एकीकरणको हौवा
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालमा एउटा अद्भूत कला छ । कुन बेला कस्तो खिचडी पकाउने भन्ने कलामा पारंगत रहेकै कारण उनी नेपाली राजनीतिमा जमिरहेका छन् । संविधानसभाको दोस्रो निर्वाचनपछि खुम्चिँदो स्थितिमा पुगेको पार्टीलाई पुन: ऊर्जाशील बनाउने सबै प्रयत्नहरू समाप्त भएपछि अहिले दाहाल दुई वर्षअघि छुट्टिएर गएको मोहन वैद्यको माओवादीसित एकीकरण गर्ने सुरसारमा जुटेका छन् । तर, उनले पकाउन लागेको नितान्त यो नयाँ खिचडी भने वीरबलको खिचडीभन्दा कुनै पनि हिसाबले फरक नहुने पक्कापक्कीजस्तै भइसकेको छ ।
नेपालमा राजनीतिक दलहरू विभाजित हुनु अब अनौठो मान्न छाडिएको छ । सैद्धान्तिक मतभिन्नताको जाल बिछ्याएर राजनीतिक दलहरूबीच फुट हुने गरे पनि अन्तर्यमा भने व्यक्तिगत स्वार्थ, टकराव र खिचातानी नै प्रमुख कारण बन्दै आइरहेको छ । दुई वर्षअघि वैद्यले ठूलै संख्यामा एमाओवादीका गतिला नेताहरू लिएर बेग्लै पार्टी गठन गरेका थिए । त्यतिबेला, एमाओवादी आफ्नो सैद्धान्तिक धरातलबाट च्यूत भएको, निम्नपुँजीवादी चिन्तन र प्रवृत्तिले ग्रसित रहेको र एउटा सर्वहारावर्गको पार्टीमा हुनुपर्ने सम्पूर्ण गुणबाट अलग्गिएको उद्घोष गर्दै संसारकै महान् ‘क्रान्तिकारी’ पार्टी बनाउने हेतुस्वरूप वैद्यले बेग्लै चुलाचौका बनाउन पुगेका थिए । तर, वैद्यको चुलाचौकामा उनीहरूले अपेक्षा र उद्घोष गरेअनुरूपका पक्वानहरू नपाकेको कुरा समयक्रममा प्रस्ट भइसकेको छ । तथापि, उग्र क्रान्तिकारिताको नारा दिएर वैद्यहरू अलग्गिए पनि नेताहरूबीचको स्वार्थको टकरावस्वरूप नै एमाओवादीमा विभाजन आएको थियो भन्ने कुरा अहिले प्रमाणित भइसकेको छ ।
अलग्गिएपछि मोहन वैद्यहरूले नेपाली राजनीतिमा कुनै चमत्कार त गर्न सकेनन् नै, पार्टी विभाजन गर्नुको औचित्य पनि अहिलेसम्म पुष्टि गर्न सकेका छैनन् । हरेक राजनीतिक सन्दर्भ र मुद्दाहरू उठ्दा आफूलाई फरक देखाउनका लागि बखेडा झिक्नेबाहेक कुनै मौलिक र सिर्जनात्मक कार्य वैद्य समूहबाट हुन सकेन । संविधानसभाको निर्वाचनबाट भागेर जनताको मतलाई अनादर गर्ने कार्यमा मात्रै अग्रसरता लिए । र, अहिलेको बिन्दुसम्म आइपुग्दा उनीहरूको क्रान्तिकारिता विष्णुमतिको फोहोर ढलसँगसँगै बगिसकेको स्वत: स्पष्ट हुन्छ ।
त्यसो त, विगतमा पार्टी फुट्नुअघि त्यस्तो अप्रिय स्थिति उत्पन्न नहोस् भनेर प्रचण्डले खासै तदारुकता देखाएनन् । बरु पार्टी फुटका लागि आवश्यक मलजल गर्ने काम गरे । वैद्यहरूसित किचलो बढाइरहनुभन्दा फुटेर गएकै बेस भन्ने मानसिकता प्रचण्डलगायतका नेताहरूमा देखिएको थियो । सशस्त्र युद्धभन्दा पहिलेदेखि नै वैद्यहरूको खुट्टी छामिसकेका प्रचण्डले उनीहरूको क्रान्तिकारिता हेर्न पनि विभाजन हुनुमा नै उचित ठाने सायद ।
हिजो के कति कारणले एमाओवादी विभाजित भएको थियो र आज किन एकीकरणको कुरा उठिरहेको छ ? यसको कुनै चित्तबुझ्दो जवाफ पार्टी विभाजनमा सक्रिय भूमिका खेल्ने नेताहरूले अहिलेसम्म दिन सकेका छैनन् । हिजो जुन–जुन आरोप र लाञ्छनाहरूको बिस्कुन छर्दै वैद्यहरू बाहिरिएका थिए, के अहिलेसम्म आइपुग्दा आफंैले हिजोका दिनमा छ्यापेको हिलो एमाओवादीको पोसाकबाट हटिसक्यो ? वैद्य समूहले पनि स्पष्ट जवाफ दिन सकिरहेको स्थिति छैन । तर, दुवै पार्टीका मुख्य नेताहरू भने पार्टी एकीकरणको राग अलाप्न अचेल निकै तल्लीन देखिन्छन् र सबभन्दा प्रखर रूपमा त प्रचण्डले नै एकीकरणको राग अलापिरहेका छन् ।
वैद्यहरूसित एकीकरणको प्रसंग उप्काइरहँदा प्रचण्डले आफ्नै पार्टीतिर भने फर्केर हेर्न भुलेको जस्तो देखिन्छ । अरु पार्टीहरुसित एकीकरणको कुरा उठाइरहँदा र माओ विचारधारा अँगाल्ने पार्टी र समूहसित कार्यगत एकता गर्ने सोचलाई मूर्त रूप दिने कार्यमा अग्रसरता लिइरहँदा आफ्नै पार्टीभित्र उत्पन्न किचलोलाई व्यवस्थापन गर्ने दिशामा प्रचण्डले खासै पहल नगरेको देखिन्छ । केही समयअघि एमाओवादीको विराटनगरमा सम्पन्न भेलामा डा.बाबुराम भट्टराई समूहलाई भित्तैमा पुर्याउने काम गरिएको थियो । केन्द्रीय समितिमा आफ्ना पक्षको बाहुल्यता कायम गरी भट्टराई र नारायणकाजी श्रेष्ठका केही मानिसहरूलाई मात्र स्थान दिइएको थियो । अहिलेसम्म पनि भट्टराई समूहका मानिसहरू भड्किएको अवस्थामा छन् र प्रचण्डको रबैयाबाट कसरी अलग हुने भन्ने सोचमा नै रहेका छन् ।
आफ्नै पार्टीभित्र उत्पन्न विवाद व्यवस्थापन गर्न नसक्ने प्रचण्डले वैद्यहरूसित एकीकरण गरेर जालान् भन्ने कुरामा विश्वास गर्न सकिने कुनै आधार देखिँदैन । आफ्नै घर–झगडामा फसेको व्यक्ति कसरी बाहिरका व्यक्तिहरूसित मिलेर जान सक्छन् ? फेरि, आफ्ना प्रतिद्वन्द्वीहरूलाई पेलेर, निमिट्यान्नै पारेर, भित्तैमा पुर्याएर जाने जुन प्रवृत्ति प्रचण्डमा हावी देखिन्छ, त्यसलाई एकीकरणमा चासो राख्ने अरू पार्टी र समूहले पनि पक्कै पनि नबुझेका छैनन । बुझेर बुझ पचाएको भए बेग्लै कुरा हो । अझ, नेकपा–माओवादीका व्यक्तिहरू त प्रचण्डको प्रवृत्तिबाट अनभिज्ञ होलान् भन्ने सवालै उठ्दैन ।
अहिले दुई माओवादीबीच एकीकरणको हल्ला जुन रूपमा उठिरहेको छ, यो बेमौसमको बाजा बजाउने कार्यभन्दा कुनै पनि अर्थमा फरक देखिँदैन । तथापि, स्वार्थ मिल्यो भने एकीकरण असम्भव त छैन । तर, फुटको एक–एक कारण नजिल्याइकन गरिएको एकीकरणको कुनै औचित्य पनि रहँदैन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply