नयाँ शक्तिको पुरानै रटान
आर्थिक समृद्धि र विकासलाई मूलनारा बनाएर केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक दलको घोषणा गरे । नयाँ शक्ति नाम दिइएको उक्त राजनीतिक शक्तिमार्फत नेपाली राजनीतिमा जम्ने ध्येयस्वरूप डा. भट्टराईले यस्तो कदम चालेको स्पष्टै देखिन्छ । हुन त आफू देशको प्रमुख कार्यकारी पदमा पुगिसकेको हुँदा सत्ता–मोहभन्दा पनि देशको आर्थिक विकासमा नै आफू र आफ्नो राजनीतिक समूहलाई क्रियाशील तुल्याउने उद्घोष उनले गरेका छन् । उनको सोचलाई सकारात्मक दृष्टिकोणले हेर्दाहेर्दै पनि राजनीति गर्नेहरूले बाँड्ने मीठा आश्वासन र सुनौला सपनाहरूमा जनता भुल्न छाडिसकेको हुँदा डा. भट्टराईको कथनलाई सहर्ष स्विकार्ने र पत्याउने माहोल अहिले बनिसकेको देखिँदैन । तथापि, नयाँ राजनीतिक शक्तिमार्फत देशलाई विकासको मार्गमा अग्रसर तुल्याउने कल्पना साँच्नु त्यति आलोच्य विषयचाहिँ नबन्न सक्ला ।
तत्कालीन एनेकपा (माओवादी)सँग हठात् रूपमा राजनीतिक सम्बन्ध तोडेको करिब नौ महिनापछि डा. भट्टराईले नयाँ शक्ति स्थापना गरेका छन् । उनले एमाओवादीसँगको वर्षौं पुरानो सम्बन्धलाई आफ्नो पार्टी पंक्ति र शुभेच्छुकहरूसँग कुनै सल्लाह नै नगरी तोड्दा त्यसलाई अनेक कोणबाट विश्लेषण गरिएको थियो । डा. भट्टराईलाई नजिकबाट चिन्नेहरूले त केसमेत भने भने यो बाबुरामको क्षणिक आवेश र उत्तेजनाको उपज हो, विगतमा पनि यस्ता कार्यहरू उनीबाट भएका हुन्, उनी पुन: मुल पार्टीमै फर्केर आउनेछन् । तर, कतिपयले गरेका यस्तो अनुमानलाई गलत साबित गर्दै नयाँ राजनीतिक शक्तिमार्फत अगाडि बढ्ने चाह उनमा पलाएको नयाँ शक्तिको स्थापनासँगै देखिएको छ ।
एमाओवादीबाट बहिर्गमन हुँदा डा. भट्टराईको कुरा काट्नेहरूको लर्को नै लागेको थियो । त्यो स्वाभाविक पनि थियो । किनकि, सात दशक लामो संघर्षपछि देशले संविधानसभाबाट नयाँ संविधान पाएपछि सबै नेपाली जनता खुसी र उल्लासको माहोलमा आबद्ध थिए । संविधान निर्माणमा उल्लेख्य भूमिकामा रहेको स्वयं एमाओवादीका नेता र कार्यकर्ताहरू पनि संविधान जारी भएपछि खुसी थिए र खुसीयाली साटासाट गर्न कुनै कन्जुस्याइँ गरिरहेका थिएनन् । तर, संविधान निर्माणका क्रममा संविधानसभाको महत्त्वपूर्ण समितिको संयोजकसमेत रहेका डा. भट्टराईले भने संविधान जारी भएपछि खुसी बाँड्न कन्जुस्याइँ मात्र गरेनन्, उनले पूरै अप्रसन्नतासमेत प्रकट गरे । तत्कालीन समयमा उनले प्रकट गरेका अप्रसन्नता र केही विदेशी राष्ट्रका साथै तराई–मधेसमा आन्दोलनरत मधेसी मोर्चाको अप्रसन्नता र असन्तोषमा तात्त्विक भिन्नता देखिएन । डा. भट्टराईले नयाँ संविधानप्रति देखाएको रुखो व्यवहारले उनको भूमिकाप्रति संशय उत्पन्न गराउने काम मात्र गरेन, संविधान जारी भएलगत्तै माउ पार्टी छाडेर कहिले तराई–मधेसमा आन्दोलनरत पक्षहरूसँग नजिकिनेजस्ता हर्कतले उनी कुन दिशातिर यात्रारत छन् भन्ने गम्भीर प्रश्न उब्जाएको थियो ।
सबै नेपालीलाई राजनीति गर्ने, नयाँ पार्टी खोल्न पाउने र जनताका बीचमा आफ्ना विचार राख्ने स्वतन्त्रता संविधानले प्रदत्त गरेको । तसर्थ, डा. भट्टराईले नयाँ पार्टी स्थापना गर्नुलाई अचम्मका रूपमा लिनु उपयुक्त देखिँदैन । तर, नयाँ शक्तिको घोषणासँगै डा. भट्टराईले नेपाली राजनीतिमा नौलो र विशिष्ट तरंग ल्याउने सम्भावना भने कमै देखिन्छ । नयाँ शक्तिको निर्माणले अरू राजनीतिक शक्तिहरूलाई आंशिक रूपमा घाटा पुर्याउने भने निश्चित देखिन्छ । सबैलाई थाहा छ, राजनीतिमा नयाँनयाँ हतकण्डा अपनाउने र क्रियाशीलता जनाउने सवालमा डा. भट्टराई अग्रपंक्तिमै रहेका हुँदा उनले आफ्नो राजनीतिक समूहमा अरू पार्टीमा हेपिएर रहेका, युद्धकालमा क्रियाशील रहेर अहिले भूमिकाविहीन भएकाहरूलाई तान्न सक्ने अवस्था देखिएको छ । तर, अहिले पनि डा. भट्टराई युद्धकालकै सारथिहरूबाट घेरिएर रहेका भए पनि नयाँ शक्तिमा भने उनले सहरिया मध्यम वर्गलाई नै समेटेर राजनीतिक रथ हाँक्ने संकल्प लिएको देखिन्छ । विचारधारा र सिद्धान्तजस्ता पक्षहरू गौण हुन्, मुख्य कुरा त राजनीतिक प्रसिद्धि र प्रोपोगन्डा नै हो भन्ने मान्यताबाट डा. भट्टराई डोरिएका छन् । खासगरी, केही पूर्वप्रशासक, प्रहरीका अवकाशप्राप्त हाकिमहरू, चलचित्र क्षेत्रबाट विश्राम लिएका विगतका सेलिब्ेरटीहरूजस्ता समाजमा चिनिएका अनुहारहरूलाई समेटेर पार्टी बनाउने कार्य जसरी डा. भट्टराईले गरे, यसैबाट उनको राजनीतिक दिशा र गन्तव्य चिन्न सघाउ पुग्छ । डा. भट्टराईको यस्तो कदमले उनले माक्र्सवाद त्यागेर एउटा पुँजीवादी पार्टीको ढर्रा समात्दै अगाडि बढ्दै छन् भन्नेहरूका आलोचनामा थप मलजल गर्ने कार्य उनीबाट भएको स्पष्टै देखिन्छ । नयाँ शक्तिलाई कुनै विचारधारा र सिद्धान्तद्वारा डोरिएको पार्टीभन्दा पनि वैचारिक रूपले खिचडी–पार्टी बनाउने अभियान डा. भट्टराईबाट भएकोमा कुनै सन्देह देखिँदैन ।
‘अबको निकास, आर्थिक विकास’ भन्ने नयाँ शक्तिको नारामा सतही रूपले हेर्दा दम त देखिन्छ नै । हुन पनि अहिले मोटामोटा राजनीतिक नारा लगाएर जनतालाई आकर्षित गर्न सकिँदैन । राजनीतिक नाराहरूले जनतामा वितृष्णा भाव मात्र पैदा गराएको छ । जनताको यही मनोविज्ञानलाई बुझेर डा. भट्टराईले आर्थिक समृद्धि र विकासको आकर्षक नारा दिएर आफ्नो राजनीतिक समूहतिर तान्ने प्रयत्न गरेको प्रस्टै बुझिन्छ । तर, डा. भट्टराईले नबुझेको एउटा पक्ष के हो भने राजनीतिक आन्दोलन र अभियानविना नेपालजस्तो मुलुकमा आर्थिक विकासको सम्भावना कसरी होला ? समाजको तल्लो तहसम्मै राजनीति व्याप्त छ र विकासका कुराहरूमा राजनीतिक पक्षले नै भूमिका खेलिरहेको छ । यस्तो स्थितिमा विशुद्ध विकासको नाराले मात्र कुनै पनि राजनीतिक शक्तिलाई उकास्न पक्कै पनि मद्दत गर्दैन । यति कुरा विद्वताको गहकिलो परिचय बनाएका डा. भट्टराईले नबुझ्ने प्रश्नै रहेन ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply