहकार समूह र स्वकीय सचिवालयका सदस्यहरू नियुक्तिका लागि नियमित प्रधानमन्त्री निवास बालुवाटार र सार्वजनिक कार्यक्रममा धाइरहेका छन् । कतिले त पटकपटक बालुवाटार र सार्वजनिक कार्यक्रमको सेल्फी खिचेर पोस्ट गर्दै चित्त बुझाउने मात्र होइन, फेरि पनि नियुक्ति पाउन लागेको सन्देश दिन खोजेका छन् । तर, प्रधानमन्त्रीमा नियुक्ति भएको दुई साता पुग्न लाग्दा पनि ओलीले प्रमुख सल्लाहकारमा विष्णु रिमालबाहेक कसैलाई पनि नियुक्ति गरेका छैनन् ।
उच्च स्र्रोतका अनुसार ओली यसपटक कामकाजी, योग्यता–क्षमता भएका गतिशील व्यक्तित्वबाहेक कसैलाई पनि दुवै समूहमा नियुक्ति गरेर जागिर मात्र खुवाउने पक्षमा छैनन् । अर्थात्, प्रधानमन्त्री बरू ढिलो नियुक्ति गर्ने तर ‘टिम स्प्रिट’मा चल्ने व्यक्तिहरूलाई मात्र दुवै समूहमा ल्याउने पक्षमा छन् । अघिल्लो कार्यकालमा प्रमुख स्वकीय सचिवमा नियुक्त पार्टी कार्यकर्ता इन्द्र भण्डारी र अर्का स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्रीको नाममा पदीय दुरुपयोग गर्दै लामो हात गर्दा धेरै ठाउँमा बदनाम हुनुपरेको भन्दै प्रधानमन्त्री ओली नियुक्तिमा निकै गम्भीर बनेका हुन् ।
भण्डारी झापा र आचार्य धादिङमा मात्र होइन, युवासंघभित्र पनि बदनाम पात्रका रूपमा गनिएका छन् । जिल्लासँग जोडिएको एउटा ठूलै कारोबारमा आचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गर्न सक्ने बताइन्छ । तर, ओलीले स्वकीय सचिवालयबाट निकालिसकेपछि पनि जन्मोत्सव शुभकामना दिन गएर होस् या कार्यक्रममा गएर आफ्नो निकटता कायमै रहेको आचार्यले सन्देश दिइरहेका छन् । तर, ओलीले फिटिक्कै नरुचाउने भएपछि यी दुवै पात्रले अचेल बालुवाटार कमै धाएको सचिवालयकै एक सदस्यले बताए । त्यसो त आचार्यलाई त बालकोटस्थित निवासमा ओलीले प्रवेशमै प्रतिबन्ध लगाएकोसम्म चर्चा चलेको थियो ।
अहिले ओलीको प्रधानमन्त्रीको सचिवालय लामो समयदेखि परिवारकै सदस्य जसरी साथमा रहेका अति विश्वासपात्र राजेश बज्राचार्य र दुई वर्षअघि मात्र नियुक्त अति रुचाइएका अनिश दाहालले धानिरहेका छन् । ओलीले रुचाइएका कारण पीएचडीको स्कोलरसिप गुमाएर सचिवालयमा रहेका दाहाल प्राध्यापन क्षेत्रमासमेत ‘करिअर’ निर्माण गरिसकेका व्यक्तित्व हुन् । ओलीकै सिफारिसमा उनी पार्टीको केन्द्रीय विज्ञान प्रविधि विभागको सदस्यसमेत भइसकेका छन् । यद्यपि, दुवैलाई ओलीले नियुक्त गरिसकेका छैनन् । लामो समयदेखि सघाउँदै अहिले पनि सचिवालयमै रहेका देवेन्द्र घिमिरेको नियुक्ति टुंगो लागेपछि मात्र बज्राचार्य र दाहाललाई पनि नियुक्त गर्ने योजनामा ओली रहेको बताइन्छ ।
इमानदार रहेका कारण घिमिरेलाई नकार्ने स्थितिमा नरहे पनि ओली सकभर ‘डाइनामिक’, राजनीति र जनसम्पर्क राम्रो बुझ्ने तथा पार्टीमा राम्रै उचाइ भएको व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्ति गर्ने पक्षमा छन् । तर, अझै त्यस्तो व्यक्तिको पहिचान नभइसकेका कारण घिमिरेले नै प्रमुख स्वकीय सचिवमा बाजी मार्न सक्ने बताइन्छ । युवासंघको नाममा विभिन्न ठाउँमा उठ्तीपूर्तिमा संलग्न, लामो हात गर्ने, सेल्फी मात्र खिच्नेहरूलाई भने ओलीले नरुचाएको बताइन्छ । त्यस्ता व्यक्तिहरू नजिक हुन आएको÷नआएको तथा उनीहरूका गतिविधिबारे नियमित रिपोर्टिङ आउने गरी सचिवालयमार्फत नै ओलीले गोप्य रूपमा राष्ट्रिय अनुसन्धान विभागका विश्वासिला कर्मचारीहरूमार्फत सूक्ष्म निगरानी गर्न लगाइएको स्रोतको दाबी छ ।
उता, सल्लाहकार समूहमा मन्त्रीको सेवासुविधा पाउने गरी नियुक्त रिमालले जिम्मेवारी सम्हालेका छन् । उनी डाइनामिक, सूचनामा अपडेटेड, राजनीतिक रूपमा राम्रो समन्वय गर्न सक्ने तथा मिडिया पे्रmन्ड्लीका व्यक्तित्वका रूपमा परिचित छन् । त्यस्तै, नेपाल–भारत प्रबुद्ध समूहका सदस्य रहेका पूर्वसांसद डा. राजन भट्टराईलाई मन्त्री वा राज्यमन्त्रीको सेवासुविधा पाउने गरी परराष्ट्र सल्लाहकार बनाउने ओलीले तयारी गरेका छन् । तर, भट्टराई अहिले ईपीजेको सदस्य रहेकाले राजीनामा नदिएसम्म नियुक्तिका लागि अप्ठ्यारो परेको बताइन्छ ।
प्रेस सल्लाहकारको खोजी भइरहे पनि प्रधानमन्त्री ओलीले अहिलेलाई प्रेस विज्ञका रूपमा काम गर्ने गरी हालका चेतन अधिकारीलाई नै नियुक्त गर्ने पक्षमा छन् । उनी बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र काममा खटिरहेका छन् । यद्यपि, पत्रकार महासंघका पूर्वमहासचिवसमेत रहेका पार्टी पोलिटब्युरो सदस्य रघुजी पन्तसमेत मन्त्रीको सेवासुविधा पाउने गरी प्रेस सल्लाहकार बन्ने व्यापक चर्चा चले पनि पन्तले नै कम रुचि राखेको बताइन्छ ।
प्रधानमन्त्रीको निजी फोटोग्राफरमा भने एक ब्रोडसिट आकारको दैनिक पत्रिकाका फोटो पत्रकार कृष्ण पौडेलले काम सुरु गरिसकेका छन्, तर उनलाई प्रमुख स्वकीय सचिव या प्रमुख सल्लाहकार कोमार्फत नियुक्ति दिने टुंगो लागिसकेको छैन । यसअघि सल्लाहकार समूहमा विज्ञान प्रविधि विज्ञ रहेका अजयक्रान्ति शाक्य भने काठमाडौंबाट प्रदेशसभा सांसदमा निर्वाचित भइसकेका छन् । त्यस्तै, जनसम्पर्क विज्ञ निरुदेवी पाल पनि प्रतिनिधिसभा सांसदमा निर्वाचित भइसकेकाले समूहमा नयाँनयाँ अनुहारको खोजी भइरहेको बताइन्छ । सल्लाहकार समूहमा राम्रा व्यक्ति छनोट गर्न राष्ट्रपति विद्या भण्डारीले समेत प्रधानमन्त्री ओलीलाई सल्लाह दिइरहेको बताइन्छ । केही व्यक्तिले आफू समानुपातिक सांसद छनोटमा पनि नपरेको भन्दै राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीको सल्लाहकार समूह सदस्यका लागि लबिइङसमेत गरिसकेको थाहा हुन आएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply