माओवादी एकताले उब्जाएका प्रश्नहरु
केही वर्षयता फुट र विभाजनका अनेक शृंखला बेहोरेको एनेकपा माओवादीले केही दिनअघि मात्रै एउटा सन्देश प्रवाह गर्यो– कम्युनिष्टहरु फुट्न मात्र होइन, एकताको डोरीमा बाँधिन पनि सक्छन् । युद्धकालदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा विभिन्न समूह र दलमा विभाजित माओवादी धारका राजनीतिक समूहहरु केही दिनअघि मात्रै एकताको सूत्रमा आबद्ध भए । कुनै सिंगै समूह र कुनै चाहिँ चोइटिएर आएका व्यक्तिहरु सामेल भएर नेकपा –माओवादी केन्द्र) गठन हुनु नेपालको वामपन्थी वृत्तमा एउटा नौलो परिघटना हो । दस वटा माओवादी धारबीचको एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ उत्साह र उमंग सञ्चार गर्ने अपेक्षा पनि अहिले राख्न थालिएको छ । माओवादी धारका प्रमुख नेतृत्वकर्ता एवं जनयुद्धकालीन विभिन्न कम्युनिष्ट घटकहरुलाई एउटै विन्दुमा उभ्याउन भूमिका खेल्ने प्रचण्डले माओवादी विचारधारासँग सहमत हुनेहरुका अहिलेको एकतालाई नयाँ पार्टी गठनको संज्ञा दिएर एकतालाई नयाँ उचाइँ र गरिमा प्रदान गर्ने संकेत समेत दिएका छन् । प्रचण्डको त्यस्तो उद्घोषले कति सार्थकता प्राप्त गर्ला ? त्यो आगामी घटनाक्रमहरुबाटै देखिने अपेक्षा यतिबेला राख्नु सान्दर्भिक होला ।
विभिन्न घटकहरुमा विभाजित कम्युनिष्ट शक्तिहरु एउटै विन्दुमा उभिनु सुखद् र सकारात्मक पक्ष हो । छिन्नभिन्न हुँदा राजनीतिक उद्देश्य, कार्यनीति, संगठन र गतिशीलतामा सून्यता छाउने र त्यसले राष्ट्रिय राजनीति र जीवनहरुमा समेत गहन असर पार्नसक्ने यथार्थलाई ढाकछोप गर्न सकिँदैन । कम्युनिष्ट शक्तिले प्रगतिशील विचार, चिन्तन र सोच बोक्ने भएको हुँदा तिनीहरु सामाजिक विकास र रुपान्तरणका लागि आवश्यक र अपरिहार्य शक्ति मानिन्छ । विगतमा कम्युनिष्टहरुले सत्ताको नेतृत्व सम्हाल्दा राष्ट्र र जनताका निम्ति प्रगतिशील कार्यक्रम सञ्चालन गरेर देशको विकास र उत्थानमा अहम् भूमिका खेलेका थिए । नेपालको इतिहासमा पहिलो पटक ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट पार्टीको सरकार गठन भएपछि त्यसले ल्याएको प्रगतिशील, जनमुखी र अग्रगमनलाई सहयोग पुर्याउने कार्यक्रमहरुको अहिले पनि स्मरण हुन्छ । कम्युनिष्टहरुले सत्ता पाएपछि देशले बर्बादी भोग्नुपर्छ भनेर हावादारी प्रचार गर्नेहरुका लागि एमालेको तत्कालीन सरकार यथेष्ट जवाफ थियो । कम्युनिष्ट पार्टीहरु शक्तिशाली हुँदा त्यसले देश र जनताका हितलाई पोषण गर्छ भन्ने तथ्य जगजाहेर नै छ ।
निश्चय नै, एकताले कुनै पनि राजनीतिक शक्तिलाई बलियो बनाउँछ–भौतिक र मनोवैज्ञानिक दुवै रुपमा । अब नेकपा –माओवादी केन्द्र) पनि बलियो बन्ने अपेक्षा राख्नु उचित होला । तर, अहिले माओवादी धारहरुबीच जसरी एकता हुनपुगेको छ, यसलाई हतारमा भएको एकता प्रक्रिया ठान्न सकिने धेरै आधारहरु छन् । अझ, यो एकताको पृष्ठभागमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आफ्नो शक्ति कमजोर र क्षिण बन्दै गइरहेको र एकता गरेर अगाडि नबढ्दा झन्झन् कमजोर बन्ने मनोविज्ञानले ठूलो भूमिका खेलेको प्रष्टै देखिन्छ । दस वर्षे लामो युद्ध त्यागेर शान्ति प्रक्रियामा आएपछि बाघको जस्तै गर्जन गर्ने प्रचण्डको स्वर पछिल्लो समयमा बिरालोको जस्तै सानो, धीमा र रक्षात्मक हुँदै जानुको पछाडि उनीभित्र मौलाएको कमजोर मनोविज्ञानको उपज थियो भन्नु अन्यथा नहोला ।
०६४ सालको संविधानसभाको निर्वाचनमा देशकै पहिलो शक्तिका रुपमा उदाएको माओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा भने ठूलो जनाधार गुमाउनुपर्यो र तेस्रो शक्तिमा सीमित हुनुपर्यो । त्यसरी एकाएक शक्ति क्षिण हुनुमा विभाजनकै असर थियो । संविधानसभाको दोस्रो निर्वाचन हुनुभन्दा एक वर्षअघि मात्रै मोहन वैद्यले युद्धकालीन समयमा अग्रमोर्चामा रहेर क्रियाशीलता देखाएका ठूलो पंक्तिलाई लिएर बेग्लै पार्टी गठन गरेपछि एमाओवादी कमजोर हुन पुग्यो । र, त्यसको सीधा असर संविधानसभाको दोस्रो निर्वाचनमा पर्यो । त्यतिबेलाको विभाजनको असरलाई मेट्दै र व्यवस्थापन गर्दै जाने दिशातिर एमाओवादी नेतृत्व जुटेकै बेला संविधान जारी भएपछि डा.बाबुराम भट्टराई ठूलै पंक्ति लिएर बाहिरिए । पार्टीभित्र एकपछि अर्को गर्दै ठूला पहिराहरु जान थालेपछि गम्भीर बनेका प्रचण्डले शक्ति आर्जन गर्ने हेतुले नै अहिले माओवादी धारका शक्तिहरुलाई एकताको प्रक्रियामा उभ्याउन पहल गरेको ठान्न सकिन्छ । तर, त्यो धार कति धारिलो हुने हो, नेपालको राजनीतिमा ? आगामी दिनहरुलाई नै पर्खिनुपर्ने देखिन्छ ।
अहिलेसम्म नेपाली कम्युनिष्ट आन्दोलनको सात दशक लामो इतिहासमा धेरै कम्युनिष्ट पार्टी फुटे र धेरै कम्युनिष्ट पार्टीबीच एकता भएर राष्ट्र र जनताको हितमा आफूलाई उभ्याए पनि । तर जब विगतमा फुटेका कम्युनिष्ट पार्टीहरु एकै ठाउँमा जुट्छन्, उनीहरुले फुट र विभाजनको औचित्य जनतासामु सावित गर्न सक्दैनन् । हिजो फुटेका माओवादी धारका पार्टीहरुले आज एकता हुँदा फुटको औचित्य बताउन सकिरहेका छैनन् । कम्तिमा, हिजो के कारणले फुट उत्पन्न भएको थियो भन्ने कुरा नेकपा (माओवादी केन्द्र) का नेताहरुले जनतालाई बताइदिए, नेपाली जनता उनीहरुप्रति धेरै नै अनगृहित हुने थिए भन्न सकिन्छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply