अरु गोविन्दहरू नमारियुन्
नेपाल–भारत सीमा विवादका क्रममा एकजना नेपाली युवाले आफ्नो अमूल्य जीवन गुमाउन पुगेका छन् । कञ्चनपुर जिल्लाको आनन्द बजारनजिकै कल्भर्ट निर्माणमा दुई देशका बासिन्दाबीच भएको विवाद यति उत्कर्षमा पुग्यो कि भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा ३२ वर्षीय गोविन्द गौतमको दुःखद निधन हुन पुग्यो । कञ्चनपुर घटनाले तनावको माहोल सिर्जना गरिरहेकै बेला सरकारले गौतमलाई सहिद घोषणा गर्नुका साथै राष्ट्रिय सम्मानसहित अन्त्येष्टिसमेत भएको छ । सीमाको सुरक्षाका निम्ति उभिएका गौतमलाई अहिले सरकारले उच्च सम्मान दिँदै सहिद घोषणा गरे पनि नेपाल–भारत सीमामा हुने यस्तै किसिमका तनाव र अर्को आनन्द बजारजस्ता घटना पुनः नदोहोरिएलान् भन्न सकिने आधारहरू भने भेटिँदैनन् ।
भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा प्रवेश गरेर निहत्था जनताको हत्या गर्नुलाई नेपालको सार्वभौम सत्तामाथिको हमलाका रूपमा लिनुपर्ने हुन्छ । आफ्नो भूमिको सुरक्षाका निम्ति कुनै पनि देशका नागरिकले पहरेदारी गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । संसारका कुनै पनि देशका नागरिकले आफ्नो देशको सुरक्षा गर्न पाउँछन् । तर, त्यसरी पहरेदारी गर्दा अर्को देशका सुरक्षाकर्मीले आवेशमा आएर अर्कै देशका नागरिकमाथि गोली दाग्नु भनेको सार्वभौम सत्तामाथिको ठाडो हस्तक्षेप हो । गौतमको हत्यापछि सरकारले उनलाई सहिद घोषणा गरेर, उच्च राष्ट्रिय सम्मान दिएर र सन्तानको भरणपोषण र शैक्षिक खर्च बेहोर्ने निर्णय गरी भारतविरुद्ध उर्लिन सक्ने जनलहरलाई तत्कालका निम्ति थामथुम पार्ने काम त भएको छ, तर एउटा सार्वभौम सत्तासम्पन्न मुलुकका नागरिकमाथि नांगो रूपले हत्या हुँदा राष्ट्रले जुन कदम उठाउनुपथ्र्यो, त्यसमा भने सरकार चुकेको प्रस्टै देखिन्छ ।
नेपाली नागरिकलाई आफ्ना सुरक्षाकर्मीले दिनदहाडै हत्या गर्दा पनि भारतीय पक्ष भने अझैसम्म मौन बस्नुलाई उसको हेपाहा प्रवृत्तिको उजागर गरेको छ । यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त त गरेका छन्, तर दुःख व्यक्त गरेर मात्र एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि थोपरिएको ज्यादती र नागरिकको हत्याको क्षतिपूर्ति हुन सक्दैन । अझ, दुःखदायी पक्ष त के रह्यो भने सीमा क्षेत्रमा भारतीय सीमा बलको गोली लागेर नेपाली युवाको मृत्यु हुँदा भारतीय दूतावासले भने, ‘भारतीय प्रहरीले गोली नचलाएको’ झूटो र भ्रामक खबर फैलायो । र, भारतीय दूतावासले वितरण गरेको भ्रमको पुलिन्दा बाँड्न मधेसी मोर्चाका सांसदहरू तत्काल क्रियाशील देखिए । साथै, भारतीय सुरक्षा बलद्वारा मधेसकै एक भूभागमा एक नेपाली युवाको हत्या हुँदा देशभरि आक्रोश उम्लिरहेका बेला आफूलाई मधेसी जनताको मसिहा ठान्ने मोर्चाले भने उक्त घटनाको निन्दा गर्दै एक शब्द व्यक्त गर्न आवश्यक ठानेन । आनन्द बजार घटनाले मधेसी मोर्चा कसको हितमा काम गर्दै छन् भन्ने कुरा अझ छर्लंग हुन पुगेको छ ।
नेपाल–भारत सीमा विवादले उत्कर्ष लिँदा आनन्द बजारमा जुन अप्रिय घटना हुन पुग्यो, यस्ता घटनाहरू विगतदेखि नै भइरहेका छन् । भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा प्रवेश गरेर नेपालका स्थानीय जनतालाई कुटपिट गर्ने, दुःख दिनेजस्ता क्रियाकलापको लामो शृंखला छ । यस्तो लाग्छ, भारतको सीमा सुरक्षा बल सिमानामा यस कारण परिचालित तुल्याइएको हो, जहाँ उनीहरू नेपाली जनतालाई दमन र कुटपिट गर्न तल्लिन रहोस् । आनन्द बजारमा अहिले जुन घटना हुन पुग्यो, यो विगतदेखि नै भारतीय सीमा सुरक्षा बलद्वारा सिमानामा रहेका नेपालीहरूमाथिको दमनको उत्कर्ष रूप हो । सीमा सुरक्षा बलले यस्ता क्रियाकलाप विगतदेखि गर्दै आएको थियो र आगामी दिनमा पनि आनन्द बजारजस्ता घटनाहरू नहोलान् भन्न सकिँदैन ।
सीमा सुरक्षा विवाद नेपाल–भारतबीचको बल्झिरहने घाउको रूपमा रहँदै आएको छ । भारतीय पक्षले नेपालको हजारौं बिघा भूभाग मिचेको कुरा बेलाबखत उठ्ने गर्दछ । र, यी दुई देशबीचको सीमा विवादकै कारण तिलाठी, महेशपुर, सुस्ताजस्ता प्रकरणहरू उब्जिने गरेका छन् । सीमा क्षेत्रमा रहेका नेपाली जनताले आफूहरू भारतीय पक्षद्वारा प्रताडित बन्नुपरेका गुनासाहरू पनि पटकपटक उठाउँदै आएका छन् । र, भारतीय पक्षको ज्यादती सहन नसकेर तिलाठीजस्ता घटना पनि जन्मिने गरेका छन् । यस्ता समस्या नेपाल–भारतबीचको हरेक सीमामा व्याप्त छ । कहिले महलीसागरलगायतका ठाउँमा दसगजाभन्दा नजिकै बाँध बनाएर नेपाली भूभाग डुबान पार्न उद्यत रहने, कहिले सीमास्तम्भ सारेर विवाद उब्जाउनेजस्ता काम भारतीय पक्षद्वारा पटकपटक हुँदै आएका छन् । र त खुला सिमाना भएकै कारण भारतीय पक्षले नेपाली भूभागमाथि हस्तक्षेप गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् । पछिल्ला केही वर्षयता त यो क्रम झनै चर्किएर गएको छ ।
सरकारले आनन्द बजार र तिलाठीजस्ता घटनाबाट पाठ सिकेर नेपाल–भारत सीमामा बारम्बार देखिइरहने तनावलाई कम गर्न र व्यवस्थित सीमाका लागि पहल गर्न भारतीय पक्षसँग गम्भीरतापूर्वक संवाद गर्नु अनिवार्य भइसकेको छ । सीमा क्षेत्रमा बारम्बार निम्तिरहने समस्या र तनावले अन्ततः दुवै देशलाई फाइदा पु¥याउँदैन । सीमा विवाद हल गर्नुमा नै दुवै देशका लागि फलदायी हुनेछ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply