सबैको नजर २ नम्बरमा
यतिबेला मध्य मधेस चुनावको रङमा बिस्तारै रंगमगिन थालेको छ । देशका प्रमुख राजनीतिक दलहरू तराई–मधेसमा आफ्नो वर्चस्व कायम राख्न चुनावी अभियानमा सामेल भइरहेका छन् । आगामी असोज २ गते हुन लागिरहेको स्थानीय तहको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो प्रभाव देखाउन नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र र केही मधेसी दलहरूसमेत केन्द्रित रहेका छन् । पछिल्लो समय मधेसको विकास र मधेसी जनताका आवाजलाई सम्बोधन गर्न राजनीतिक दलहरू क्रियाशील देखिएका छन् । राजनीतिक दलहरूको बढ्दो चुनावी सक्रियतासँगै तराई–मधेसका आठ जिल्लामा बेग्लै रौनक र उत्साहको माहोल सिर्जना भएको छ ।
नेकपा (एमाले) का नेताहरू एक चरण मधेसका आठै जिल्लामा पुगेर राजधानी फर्किएका छन् । मधेसी जनता एवं मधेसमा क्रियाशील आफ्ना नेता र कार्यकर्ताहरूको भावना र चाहना बुझेर राजधानी फर्किएका एमालेका नेताहरूले प्रदेश नम्बर २ मा धेरैभन्दा धेरै सफलता बटुल्नका निम्ति अचुक रणनीति बनाएर अघि बढ्ने सम्भावना बढेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो शक्ति बन्न सफल एमाले प्रदेश नम्बर २ मा पनि पहिलो शक्ति नै बन्न चाहन्छ र त्यस्तो सम्भावनालाई कुनै पनि कोणबाट नकार्न सकिँदैन । किनकि एमालेको पक्षमा जनलहर बढिरहेको हुँदा प्रदेश नम्बर २ मा पनि बहुसंख्यक तहमा जितेर पहिलो शक्ति बन्ने खुबी एमालेले राख्दछ ।
अरू राजनीतिक दलहरूले पनि प्रदेश नम्बर २ मा नजर लगाएका छन् । यो स्वाभाविक पनि हो । निर्वाचनलाई ध्यानमा राखेर पदाधिकारी तहका नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने टुंगो एमालेले लगाएसँगै माओवादी केन्द्रले त चुनावभरि आफ्नो हेडक्वार्टर नै सोही प्रदेशमा सार्ने निर्णय ग¥यो । नेपाली कांग्रेस पनि पछि हट्ने सवालै रहेन । १ सय २७ तह रहेको सो प्रदेशमा सय तहमा जित्ने उद्घोष गर्दै नेपाली कांग्रेसका नेताहरूले चुनावी अभियानलाई झनै तीव्र बनाए । पहिलो र दोस्रो तहको निर्वाचनमा बेहोर्नुपरेको नमीठो पराजयलाई प्रदेश नम्बर २ बाट ‘पूरा’ गर्ने अभियानमा कांग्रेस लाग्नु अस्वाभाविक मान्न सकिँदैन । कांग्रेसले सो प्रदेशको निर्वाचनलाई जीवनमरणको सवाल नै मानेको छ र चुनावी अभियान तीव्रता दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेता विमलेन्द्र निधिदेखि प्रदेश तहका नेताहरूसमेत चुनावी अभियानमा सक्रियतापूर्वक लाग्नुले सो प्रदेशबाट कांग्रेसले धेरै आशा र अपेक्षा गरेको मान्न सकिन्छ । त्यसो त प्रदेश नम्बर २ को चुनावमा बढीभन्दा बढी सफलता प्राप्त गर्न कांग्रेसले मन्त्रिपरिषद् विस्तारका क्रममा पनि अग्रपंक्तिमा रहेका चीनकाजी श्रेष्ठ र अर्जुनप्रसाद जोशीजस्ता पुराना नेताहरूलाई हटाएर मधेसकै सांसदहरूलाई रोजे ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित सफलता पाएको एमालेले सो प्रदेशमा पनि पहिलो स्थान ल्याउन कसरत गर्नुलाई असान्दर्भिक मान्न मिल्दैन । महासचिव ईश्वर पोखरेलको कमान्डमा केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशका आठवटै जिल्लामा क्रियाशील तुल्याउनुका पछाडि सो प्रदेशमा एमालेले आफ्नो साख कायम राख्ने अपेक्षा गरेको मान्नुपर्छ । त्यसो त संविधान जारी भएपछि पदाधिकारी तहका एमाले नेताहरू पहिलोपटक नै मधेसका आठ जिल्लामा क्रियाशील भएका हुन् । मधेस झरेका एमाले नेताहरूले मतदातालाई संविधानबारे बुझाउन र एमालेले मधेसका निम्ति गरेको योगदानबारे बताउन चाहनु स्वाभाविक हो । एमालेका नेताहरू एमालेमाथि लागेको मधेसविरोधीको छाप मेट्न पनि उत्तिकै तत्पर हुनुलाई राम्रो पक्षका रूपमा लिन सकिन्छ ।
संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र राप्रपालगायत दलले पनि प्रदेश नम्बर २ को चुनावमा आफ्नो राम्रै उपस्थिति जनाउन सक्रियता देखाइरहेका छन् । यद्यपि प्रमुख राजनीतिक दलहरू चुनावी अभियानमा क्रियाशील देखिए पनि असन्तुष्ट राजपाले भने अहिलेसम्म चुनावमा भाग लिने वा नलिने भन्नेबारे कुनै संकेत देखाएको छैन । अरू दलहरू प्रदेश नम्बर २ मा चुनावी प्रचारमा व्यस्त रहे पनि राजपाका नेताहरू भने काठमाडौंमै बसेर संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावमा नजाने पूर्ववत् अडानमै छन् । राजपाका वरिष्ठ नेता महन्थ ठाकुरदेखि तलका नेतासमेत काठमाडौंमा बसेर चुनावमा भाग लिनु ठीक हो वा होइन भनेर मन्थन गरिरहेका छन् ।
यद्यपि प्रदेश नम्बर २ मा चुनावी माहोल उत्कर्षमा पुगिसकेको हुँदा तोकिएकै मितिमा चुनाव हुनु अनिवार्य देखिन्छ । अहिलेसम्म कुनै टुंगोमा पुग्न नसकेको राजपाका निम्ति पनि चुनावमा भाग लिने वातावरण बनाउन उत्तिकै आवश्यक रहेको हुँदा राजनीतिक दलहरूले त्यस दिशातिर उपयुक्त कदम चाल्नु आवश्यक छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply