सशस्त्रमा कसैलाई मनोमानी कसैलाई कालापानी
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले ७७ जना एसपीको सरुवा मनपरी ढंगले गरेका छन् । केही दिनअघि आईजीपी राईले गरेको सरुवामा यसअघि राम्रो अवसर दिइएको अधिकृतलाई फेरि त्यस्तै स्थानमा सरुवा गरिएको छ । यो सरुवा प्रकरणले सशस्त्रमा ‘कसैलाई मनोमानी, कसैलाई कालापानी’ भन्ने भनाइ उजागर भएको छ ।
त्यति मात्र होइन, इन्जिनियरिङ पृष्ठभूमिबाट नआएकै कारण प्राविधिक आईजीपी कोषराज वन्तका पालामा कोपभाजनमा परेका गैरप्राविधीक अधिकारीहरूले प्रहरी पृष्ठभूमिको आईजी आउँदा पनि उस्तै व्यवहार भोग्नुपरेको गुनासो गरेका छन् ।
एआईजीहरूसँगको बैठकमा उनले सरुवा बढुवाका लागि विधि बनाएको र सोहीअनुसार आफूले गर्ने वचन दोहो¥याएका थिए । तर, एकपटक गणको कमान्ड सम्हालिसकेकाहरूलाई कतै पुनः कमान्डर बनाइएको छ भने कुनै एसएसपीहरूलाई भने दक्ष हुँदाहुँदै पनि कमान्ड गर्ने अवसरबाट वञ्चित गरिएको बताइन्छ ।
उनले बाहिर देखाउन सरुवाका लागि १० बँुदे आचारसंहिता समेत बनाए पनि प्रलोभन, राजनीतिक दबाब वा अन्य कारणले सरुवा निष्पक्ष र पारदर्शी नभएको गुनासो गरिएको छ ।
सशस्त्रमा सरुवा बढुवा गर्ने प्रशासन विभागको प्रमुख एआईजी सिंहबहादुर श्रेष्ठ रहे पनि उनीसित कुनै सल्लाह नगरी सरुवा गरिएको बताइन्छ ।
स्रोतका अनुसार कर्मचारी प्रशासनमा वन्तको पालादेखि नै बसेर सरुवाबढुवामा चलखेल गर्दै आएका डीएसपी होम ज्ञवाली, एआईजी शैलेन्द्र खनाल र आईजीपी राईको सल्लाहबमोजिम एसपीहरूको सरुवा भएको हो ।
पछिल्लो सरुवामा पहिला कारबाही गरिएकाहरूलाई पनि पुरस्कृत गरिएको छ । कपिलवस्तु गणको कमान्डर रहेका एसपी हृदयनारायण मण्डललाई सशस्त्रले नै गठन गरेको छानबिन समितिले कमान्डरको गल्ती देखिएको भन्दै कारबाहीको सिफारिससमेत गरेको थियो । डीआईजी सुबोध अधिकारीको नेतृत्वमा बनाएको समितिले कारबाही सिफारिस गरेका व्यक्तिलाई आईजीपी राईले भने पुरस्कृत गरेर छिन्नमस्ता गणको हाकिम बनाएर पठाएका छन् । त्यस्तै, पूर्व क्षेत्रका डीआईजी सुरज श्रेष्ठले इटहरीमा कार्यरत एसपी वीरबहादुर श्रेष्ठलाई कारबाहीका लागि हेडक्वार्टर पठाएका थिए । कारबाही गर्नुको कारण थियो, डीएसपी र एसपी श्रेष्ठको आर्थिक मामिलामा झगडा ।
तर, आईजीपी राईले उनलाई कारबाही गर्नु त परै जाओस्, उल्टै पुरस्कृत गरेर कञ्चनपुरको झलारीमा रहेको शैलेश्वरी गणको प्रमुख बनाएर पठाएका छन् ।
पूर्व क्षेत्रबाट डीआईजी श्रेष्ठले नै कारबाहीको सिफारिस गरेका सीमा सुरक्षा कार्यालय धनुषामा कार्यरत एसपी रवीन्द्र ठाकुरलाई पनि सीमा सुरक्षा कार्यालय पर्सा सरुवा गरिएको छ । सशस्त्र प्रहरीमा दुई वर्षदेखि कमान्ड नपाएका एसपीहरू नवराज अर्याल, गणेश थापा, कमल गिरी, ऋषिदेव कार्की र मधुकृष्ण गड्तौलालाई यसपटक पनि कमान्ड दिइएको छैन भने कुनै कुनै एसपीले पाँचपटकसम्म पनि कमान्ड पाएका छन् । राईले आफू एसपी हँुदा आफ्नो एकाउन्टेन्ट रहेका एसपी सुवर्ण थापा मगरलाई पनि कमान्ड दिएका छन् । अर्का एसपी मानबहादुर शाही पनि मध्यपश्चिमका सबै गणहरूको कमान्ड सकेर त्रिपुरा गण बाँके पुगेका छन् । प्राविधिक एसपी विदुर खड्का, भगवान मल्ल र भरत बाबु केसीले यसपटक पनि आकर्षक मानिने कमान्ड पाएका छन् । उनीहरू एसपी पदमा सबैभन्दा बढी अवसर पाउने भाग्यमानी अधिकृतहरू हुन् ।
खड्काले दक्षिणकाली गण, मल्लले सीमा सुरक्षा कार्यालय रौतहट र केसीले दन्तकाली गणको कमान्ड पाएका छन् । तत्कालीन गृहमन्त्री वामदेव गौतमले टीकापुरमा भएकोे घटनापछि प्राविधिकहरूलाई कमान्ड नदिन लिखित सर्कुलर गरेका थिए । सशस्त्रका प्राविधिक एसपी लक्ष्मण सिंहको कमजोरीका कारण टीकापुरमा मानवीय क्षति भएको भन्दै सात दिनभित्र कमान्ड झिक्न गौतमले तत्कालीन आईजीपी कोषराज वन्तलाई लिखित निर्देशन दिएका थिए । नौ महिनाको आधारभूत तालिम नगरेका प्राविधिकहरूलाई कमान्ड दिनुहुन्न भन्नेमा त्यतिबेला हालका आईजीपी राई र हालका एआईजी खनाल पनि थिए, तर उनीहरूले नै उपत्यकाको सुरक्षा हेर्ने जिम्मा पाएको दक्षिणकाली गणमा प्राविधिक एसपी खड्कालाई ल्याएका छन् । अर्का प्राविधिक एसपी कुमार न्यौपानेलाई पनि गढीमाई गणको हाकिमबाट सीमा सुरक्षा कार्यालय बाराको हाकिम बनाएर पठाइएको छ । प्राविधिक एसपीहरू कृष्ण पाठक र सुवर्ण थापालाई पनि कमान्ड दिइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply