अग्राख नपलाओस्
देशका दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण प्रक्रिया क्रमशः परिधितिर धकेलिँदै जान थालेको हो कि ? यस्तो अन्योल र आशंका यतिबेला सर्वत्र व्याप्त हुँदै गइरहेको छ । निर्वाचनअघि र पछि पनि एमाले र माओवादी केन्द्रको नेतृत्व वर्गले यी दुई दलबीच एकीकरण हुनेमा आशंका नगर्न जनपंक्तिलाई विश्वास बाँड्दै नआएका होइनन् । तर, पछिल्लो समयावधिमा एकीकरण प्रक्रियामा दुवै दलको नेतृत्व तहबाट कुनै सकारात्मक पहल नथालिँदा र सतहमा अनेक कुराहरू उठ्न थालेपछि स्वाभाविक रूपमा आशंकाको बीजारोपण हुन पुगेका छन् । अझ, केही दिनयता त आशंका यतिसम्म झ्याँगिइसकेको छ, अब वामपन्थी शक्तिबीचको एकीकरण धेरै टाढाको विषयवस्तु हो ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन घोषणा भएपछि असोजको तेस्रो साता एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल मात्र भएन, चुनावलगत्तै एकीकरण गर्ने तहसम्मको सहमति कायम भयो । निश्चय नै, वामपन्थी शक्तिबीच तालमेल हुनुपर्ने पक्षमा वर्षौंदेखि उभिँदै आएको पंक्तिबीच यसले नौलो उत्साह सञ्चार ग¥यो । वामपन्थी शक्तिबीचको एकताको सपना देख्नेहरूलाई अब आफ्नो सपनाले साकार र मूर्तरूप लिन थालेको गहन आभास पनि हुन पुग्यो । दुवै दलको नेतृत्व तहले देशका दुई ठूला वामपन्थी दलबीच एकीकरण अपरिहार्य भएको उठान गर्दै मुलुकलाई समृद्धिको दिशातिर डो¥याउने संकल्पबोध गर्दा त्यसलाई जनपंक्तिले सहज रूपमा पत्याए र अबका दिन वामपन्थीहरूकै हो भन्ने विश्वाससमेत उनीहरूमा आर्जन हुन पुग्यो ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमाले पहिलो शक्तिको रूपमा उदाउनु र माओवादी केन्द्र तेस्रो स्थानमा रहे पनि शक्तिशाली दलका रूपमा उभिनुमा वामपन्थी शक्तिबीचको चुनावी तालमेल नै सहायक भूमिकामा रहेको कुरालाई नकार्न सकिँदैन । अझ, जनपंक्तिमा उत्साह थप्ने अर्को पक्ष त यी दुई दलबीच एकीकरण हुँदै छ भन्ने गहन सन्देशलाई पनि मान्नुपर्ने हुन्छ । दुई ठूला वामपन्थी दलबीच भएको चुनावी तालमेलले उत्साह, उमंग र विश्वासमा रमाएका जनपंक्ति पार्टी एकीकरण हुने प्रसंगले झनै पुलकित बने र देशमा एकपटक वामपन्थीहरूको सरकार र तिनीहरूको काम हेर्ने लालसा पनि स्वाभाविक रूपमा जनतामा देखियो । निर्वाचनमा एमाले र माओवादी केन्द्रले जुन अपार सफलता प्राप्त गरे, त्यस सफलताको पृष्ठभूमिमा चुनावी तालमेल र एकीकरणले उब्जाएको तरंगले अहं भूमिका निर्वाह गरेको पक्षलाई बिर्सन सकिँदैन÷मिल्दैन ।
निर्वाचन सकिएको धेरै दिन बितिसक्दा पनि अन्योलग्रस्त राजनीतिक स्थितिका कारण वामपन्थीहरूको नेतृत्वमा तत्काल सरकार गठन हुने सम्भावना टाढिँदै छ । राष्ट्रिय सभाको गठनसम्बन्धी विधेयकलाई लिएर नेपाली कांग्रेसले निकालेको बखेडाका कारण देश अन्योल र गतिहीनताको दिशातिर उन्मुख हुँदै छ । बहुमतीय र एकल संक्रमणीयको विवादमा प्रमुख राजनीतिक दलहरू अल्झिँदा राष्ट्रिय सभासम्बन्धी विधेयक अगाडि बढ्न सकेको छैन । यही प्रकरणमा राष्ट्रपतिलाई विवादमा तान्ने प्रयत्न पनि चलिरहेको छ । निर्वाचनपछि राष्ट्रिय दलको मान्यता पाएका पाँच राजनीतिक दलहरूले नै विवादलाई निप्ट्याउनुपर्ने हो तर अहिलेसम्म भएका प्रयत्नहरू सार्थक देखिएका छैनन् । तत्काल सत्ता नछाड्ने मनशायस्वरूप कांग्रेसले निकालेको बखेडामा मुलुक बन्दी बन्न पुगेको छ ।
राजनीतिक तहमा निकासको बिन्दु फेला नपारिरहेको यो समय एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया कहिलेबाट सुरु हुने होला ? भन्ने प्रश्न पनि गहन रूपमा उठ्न पुगेको छ । किनकि, बहुसंख्यक नेपाली जनताले भर्खरै सम्पन्न निर्वाचनमा यी दुई दलबीच चुनावपछि पार्टी एकीकरण होला, देश निर्माणमा मिलिजुली काम गर्ला र देशले विकास र समृद्धिको सही बाटो पहिल्याउला भन्ने अपेक्षा सँगाल्दै मत सुम्पिएका थिए । जनताले वाम गठबन्धनकारी दललाई विश्वास गर्नुको पछाडि अरू केही कारण थिएनन्, मात्र देशमा राजनीतिक स्थिरता कायम होला, आर्थिक समृद्धिको खाका कोर्न वामपन्थी दलहरू सक्षम होलान् र देशले कायापलट फेर्ला भन्ने नै थियो । एमाले र माओवादी केन्द्रका स्थानीय तहका कार्यकर्ताहरूले पनि निर्वाचनपछि दुवै पार्टी एक होला र आगामी दिनमा मिलिजुली देशको विकास र निर्माणमा भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचेर वाम गठबन्धनको पक्षमा लहर ल्याउन क्रियाशील देखिएका थिए ।
एमाले र माओवादी केन्द्रबीच हतारमा पार्टी एकीकरण हुनुलाई उचित मान्न सकिँदैन । हतारमा एकीकरण हुँदा त्यसले झनै समस्याहरू निम्त्याउँछन् । तर, एकीकरण प्रक्रिया ढिलाइ हुँदा पनि कतै यी दुई दलबीच एकीकरण नहुने हो कि भन्ने आशंका पनि त्यत्तिकै उठ्न थालेका छन् । अझ, यी दुई दलबीच एकीकरण हुन नदिन देशी–विदेशी शक्तिहरू पनि चलखेल गर्न थालेका छन् । वाम गठबन्धन र एकीकरण नरुचाउने देशीविदेशी शक्तिहरूको चलखेल बढ्दै गयो भने एकीकरण प्रक्रिया झनै जटिल बन्दै जाने सम्भावना पनि उत्तिकै छ । तसर्थ, हतारमा एकीकरण गर्नुभन्दा पनि जनताको भावनालाई सम्बोधन गर्दै एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको प्रक्रियालाई सुरुवात गर्न अनिवार्य देखिएको छ । यसमा जति ढिलाइ हुँदै जान्छ, त्यति नै एकीकरणविरोधी शक्तिहरू चल्मलाउँछन्, एकीकरणका निम्ति बाधाहरू तेर्सिन्छन् । रात रहे अग्राख पलाउने कथनलाई मेटाउनतिर एमाले र माओवादीको नेतृत्व तह क्रियाशील हुनैपर्छ । अरू विकल्प देखिँदैन ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply