आक्षेपभन्दा माथि उठ्ने अपेक्षा
यतिबेला नेपाली जनता खेतीपातीको चटारोमा जुटे पनि राजनीतिमा चासो राख्नेहरूको ध्यान भने नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनतिर केन्द्रित छ । र, एमाले महाधिवेशनको माहोल र तरंगबीच अहिले सिंगो देश नै रुमल्लिएको छ । देशभित्र मात्र होइन, बाह्य मुलुकमा बसोवास गरिरहेका नेपालीहरू र नेपालको राजनीतिमा दृष्टि पोखिरहेका विदेशी शक्तिहरूले पनि एमालेको आसन्न महाधिवेशनलाई चासोपूर्वक नियालिरहेका छन् । अर्थात्, अहिले एमाले राष्ट्रिय/अन्तर्राष्ट्रिय चासोको शीर्षबिन्दुमा उभिएको छ । हरेक पटक देशको राजनीतिमा निर्णायक भूमिका खेल्ने राजनीतिक शक्तिको रूपमा स्थापित एमालेको आसन्न महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ला, के–कस्तो नीति र कार्यदिशा तय गर्ला, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका रूपान्तरणको दिशामा के कस्तो भूमिका निर्वाह गर्ला भन्ने प्रश्नमा सबैको चासो र चिन्तन पोखिनु स्वाभाविकै मान्नु पर्दछ ।
यतिबेला एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले गर्व गर्नुपर्ने एउटा महत्त्वपूर्ण विषय के हो भने, आफूलाई लोकतान्त्रिक विधि र प्रक्रियामा ढाल्ने क्रममा नेपालका अरू राजनीतिक शक्तिहरूभन्दा एमालेले अब्बलपन कायम गरेको छ । राजनीतिक एवम् सामाजिक रूपान्तरणको कुरा प्रखर रूपमा उठाउने गरे तापनि आफू स्वयम्लाई रूपान्तरण गर्ने दिशामा भने नेपालका प्राय: सबै राजनीतिक शक्तिहरू चुक्दै आएका छन् । लोकतान्त्रिक पार्टीको बिल्ला भिरेको नेपाली कांग्रेसको निर्धारित समयमा महाधिवेशन हुने कुरालाई अझै पनि आश्चर्यकै तहमा राखेर हेर्नुपर्ने हुन्छ । झन् कांग्रेसका भ्रातृ संगठनहरूको त दसौं पटकसम्म पनि अधिवेशनहरू सर्ने क्रमले त्यो पार्टी कतिसम्म लोकतान्त्रिक विधिअनुरूप सञ्चालित छ भन्ने कुरा छर्लंगै देखिन्छ । एमाओवादीको त महाधिवेशन सम्पन्न नभएको एक जुगभन्दा पनि बढी नै भइसक्यो । अब त एमाओवादीमा लोकतन्त्रको लैस मात्र पाउन पनि मुस्किल छ । अरू साना–तिना राजनीतिक दलहरूको निर्धारित समयावधिभित्र महाधिवेशन नहुनु सामान्य कुरा भइसक्यो । तर, एमालेले भने समयावधिभित्रै महाधिवेशन गर्ने र नेतृत्व चयनदेखि अरू प्रक्रियाहरूमा प्रजातान्त्रिक विधि अवलम्बन गर्ने परिपाटीमा कुनै कमी आउन दिएको छैन । तसर्थ, नेपालका अरू राजनीतिक दलहरूले एमालेबाट यो कुरा सिक्न आवश्यक छ । र, एमालेमा आबद्ध सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूका निम्ति यो गर्व गर्नलायक विषय बन्नपुगेको छ ।
एउटा कम्युनिस्ट पार्टी भए पनि लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन गर्न नचुक्ने एमालेभित्र अहिले नेतृत्वको विषयलाई लिएर तीव्र होडबाजी चलिरहेको छ । एउटा जीवन्त, गतिशील र ऊर्जावान् पार्टीका लागि यसलाई एउटा अनिवार्य पक्ष मान्न सकिन्छ । किनकि, एमालेले अवलम्बन गर्दै आइरहेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले प्रतिस्पर्धाका आधारबाट स्थापित हुने कुरालाई जोड दिन कन्जुस्याइँ गरेको छैन । तर, प्रतिस्पर्धाका नाममा अस्वस्थ प्रतिस्पर्धा चाहिँ जोकोहीका लागि पनि क्षम्य हुने विषय होइन । अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई सही दिशामा अघि बढाउन निश्चित रूपमा मद्दत पुर्याउँदैन । र, एउटा ऊर्जाशील पार्टीका ऊर्जावान् नेता र कार्यकर्ताहरूका निम्ति अस्वस्थ प्रतिस्पर्धामा उत्रिने कुरा सुहाउँदिलो पक्ष किमार्थ बन्न सक्दैन ।
महाधिवेशनको मुखैमा एक–अर्काबीच आक्षेपहरूको बौछार चलिरहेको पनि छ । तर, आक्षेपहरूभन्दा निकै माथि उठेर शिष्टताको पहिचान दिन सक्नु कम्युनिस्ट पार्टीका नेता एवम् कार्यकर्ताको महान् खुबी हुनसक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । किनकि, नेताहरू स्वयम् अशिष्ट तवरले मैदानमा उत्रिँदा त्यसले राम्रो सन्देश प्रवाह गर्दैन । न त समाजलाई, न त पार्टी पंक्तिलाई नै । आफूभित्रको कुण्ठा, तुष र विषहरू पखाल्न एकले अर्काको छाला खुइल्याउन त सक्लान्, तर त्यसले कुनै पनि हिसाबमा सभ्यता, शिष्टता र विनम्रताको परिचय दिन सक्दैन । तसर्थ, अहिले नेता एवम् कार्यकर्ताहरूले आक्षेपको हिलो छ्यापेर आत्मतुष्टि लिनुभन्दा पनि स्वस्थ तरिकाले बहसमा उत्रिनु बुद्धिमत्तापूर्ण निर्णय हुनेछ । स्वच्छ बहस, छलफल र प्रतिस्पर्धा नै एमालेले अहिलेसम्ममा कमाएको ठूलो सम्पत्ति हो र त्यसलाई सदैव कायम राख्न सक्नु नै एमालेको साखसित जोडिएको प्रश्न हो ।
नेतृत्वको प्रश्न त झनै महत्त्वपूर्ण हुन्छ । कुनै पनि राजनीतिक शक्तिलाई गतिशीलता प्रदान गर्नका लागि गतिशील नेतृत्वकै जरुरत पर्दछ । गतिशील नेतृत्वबिना वर्तमान समयका यावत् संकट, जटिलता र विषयवस्तुहरूलाई सम्बोधन गर्ने सम्भावना पटक्कै रहँदैन । जड र चलायहीन नेतृत्वले पार्टी–जीवनलाई अवरुद्ध तुल्याउनेबाहेक अरू कार्यमा सायदै भूमिका खेल्न सक्ला । अझ, वर्तमान समयमा देशभित्र र बाहिरका साना–ठूला अन्तरविरोधहरू बुझेर त्यसलाई सही ढंगले परिचालन गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो । तसर्थ, भोलिदेखि काठमाडौंमा प्रारम्भ हुने एमाले महाधिवेशनमा सक्रिय सहभागिता जनाउन राजधानी भित्रिएका एमालेका दुई हजारभन्दा बढी प्रतिनिधिहरू आफ्नो स्वविवेक प्रयोग गर्न सक्षम छन् भन्नेमा कुनै द्विविधा देखिँदैन । र, एमालेलाई देशकै एक सशक्त, प्रभावशाली र सक्षम पार्टीका रूपमा स्थापित तुल्याउन एमाले प्रतिनिधिहरूले आगामी पाँच वर्षका लागि सक्रिय नेतृत्व चयन गर्नेछ भन्नेमा पनि सबैले अपेक्षा राखेका छन् ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply