प्रणव भ्रमणको अर्थ
नरेन्द्र दामोदर मोदी अपवादका पात्र साबित भए, जसले भारतको प्रधानमन्त्री भएपछि काठमाडौंका सडकमा नेपाली नागरिकहरूको स्वागत र अभिनन्दन प्राप्त गरेका थिए । केही वर्षअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठकमा भाग लिन आएका बेला मोदीको स्वागतमा सिंगो काठमाडौं नै ओर्लिएको आभास हुन्थ्यो । तर, यथार्थतः नेपालीहरूको मन निकै नै कमलो मान्नुपर्ने हुन्छ । विगतमा छिमेकीहरूले दिएको पीडा र कष्टलाई भुल्ने र छिमेकीहरूलाई फेरि स्वागतको गलैंचा ओछ्याउन तत्पर हुने स्वभाव नेपालीहरूमा देखियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको हालैको नेपाल भ्रमणमा यदाकदा विरोधका स्वरहरू उर्लिए पनि नेपालको संस्थापन पक्षले भने छिमेकको राष्ट्रप्रमुखलाई भव्य स्वागत गरे र छिमेकप्रतिको सद्भावलाई निरन्तरता दिए ।
तर, नेपालीहरूको स्मरण शक्ति त्यति कमजोर भने छैन । दक्षिणतिरका छिमेकीको बानी, बेहोरा र कार्यशैलीको प्रसंग उब्जिनेबित्तिकै गत वर्षको संविधान जारी भएपश्चात्का क्षणहरूका कष्टदायक दिनहरू सम्झिन नेपालीहरू अभिषप्त छन् । किनकि, जुनसुकै पीडा भुल्न समयको अन्तराल त कुर्नैपर्ने हुन्छ । कतिपय पीडा त समयको अन्तरालमा पनि भुल्न सकिँदैन । त्यसको दीर्घकालीन असर र पीडा यथावत नै रहन्छ ।
तर, केही दिनअघिसम्म सबैले एउटै प्रश्न सोधिरहेका थिए, भारतका प्रधानमन्त्री मोदी आउँदा सडकमा स्वागत पाउने वातावरण थियो, तर अहिले भारतका सम्मानित राष्ट्रपति आउँदा किन काठमाडौंमा कफ्र्युको जस्तो वातावरण उत्पन्न भयो ? सडकमा गुड्ने सवारीसाधन मात्र होइनन्, पाइला नाप्ने नागरिकमा समेत काठमाडौं कफ्र्युको कहर झेल्न बाध्य रहेको सहज अनुभूतिबोध गरिएको थियो । त्यसको एक मात्रै कारण थियो, सरकारले अघोषित रूपमा कफ्र्यु लगाएरै भए पनि भारतीय महामहिमको भ्रमण सफल पार्न चाहन्थ्यो । र, नेपालमा भारतविरुद्ध उर्लिएको भावनालाई कुनै पनि कोणबाट मेट्न चाहन्थ्यो ।
भारतीय शासकको व्यवहार र नेपाललाई हेर्ने दृष्टिकोणप्रति नेपाली जनता बिल्कुलै सन्तुष्ट नभएको कुरा विदितै छ । साँच्चै नै, भारतविरोधी भावना प्रबल छ, नेपाली जनतामा । अझ, नेपालमा नयाँ संविधान जारी भएपछि भारतले जनाएको असन्तुष्टिको स्वर र त्यसपछिको लामो समयसम्म नाकाबन्दीपछि त नेपालीहरूले भारतीय शासकप्रति बक्रदृष्टि राख्नु स्वाभाविकै बन्यो । सम्भवतः यही कुरा बुझेर हुनुपर्छ, भारतका महामहिमको नेपाल भ्रमणका क्रममा भारतविरोधी भावना उमडिने आशंकाले नेपाली शासकहरू आतंकित मात्र भएनन्, कडा सुरक्षा व्यवस्थाको नाममा नागरिकहरूलाई बन्धक बनाउने कार्यसमेत गरियो ।
मोदी र राष्ट्रपति मुखर्जीको भ्रमण फरक सन्दर्भमा भएको हो । मोदीले नेपालको भ्रमण गर्दा नेपालीहरू यति उत्साहित थिए कि एउटा छिमेकी मुलुकका नयाँ शासकले दक्षिण एसियाको राजनीतिक दिशा नै बदल्न लागेको आभास मिल्थ्यो । आफ्नो शपथग्रहण समारोहमा अत्यन्तै शत्रु ठानिएको पाकिस्तानका राष्ट्रपतिदेखि सार्क मुलुकका प्रमुखहरूलाई निम्त्याएर ‘दक्षिण एसियाली मुलुकहरूकै हिरो’ बन्ने मात्र होइन, दक्षिण एसियामा वर्षांैदेखि उत्पन्न समस्याहरूलाई छुमन्तरका भरमा समाधान गर्ने बाटो मोदी सरकारले पहिल्याएको अनुभूति पनि हुन्थ्यो । मोदीले शपथ ग्रहणका बेला छिमेकीहरूसितको सम्बन्धलाई प्राथमिकतामा राखेको पक्षलाई विश्व समुदायले हार्दिकतापूर्वक ग्रहण मात्र गरेको थिएन, भारतले छिमेकीहरूप्रति सद्भाव र मित्रताको नयाँ आयाम विस्तार गर्ने अपेक्षा पनि सँगालेका थिए । तर, मोदीले सत्तारोहण गरेको केही वर्षपछिका परिदृश्यहरूलाई नियाल्ने हो भने उसको सरकारको समयमा छिमेकका मुलुकहरूको सम्बन्धमा यति धेरै धाँजा फाटेको छ कि, त्यसलाई पुर्न अझै वर्षौं लाग्नेछ ।
पाकिस्तानसँग त केही समयअघि मात्रै सम्बन्ध बिग्रियो भारतको । काश्मीर विवादले उग्र रूप लिएपछि भारत पाकिस्तानबीचको सम्बन्ध अहिले किनारमा पन्छिएको छ । तर, नेपालसितको राम्रो र सुमधुर सम्बन्धलाई बिगार्न भने भारतीय पक्ष आफैं सक्रिय रह्यो । नेपाली जनताले संविधान चाहेका थिए । विश्वले नै बुझेको कुरा थियो यो । तर, पोहोर साल असोजमा नेपालको नयाँ संविधान जारी भएपछि त्यो भारतको संस्थापन पक्षलाई ठूलो टाउकोदुखाइ साबित भयो । एउटा सार्वभौम मुलुकले नयाँ संविधान पाउनु अर्को सार्वभौम मुलुकका निम्ति टाउको टन्किनुपर्ने विषय थिएन । तर, नेपालको राजनीतिमा वर्षौंदेखि प्रभुत्व जमाउँदै आइरहेको भारतका निम्ति त्यो स्वीकार्य विषय थिएन कदापि । र, संविधान पाएको खुसियालीमा रमाइरहेका नेपाली जनतालाई नाकाबन्दीको पीडा थोपर्न पनि पछि हटेनन् ।
प्रणव मुखर्जीलाई भने नेपाली जनताले हार्दिक स्वागत नै गरे । नेपालको संविधानलाई स्विकार्न भारतको संस्थापन पक्ष अझै हिच्किचाइरहेको बेला मुखर्जीले भने नेपालको संविधानको भावनालाई आत्मसात् गर्दै एउटा छिमेकी देशको भ्रमण गर्न रुचि देखाएका थिए । यसलाई एउटा विद्वान् राष्ट्रपतिको सुझबुझपूर्ण कार्यका रूपमा लिनुपर्ने पनि हुन्छ । तर, भारतीय राष्ट्रपतिको भ्रमणलाई सद्भावपूर्ण भनिए पनि भ्रमणले राजनीतिक विषयवस्तुमाथिको छलफलमा प्रवेश पाएको कुराप्रति भने सायद धेरैको चित्त नबुझेको पनि हुन सक्छ, यतिबेला । तथापि, एउटा छिमेकी राष्ट्रका राष्ट्रपतिले भ्रमणमा देखाएको चासोलाई भने राम्रै मान्नुपर्ने हुन्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply