राष्ट्रपति भण्डारीलाई हार्दिक बधाई
संघीय गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । नेपालले गणतन्त्रको दिशातिर पाइला चालेको आठ वर्षपछि नयाँ संविधान जारी भएलगत्तै देशको सर्वोच्च पदमा पहिलो पटक महिला पुग्नुलाई यतिबेला सर्वत्र उल्लास छाएको छ । सर्वोच्च पदमा आधा आकाशसहित सिंगो देशकै प्रतिनिधित्व गरेर एमालेका पूर्वउपाध्यक्ष भण्डारी पुग्नुलाई सिंगो नारी जगत्ले खुसी व्यक्त गर्ने स्थिति त रह्यो नै, एमालेलगायत अरु राजनीतिक दलहरूको प्रयत्नमा पहिलो पटक सर्वोच्च पदमा आधा आकाशको आवाज बुलन्द गर्ने महिला हस्तीलाई पुर्याउँदा ती राजनीतिक शक्तिहरू यतिबेला राष्ट्रिय/अन्तर्राष्ट्रिय दुवै रूपमा प्रसंसितसमेत भएका छन् ।
राष्ट्रिय राजनीतिमा अहम् भूमिका निर्वाह गरिरहेको एमालेले उपाध्यक्ष भण्डारीलाई देशको सर्वोच्च पदका लागि विश्वास गर्नु एमाले पंक्तिले गरेको सुझबुझपूर्ण निर्णयको उपज मान्न सकिन्छ । राष्ट्रपतिका निम्ति एमालेमा अरु उपयुक्त पात्रहरू भए पनि तीसको दशकदेखि नै नेपालको वामपन्थी राजनीतिमा सक्रियतापूर्वक लागिपर्नुभएका भण्डारीलाई चयन गर्नु एमालेको विवेकपूर्ण निर्णय हो । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका भण्डारीले पञ्चायती दमनको उत्कर्षकालमा समेत पूर्वी नेपालका विभिन्न भूभागमा रहेर जनपंक्तिमा चेतनाको बिजारोपण गर्न उल्लेख्य भूमिका खेल्नुभयो । ०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर देशमा बहुदलीय राजनीतिक प्रणाली सुरु भएपछि पनि उहाँको राजनीतिक सक्रियतामा कमी आएन । तर, ०५० सालमा दासढुंगा हत्याकाण्डमा जननेता मदन भण्डारीको हत्या भएपछि झनै सक्रिय राजनीतिमा होमिनुभएका भण्डारीले त्यसयता विभिन्न संसदीय निर्वाचनहरूमा विजयी भई राज्यका महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरिसक्नुभएको छ । वामपन्थी र प्रजातान्त्रिक आन्दोलनहरूमा अग्रपंक्तिमा रहेर कुशलतापूर्ण भूमिका निर्वाह गर्नुभएका भण्डारीले गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति निर्वाचित हुनुले उक्त सर्वोच्च पदको गरिमालाई अझ उँचो तुल्याएको अहिले सर्वत्र महसुस गरिएको छ । देशको सर्वोच्च पदमा पहिलो पटक मधेसी मुलका नागरिक र दोस्रो पटक महिला वर्गको प्रतिनिधित्व गर्दै भण्डारी पुग्नु हुँदा गणतन्त्र स्थापनापछि राज्य समावेशी दिशा र चरित्रतर्फ उन्मुख भएको स्वत: पुष्टि भएको छ ।
नयाँ संविधान जारी गर्ने क्रममा अभूतपूर्व रुपले एउटै विन्दुमा उभिएका देशका ठूला/साना सबै राजनीतिक शक्तिहरूबीच पूर्व सहमति संविधान जारी भएपछि कार्यान्वयन हुन सकेन । खासगरी, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता प्रमुख पद तीन ठूला राजनीतिक दलबीच बाँडफाँड गर्ने र संविधानको कार्यान्वयनमा देखिने चुनौतीहरूलाई हल गर्दै जाने प्रतिबद्धता नेपाली कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा देखाएको गल्तीले पूरै ओझेलमा पर्न पुग्यो । नेपथ्यमा रहेका शक्तिहरूको उक्साहटमा पूर्व सहमति तोडेर एमालेलाई दिने भनिएको प्रधानमन्त्री पदमा कांग्रेसले आँखा लगाएपछि सबै सहमतिहरू तोडिन पुग्यो र कांग्रेसको भागमा पर्ने सम्भावना रहेको राष्ट्रपति पद पनि स्वत: खोसिन पुग्यो र तोडिएको सहमतिको फाइदा एमालेले लिन पुग्यो । यही पुष्ठभूमिबीच विकसित राजनीतिक घटनाक्रमले एमालेको भागमा परेको राष्ट्रपति पदमा संघर्षशील महिला नेतृ भण्डारी
पुग्नुभएको हो ।
महिला नेतृ भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक हेरेको छ । त्यसो त, दक्षिण एसियामा भूटान र माल्दिभ्सबाहेक अरु सबै देशमा महिलाले सर्वोच्च र कार्यकारी पद पाइसकेका छन् । छिमेकी भारत, पाकिस्तान र बंगलादेश, श्रीलंकामा यसअघि महिलाहरू देशको नेतृत्व गर्ने तहसम्म पुगिसकेका हुन् । दक्षिण एसियाका ठूला मुलुकहरूमा महिलाले राजनीतिमा राम्रै भूमिका निर्वाह र स्थान पाए पनि नेपालमा भने अहिलेसम्म देशको सर्वोच्च पदमा महिला पहिलो पटक पुग्न सफल भएका हुन् । त्यसो त, देशमा नयाँ संविधान जारी भएपछि महिला वर्गका खुसी र उल्लासको माहोल सिर्जना भएको छ । देशको सर्वोच्च पद राष्ट्रपति र सभामुखमा वामपन्थी राजनीतिमा क्रियाशील दुई महिला नेतृले अवसर पाउनुलाई सुखद् रूपमा लिनुपर्छ ।
निश्चय नै, राष्ट्रपतिको भूमिका अभिभावकीय भूमिका हो । राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि भण्डारीले देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउने जुन संकल्प व्यक्त गर्नुभयो, त्यसले उहाँको अभिभावकीय भूमिकाको पूर्वसंकेत गरेको छ । तथापि, नयाँ संविधान जारी भए पनि कार्यान्वयन पक्षमा थुप्रै चुनौतीहरू विद्यमान छन् । संविधान जारी हुनुपूर्वदेखि नै अशान्त रहेको तराई–मधेस क्षेत्र संविधान आएपछि झनै अशान्त रहेको छ भने तराईका आदिवासी थारुलगायत पनि असन्तुष्ट छन् । यस्तो स्थितिमा संविधान कार्यान्वयन गर्नका निम्ति देशका राजनीतिक शक्तिहरूबीच चुनौतीको पहाड सिर्जना भइरहेको बेला संविधानको संरक्षक रहेका राष्ट्रपतिले त्यसलाई कार्यान्वयन गराउन कस्तो भूमिका खेल्नु हुने हो ? त्यसबाट पनि राष्ट्रपतिको अभिभावकीय र संविधान संरक्षकको भूमिका निर्धारण हुन्छ ।
देशको पहिलो महिला एवं दोस्रो राष्ट्रपति हुन पुग्नुभएका महिला नेतृ भण्डारीले नयाँ संविधानलाई संरक्षकत्व प्रदान गर्दै आफ्नो भूमिकामा दह्रो रुपले उभिन सक्नु हुने अपेक्षा र विश्वास सर्वत्र गरिएको छ । तसर्थ, राष्ट्रपति भण्डारीको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै उहाँप्रति हार्दिक बधाई व्यक्त गर्नु अहिले सान्दर्भिक होला ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply