एमालेको लोकप्रियता र त्रासको खेती
तराई–मधेसकै एक भूभाग हो, सुखानी । तत्कालीन पञ्चायती शासकहरूको क्रूरतापूर्ण हत्यापछि पाँचजना सहिदहरूको सहादत प्राप्त गरेको भूमि सुखानीलाई नेकपा (एमाले) ले यसपटक विशेष रूपमा स्मरण गर्दै छ । झापाको त्यही पवित्र भूमिलाई साक्षी राखेर राष्ट्रिय राजनीतिमा अपरिहार्य शक्तिका रूपमा स्थापित एमालेले मेची–काली मधेस जागरण अभियान सञ्चालन गर्न लागिरहेको छ । पूर्वदेखि सुदूरपश्चिमका तराई–मधेसका भूभागमा आधा महिनासम्म एमालेले जनतालाई जागरण अभियानमा सामेल तुल्याउनेछ । चढ्दो गर्मीसँगै एमाले तराई–मधेसमा जनलहर ल्याउने र त्यसले पछिल्लो समय सुस्ताएको मधेसलाई जागरुक तुल्याउने अपेक्षा पनि गर्न थालिएको छ ।
एमालेले मात्र होइन, देशका प्रमुख राजनीतिक शक्तिहरूले मधेसमा जागरण चलाउनु आवश्यक छ र थियो पनि । डेढ वर्षअघि संविधान जारी भएयता प्रमुख राजनीतिक शक्तिहरूले छिटफुट रूपमा मधेसमा सानातिना अभियान चलाए पनि बृहत् रूपमा भने सञ्चालन गरिरहेको छैन । खासगरी प्रमुख राजनीतिक शक्तिप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चाले ठूला दलका अझ त्यसमा पनि एमालेको हरेक कार्यक्रमलाई अवरोध गर्न थालेपछि तराई–मधेसमा छिर्न राजनीतिक दलहरूले अरुचि देखाउँदै आएका छन् । सम्भावित अवरोध देखेर ठूला दलहरूले मधेसी मोर्चाको बाहुल्य रहेका भूभागमा राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छैनन् । तर, एमालेले भने मधेसी मोर्चाको अवरोधलाई छिचोल्दै मधेसी मोर्चाको बाहुल्य रहेको ठानिएका मधेसमा प्रमुख सहर, बजार र देहाती इलाकाहरूमा समेत आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
एमालेले सुरु गर्न लागेको मधेस जागरण अभियानको पूर्वसन्ध्यामा तराई–मधेसमा एमालेलाई तगारो हाल्ने कामसमेत हुन थालेका छन् । लहान, जनकपुर र गौरमा एमालेको कार्यक्रममा अवरोध सिर्जना गर्ने मधेसी मोर्चाका हर्कतले त्यही कुराको पुष्टि गर्दछ । तराई–मधेसमा हिंसात्मक, अराजक गतिविधि सञ्चालन गरेर अरू राजनीतिक दलहरूलाई गतिविधिशून्य तुल्याउने र संविधान जारी भएयता आफूहरूले जनताका बीच पस्किएको भ्रमलाई अझै तन्काउने अभियानमा मधेसी मोर्चाका नेताहरू सक्रिय देखिएका छन् । पछिल्लो समय एमालेका कार्यक्रमहरूमा अवरोध सिर्जना गर्नुको पछाडि मोर्चाको त्यही नियत लुकेको प्रस्टै देखिन्छ । अरू राजनीतिक दललाई मधेसमा छिर्न कुनै अवरोध नगरे पनि एमालेलाई भने कुनै पनि हालतमा रोक्ने एकसूत्रीय अभियान मोर्चाले लिएकोमा कुनै सन्देह देखिँदैन ।
एमालेलाई साख, गरिमा र गतिशीलतालाई ताछ्ने कुनै हतियार फेला नपरेपछि मधेसी मोर्चाले अहिले एमाले मधेसविरोधी पार्टी रहेको भ्रम छर्दै हिँडिरहेको छ । एमाले के–कति कारणले मधेसविरोधी भयो ? यसको स्पष्ट जवाफ मोर्चाले दिन सकेको छैन । तर, संविधान जारी भएदेखि नै एमालेलाई धुरन्धर मधेसविरोधी दल प्रमाणित गराउन मोर्चाले न्वारानदेखिको बल निकालेर आफ्नो प्रयत्न जारी राखेको छ । पछिल्लो समय त नेपाली कांग्रेसका केही उपबुजु्रक नेताहरूले समेत एमालेलाई मधेसविरोधी देखाएर आफ्नो पक्षमा जनमत सिर्जना गर्ने दुष्प्रयास गर्न थालेका छन् ।
निःसन्देह, एमालेको लोकप्रियता देशव्यापी रूपमै बढेको छ । तराई–मधेसमा पनि एमालेको लोकप्रियता नबढ्ने प्रश्नै रहेन । सरकारमा रहेका बेला तराई–मधेसको विकास निर्माणका साथै जनताका चाहनाअनुरूपका कार्यक्रमहरू ल्याएर एमालेले तराई–मधेसका जनताको विश्वास जित्न सफल भएको छ । तराई–मधेसको विकासको मेरुदण्ड मानिने ठूला–ठूला परियोजनाहरूलाई अगाडि बढाउन एमालेले सरकारमा रहेको बेला जुन तत्परता देखायो, त्यस्तो तत्परता नेपाली कांग्रेस र माओवादी केन्द्रले आफू सत्तामा रहेको बेला देखाउन चाहेनन् । तराई–मधेसको विकास र त्यहाँ विद्यमान समस्याहरूलाई चिर्न एमालेले लिएको चासो र अग्र कदम बुझेका जनताले एमालेलाई पत्याउनु अनौठो कुरा पनि भएन । तसर्थ, अहिले तराई–मधेसमा एमालेको लोकप्रियता नजानिँदो गरी बढेको र अब हुने स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा तराई–मधेसका जनताले एमालेलाई हार्दिकतापूर्वक स्विकार्नेमा दुईमत देखिँदैन ।
तराई–मधेसमा एमालेको बढ्दो लोकप्रियता न त तराई–मधेसलाई आफ्नै बाबुबराजुको बिर्ताझै ठान्ने मधेसी मोर्चालाई सह्य हुने विषय हो, न त तराई–मधेसमा राम्रै पकड भएको कांग्रेसलाई स्वीकार्य हुने पक्ष नै हो । अहिले यी दुवै शक्तिले एमालेलाई मधेसविरोधी प्रमाणित गर्न र एमालेलाई मधेस प्रवेशका निम्ति वातावरण बिथोल्न जुन भूमिका निर्वाह गरिरहेका छन्, त्यसको पछाडि रहेको एक मात्र कारण एमालेको लोकप्रियता नै हो । एमालेको लोकप्रियता बढिरहेको हुँदा तराई–मधेसमा आफूहरू बढारिने डर यी दलहरूलाई रहेको छ । त्यही डर र त्रासले गर्दा एमालेलाई मधेसमा छिर्न र मधेसका जनताबीच आफ्ना राजनीतिक एजेन्डाहरू राख्नबाट वञ्चित तुल्याउन खोजिएको हो ।
तर, जस्तोसुकै बाधा, व्यवधान, अवरोध सिर्जना भए पनि र मोर्चाको आवरणमा अरू शक्तिहरूले एमालेविरुद्ध हिंसात्मक क्रियाकलाप सञ्चालन गरे पनि एमालेले तराई–मधेसमा छिरेर त्यहाँका जनतामा आफ्ना एजेन्डा पु¥याउनैपर्छ । संविधान जारी भएयता मधेसी जनताबीच छरेका भ्रमहरूलाई चिर्नैपर्छ । मधेसी जनतालाई बन्धक बनाएर राख्ने राजनीतिक शक्तिहरूको भण्डाफोर गर्नैपर्छ । यो दायित्व एमालेले निर्वाह गर्नु अनिवार्य छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply