बलात्कार : निकृष्टताको पराकाष्ठा
मानिस र पशुमा धेरै कुरामा समानता छ । तर, मानिसमा हुने विवेक अरु प्राणीमा नपाइने भएका कारण नै यो प्राणी अरुभन्दा भिन्न छ । हालैका दिनमा नेपालमा देखिएका केही घटनाहरू हेर्दा मानिस र पशुमध्ये कसको विवेक बढी संवेदनशील हुन्छ भन्ने देखिएको छ । बाराकी छ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको छ । यस घटनाले सिंगो नेपाली समाजको अनुहारमा कालो पोतेको छ, कथित पुरुषत्वमाथि ठूलो व्यंग्य गरेको छ । यसै पनि बलात्कार सामाजिक अपराध हो, अमानवीयता र अनैतिकताको पराकाष्ठा हो । त्यसमा पनि वयस्क पुरुषले छ वर्षीया अबोध बालिकामाथि त्यस्तो हर्कत गर्नु जति निन्दा गरे पनि कम हुने निकृष्ट घटना हो । तर, दु:खका साथ भन्नुपर्छ, त्यस्तो नियति भोग्न हामी अभिशप्त छौं । मुलुकमा सरकार छ, प्रधानमन्त्री छन्, मन्त्री छन्, प्रहरी छन्, प्रशासन छ । तर, नागरिकको सुरक्षा छैन । कसैले केही नगरी दिएका कारण मात्रै मानिस सुरक्षित रहन पाएका छन् । यतिबेलाका दृश्य हेर्दा लाग्छ, मानौं महिला भएर जन्मिनु नै एउटा ठूलो अपराध हो । हुर्कंदै गरेका छोरीहरूलाई आफ्नै पितासमानका पुरुषहरूबाट सुरक्षा छैन । अझ कतिपय ठाउँमा त आफ्नै पिता वा आफन्त पनि राक्षसका रूपमा प्रस्तुत भएका उदाहरणहरू पनि नभएका होइनन् । सामाजिक रूपमा बढिरहेको विकृत मानिसकताले गम्भीर प्रश्न उब्जाएको छ : हाम्रो समाज कता जाँदैछ ? हामीले समाजलाई खुल्लापनका नाममा जे गर्न छुट दिइरहेका छौं वा पाइरहेका छौं, यसले कस्तो मनोविज्ञान निर्माण गर्दैछ ?
केही समयअघि ट्युसन पढ्न जाँदै गरेकी दुई युवतीमाथि काठमाडौंमै एसिड प्रहार भयो । ती किशोरीको सुन्दर अनुहार हेर्दाहेर्दै जलेर कुरूप भयो र अहिले तिनीहरू अस्पतालको शैय्यामा असीम पीडा बोकेर उपचाररत छन् । त्यसको केही दिनपछि गृहमन्त्रीले सार्वजनिक रुपमा भन्नुभएको थियो– हामी अपराधीको एकदम नजिक पुगिसक्यौं, अब चाँडै पक्राउ गर्छौं । यसो भनेको पनि दुई साता बितिकेको छ । तर, अपराधीहरू अझै पक्राउ परेका छैनन् । गृहमन्त्रीले नजिक पुगिसकेका छौं भनेको के रहेछ ? जनताले जान्न पाएका छैनन् । यसबीचमा प्रहरीले पत्रकार सम्मेलन गरेर घटनामा भइरहेको अनुसन्धानका बारेमा जानकारी दिएको छ । त्यो जानकारी सुन्दा झन् आश्चय लाग्छ : केही पनि प्रगति नभएको कामको के जानकारी दिएको होला ? महिलाहरू कुनै एउटा होइन, अनेक पीडाबाट आक्रान्त छन् । एकातिर महिलाका क्षेत्रमा काम गर्ने थुप्रै संघ–संस्थाहरू पनि छन्, जसले वास्तवमा सामाजिक चेतना बढाउनमा ठूलो मद्दत पनि गरेका छन् । साथै, यस्ता घटना हेर्दा लाग्छ, धेरै काम गर्न बाँकी नै रहेछ । मानिस जब यति क्रूर, हिंश्रक र अमानवीय हुँदै जान्छ, तब समाज कति विकृत भइहरेको छ भन्ने प्रस्ट हुन्छ । आज हाम्रा गाउँवस्तीहरूमा जस्तो सामाजिक मनोविज्ञान बन्दैछ, त्यसको खतरनाक सूचकका रूपमा बालिकामाथि भएका बलात्कारका ज्यादतीहरूलाई लिन सकिन्छ ।
अपराधीहरूले अबोध बालिकासमेतलाई नछोड्ने र त्यही पीडा बारम्बार दोहोरिने भएपछि अहिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्छ भन्ने आवाज उठिरहेको छ । समाजमा यस्ता अपराधका विरुद्धमा बढिरहेको चेतनाको परिणाम पनि हो यो । साह्रै ज्यादती भयो भने के हुन्छ भन्ने एउटा उदाहरण हालै भारतमा देखिएको छ । जेलमा राखिएको बलात्कारीलाई गाउँलेले बाहिर निकालेर नांगो पार्दै कुटेर मारेका छन् । भलै त्यो कानुनी रूपमा हेर्दा गलत काम हो तर त्यसले जनस्तरमा कुन प्रकारको आक्रोश र घृणा छ भन्ने चाहिँ देखाउँछ । बलात्कारीमाथि कारबाहीका लागि नेपालमा पर्याप्त कानुन नभएको होइन । अहिले पनि कार्यान्वयन गर्ने हो भने कानुनहरू छन् । महिलाहरूले आवश्यक सतर्कता अपनाउँदा बलात्कारीमाथि तत्कालै पनि क्षति पुर्याउन सकिन्छ । जस्तो– आफ्नो अस्मिता रक्षाका लागि कुनै महिलाले बलात्कारको हर्कत गर्नेलाई घटनास्थलमै मारिदिएमा कुनै कानुन लाग्दैन । प्रतिकारका अरू तरिकाहरू पनि बलिया बनाउनुपर्छ । तर, कानुनका अनेक सिङ केलाएर जब मुद्दा अदालत पुग्छ, त्यस्तो बेलामा प्रमाण नपुगेको भन्दै पीडितले न्याय नपाएका उदाहरणहरू पनि छन् । पूजा बोहरा काण्ड त्यसैको एउटा ज्वलन्त उदाहरण छ । कानुनमा रहेका यी छिद्रहरूलाई पनि नचुहिने गरी टाल्नुपर्छ र अपराधीहरूलाई कानुनको कठघरामा ल्याउने मात्र होइन, ल्याएपछि सितिमिती उम्किन नपाउने व्यवस्था गर्नुपर्छ । यसबाट अपराधकर्मतिर प्रवृत्त हुन चाहनेहरूको मनोबल स्वत: घट्छ र सामाजिक सदाचार कायम गर्नमा मद्दत पुर्याउँछ । शिक्षाको अभाव, गरिबीको मार जस्ता कुराले पनि समाजलाई अझ बढी निर्दयी बन्न बल पुर्याइरहेको छ । त्यस्तो बेलामा के ठीक र के बेठीक भन्ने सामान्य ज्ञानको पनि अभाव भएकै कारण मानिसहरू विवेक प्रयोग गर्न सक्दैनन् । यसर्थ, सामाजिक जनचेतना अभिवृद्धि, कडा कानुनी अधिकारहरूको सुनिश्चितता र कुनै पनि हालतमा अपराधीहरू उक्नि सक्दैनन् भन्ने प्रत्याभूति दिन आवश्यक छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply