माधव नेपालको अपरिहार्यता
इतिहासको अवमूल्यन केवल कृतघ्नहरूको रुचि, आचरण र कार्यशैलीको विषय मात्र हुनसक्छ । तर, कृतज्ञहरूले त सदैव इतिहासको कुन कालखण्डमा कुन व्यक्तिले देश, जनता र आफूसम्बद्ध राजनीतिक शक्तिको हितार्थ के–कस्ता कार्य गरे भन्नेमा निश्चित रूपमा मूल्यांकन गर्दछन् । यतिबेला नेकपा (एमाले)को नवौं महाधिवेशन राजधानीमा चालू छ । देशभित्र र बाहिरबाट समेत आएका प्रतिनिधिहरूले कस्तो नेतृत्व चयन गर्दा एमालेलाई नयाँ गति, दिशा र गन्तव्यमा पुग्ने स्पष्ट आधार प्रदान गर्दछ भन्ने विषयमा अहिले विचार, विमर्श, मन्थन र अन्तक्र्रिया चलिरहेको छ । अहिले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्व आम प्रतिनिधिहरूले चाहिरहेका छन् । तर, एउटा पक्ष भने इतिहासका विभिन्न कालखण्डमा उहाँले निभाउनुभएको गहन भूमिकालाई अवमूल्यन गर्दै आफ्नो स्वार्थ निप्ट्याउन तल्लीन देखिएको छ । लामो अवधिसम्म पार्टीको नेतृत्व गरेर नेता नेपालले के नै उल्लेख्य काम गरे र ? भन्नेजस्ता प्रश्नको पेटारो जन्माउन खोजिएको छ । प्रश्नका लागि प्रश्न गर्ने छुट सबैलाई छ । तर, प्रश्न उब्जाउनुअघि यथार्थ पक्षलाई नामेट पार्ने दुस्साहस गर्नु झनै कृतघ्न कार्य हो । विगतमा एमालेको जीवनमा आइपरेका संकटपूर्ण स्थितिलाई कम गर्दै वर्तमान बिन्दुसम्म ल्याइपुर्याउन उहाँले पुर्याउनुभएको अहम् योगदानलाई काँटछाँट गर्ने कार्यमा जो–जो लागिपरेका छन्, उनीहरूले के कुरा बुझ्न आवश्यक छ भने, नेपाली जनता त्यति मूर्ख र कृतघ्न छैनन्, जसले विगतका समयावधिमा कुन राजनेताले कस्तो भूमिका खेले भन्ने कुरालाई विस्मृतिको गर्ततिर डोर्याउन चाहँदैनन् ।
०५० सालको दासढुंगा हत्याकाण्डले वैचारिक नेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको भौतिक देहलाई नारायणी नदीमा विसर्जित तुल्याएपछि एमालेलाई अझ कुशलतापूर्वक डोर्याउने नेतृत्वको टड्कारो आवश्यकताबोध हुनु स्वाभाविकै थियो । त्यतिबेला सर्वत्र एउटा के आशंका पनि जन्मिएको थियो भने, अब एमालेले संकटका दिनहरू गुजार्नुपर्नेछ । तर, त्यस्तो आशंकाको तत्काल नै अन्त्य भयो, जब नेता नेपालले पार्टीको लगाम आफ्नो हातमा लिनुभयो र शोकमा डुबेर स्तब्ध भएको पार्टीलाई नयाँ ऊर्जा, गति र दिशा निर्देश गर्ने कार्यमा उहाँले दृढतापूर्वक पाइला चाल्नुभयो । शोकलाई शक्तिमा रूपान्तरण गर्ने खुबी भएकै कारण नेता नेपालले दासढुंगा हत्याकाण्डको डेढ वर्षपछि नै एमालेलाई देशको पहिलो शक्तिको रूपमा स्थापित तुल्याउन सक्षम हुनुभयो । संसारभरि नै कम्युनिस्ट पार्टीको सत्ता धराशायी भइरहेका बेला नेपालमा भने एमाले ठूलो शक्तिको रूपमा स्थापित भई मुलुककै पहिलो पटक कम्युनिस्ट पार्टीको सरकार बनाउने शक्तिको रूपमा दर्ज भयो । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भए पनि एमालेलाई एउटा लोकप्रिय, जनमुखी र प्रभावकारी सरकारको रूपमा स्थापित तुल्याउन र जनताका आधारभूत समस्याहरूलाई सम्बोधन गराउने कार्यमा नेता नेपालकै भूमिका रहेको कुरामा द्विविधा छैन ।
दुर्भाग्यको कुरा, केही नेताहरूको अति महत्वाकांक्षाको फलस्वरूप ०५४ सालमा एमालेले विभाजनको नराम्रो धक्का बेहोर्नुपर्यो । देशी–विदेशी तत्त्वहरूको लहलहैमा लागेर केही नेताहरूले पद, पैसाको लोभलालचमा फसी पार्टी विभाजन गरेको कुरा समयक्रममा उजागर भइसकेको छ । तर, एमाले विभाजित भएको डेढ वर्षपछि नै टुक्रिएर गएको समूहको पत्तासाफ हुनपुग्यो भने एमालेले पुन: आफूलाई देशको एउटा सशक्त शक्तिको रूपमा उभ्याउन सफल भयो । तत्कालीन महासचिव नेपालको क्रियाशीलता, क्षमता र अनुभवका कारण नै एमालेले आफूलाई राष्ट्रिय राजनीतिमा पुनस्थार्पित तुल्याउन धेरै समय नलागेको कुरा दिउँसोका घामजत्तिकै छर्लंग छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकांक्षाको अत्यधिक सिकार हुनेमा नेता नेपाल नै पर्नुहुन्छ । देशलाई निरंकुशतन्त्रको दिशातिर डोर्याउन थालिएपछि प्रारम्भमै त्यसको प्रतिरोध गर्दै आम जनतालाई आन्दोलनमा डोर्याउन उत्प्रेरित गर्ने र त्यसको अगुवाइसमेत गर्ने कार्यमा नेता नेपालले अहोरात्र श्रम गर्नुभयो । जनताले निरंकुशतन्त्र होइन, लोकतन्त्र चाहेका छन् भन्ने कुराको अनुभूतबोध गराउन अग्रिम मोर्चामा रहेर क्रियाशील हुनुभएका नेपालले सबैभन्दा बढी प्रताडना झेल्नुपर्यो । एमालेकै केही नेताहरूलाई निरंकुशतन्त्रका पहरेदारहरूले भारी छुट दिने र केही नेतालाई चाहिँ दपेटिमात्रै रहने कुराले पनि के बुझाउँछ भने, को निरंकुशतन्त्रका विरुद्धमा थिए र को चाहिँ भित्र–भित्रै त्यसैलाई समर्थन जनाइरहेका थिए । यद्यपि, ०६२/६३ को जनआन्दोलनले देशमा नयाँ राजनीतिक उभार स्थापित तुल्यायो र गणतन्त्रको दिशातिर बढ्ने आधारबिन्दु तय गर्यो । के यी कुराहरू अब पुराना भइसके ? बन्दुकबाट मात्रै सत्ता प्राप्ति हुने सपना बोकेर दस वर्षसम्म जंगलमा भौंतारिइरहेको माओवादीलाई बन्दुक बिसाउन लगाउनुमा पनि नेता नेपालको विशेष हात रहेको छ । निरंकुशतन्त्रका ठेकेदारहरूको प्रताडना झेल्नु परे पनि नेता नेपाल माओवादीका उच्च नेताहरूको सम्पर्क रही उनीहरूलाई शान्ति प्रक्रियामा आउनका लागि पहल गरिरहनुभयो । अन्तत: आफ्नो कार्यमा उहाँ सफल हुनुभयो र युद्धमा होमिएको देशले शान्ति प्रक्रियाको गोरेटोमा पाइला चाल्ने सुऔसर प्राप्त गर्यो । जनताले पनि देशमा शान्ति स्थापना भएको हेर्न पाए । पन्ध्र वर्षसम्म नेतृत्व गर्दा परीक्षण भइसकेको भनेर नेता नेपाललाई परीक्षित गरिएको बताउनेहरूले के कुरा हेक्का राख्नुपथ्र्यो भने, पन्ध्र वर्षमा उहाँले एमालेलाई नयाँ उचाइँ र बिन्दुमा पुर्याउन के–कति काम गर्नुभयो ? संकटको घडीबाट एमालेलाई पार लगाउन उहाँले के–कति योगदान दिनुभयो ? अहिले चालू महाधिवेशनमा यी कुराहरूको मूल्यांकन हुनुपर्छ ।
तसर्थ, एमालेको विगतदेखि अहिलेसम्मको अनुभवले के देखाउँछ भने, कुशल र सक्षम नेतृत्वले मात्रै अन्तत: पार्टीलाई गति दिनसक्छ, देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन मद्दत पुर्याउँछ र राष्ट्रिय राजनीतिको केन्द्रभागमा उभिन सघाउ पुर्याउँछ । एमालेको महाधिवेशनमा सामेल भएका जुझारु, सक्रिय र गतिवान् प्रतिनिधिहरूले आफ्नो विवेक र बुद्धिलाई सही नेतृत्व चयन गर्न लगाउनेछ भन्नेमा कुनै आशंका छैन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply