राष्ट्रिय लज्जाको पराकाष्ठा
अबको पाँच वर्षसम्म सत्ताको मुख देख्न नपाउने भएपछि जसरी भए पनि सत्ताको आयु लम्ब्याउन क्रियाशील नेपाली कांग्रेस नेतृत्वको सरकारको आँखा जाजरकोट र तराई–मधेसतिर सोझिन सकेको छैन । सत्ता लम्ब्याउने खेलमै निमग्न कांग्रेस सरकारले दूर ग्रामीण बस्ती जाजरकोटमा महामारी फैलिएर अकालमा नागरिकहरूले मृत्युवरण गरे पनि तराई–मधेसमा चिसो र शीतलहरका कारण ज्यान गुमाउनेहरूको संख्या दिनहुँ बढे पनि सरकारले त्यतातिर चासो देखाइरहेको छैन । महामारी र शीतलहरको कहरमा परेका जनताप्रति राज्यले उपेक्षा भाव दर्साउनु निश्चय नै दुःखलाग्दो कुरा हो र यसले देशमा सरकार छ कि छैन भन्ने गहिरो आशंकासमेत उब्जाउँछ ।
यतिबेला तराई–मधेसको जनजीवन शीतलहरले अस्तव्यस्त बन्न पुगेको छ । बढ्दो चिसो र शीतलहरका कारण मधेसका विपन्न समुदायका मानिसहरू चर्को मारमा परेका छन् । शीतलहरकै कारण अहिलेसम्म तीन दर्जनभन्दा बढी नागरिकले जीवन गुमाइसकेका छन् । सरकारले शीतलहर–पीडित मधेसका जनतालाई राहत दिने घोषणा गरे पनि त्यसले प्रभावित जनतासम्म अझै पुग्न सकेको छैन । काठमाडौंमा राहतको घोषणा भएको धेरै दिन बितिसक्यो, तर मधेसका देहाती इलाकाहरूमा भने शीतलहरले कठ्यांग्रिएर मृत्यु हुनेहरूको संख्या दिनानुदिन थपिँदै छ । खासगरी २ नम्बर प्रदेशका अधिकांश ठाउँका जनता शीतलहरको कहरसँग जुझ्न र मृत्युलाई अँगाल्न बाध्य छन् । शीतलहरले मृत्यु हुनेहरूको संख्या दिनहँु बढिरहे पनि सरकार भने मूकदर्शक बनेर बसिरहेको छ ।
सरकार आफ्नो दायित्व र कर्तव्यबाट च्यूत त भएको छ नै, हिजो स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाता रिझाउन र आफ्नो पक्षमा मत तान्न क्रियाशील राजनीतिक दलहरू पनि शीतलहरले गाँजेका मधेसका जनतासामु पुगिरहेका छैनन्, पीडितहरूलाई राहत मिल्ने गरी कुनै ठोस कदम चालिरहेका छैनन् । निर्वाचनका बेला जनताको मत तान्न टोलटोल, घरघर पुगेर मधेस आन्दोलनका क्रममा मारिएकाहरूको बीभत्स तस्बिर अंकित पोस्टर टाँस्ने र मधेस आन्दोलनका क्रममा राज्यले गरेको दमनका भिडियो प्रदर्शन गर्ने मधेसी दलहरूले पनि शीतलहरबाट पीडित जनतालाई राहत दिन चासो देखाइरहेका छैनन् । आफूलाई मधेसी जनताको मसिहा ठान्ने मधेसी दलहरूको मुखुन्डो अहिले एकाएक उघ्रिन पुगेको छ र ती दलहरू भोटका लागि मात्र राजनीति गरिरहेका छन् भन्ने कुराको स्वतः पुष्टि हुन पुगेको छ । यो निश्चय नै दुःखलाग्दो र भत्र्सना गर्न लायक कार्य हो ।
शीतलहरले थिल्थिलो तुल्याएको मधेसका जनताका निम्ति नागरिक समाजका केही अनुहार भने ‘भगवान्’ साबित भएका छन् । विगत केही वर्षयता सामाजिक कार्यहरूमा सक्रियता देखाउँदै आएको धुर्मुस–सुन्तली फाउन्डेसनले केही हदसम्म शीतलहर–पीडित जनताको पीडामा मलम लगाउने कार्य गरेको छ । कलाकारहरू धुर्मुस र सुन्तलीले मधेसका विपन्न, दलित समुदायबीच पुगेर लुगाफाटा बाँड्ने कार्य गरेर आफ्नो समाजसेवी चरित्रलाई झनै सुन्दर तुल्याएका छन् । धुर्मुस–सुन्तलीको तहसम्म पनि सरकार, राजनीतिक दल र मधेसलाई आफ्नो राजनीतिको मूल आधार मान्दै आएका मधेसी दलहरूले काम गर्न नचाहनु धेरै नै पीडादायी पक्ष हो ।
मधेसलाई शीतलहरले कठ्यांग्रिँदो बनाउँदै लगेका बेला दूर ग्रामीण बस्ती जाजरकोटका पीडा पनि कम छैन । जाजरकोटमा फैलिएको महामारीका कारण अहिलेसम्म १३ जना नागरिकले ज्यान गुमाइसकेका छन् । दूर इलाका भएका कारण जाजरकोटका बासिन्दा वर्षौंदेखि स्वास्थ्य सुविधाबाट वञ्चित रहँदै आएका छन् । सिटामोलसमेत नपाएर जाजरकोटका बासिन्दाले मृत्यु रोज्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीहरू त छन् तर जनस्वास्थ्यकर्मी नभेटिने अवस्था उस्तै कहालीलाग्दो छ । स्वास्थ्य सेवा र सुविधाबाट पहुँचबाट कोसौं दूर रहेका जाजरकोटका ग्रामीण भेगका बासिन्दाहरूले हरेक वर्ष महामारीको सामना गर्नुपर्ने र अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था ज्यूँका त्यूँ छ । तर, जाजरकोटका बासिन्दाहरू महामारीका कारण मृत्युसँग सम्झौता गर्नुपरे पनि र सयौं बासिन्दा बिमारी हुनुपर्ने अवस्था सिर्जित भए पनि सरकारले समयमै स्वास्थ्य टोली पठाएर उपचारको प्रबन्ध गर्न चाहिरहेको छैन । खासगरी, चिसो मौसममा जाजरकोटका बासिन्दाहरू कठोर प्रकृतिका रोगसँग जुध्न र मृत्युवरण गर्न बाध्य हुन्छन् भन्ने कुरा सरकारलाई थाहा नभएको पनि होइन । तर, सरकारले सजगता नपनाउँदा जाजरकोटवासीले अकालमा मृत्युलाई रोजिरहेका छन् । राज्यको असंवेदनशीलताको उजागर जाजरकोटको महामारी र अकालमा मृत्यु अँगालिरहेका जनताबाटै हुन्छ । यो झनै कहालीलाग्दो पक्ष हो ।
जनताको पीडा, कष्ट र समस्याप्रति सरकार उदासीन हुन सुहाउँदैन । तर, देशका विभिन्न भूभागका जनता प्राकृतिक प्रकोपका कारण मृत्युसँग सम्झौता गरिरहेका छन् । कैयौं जनता कष्टप्रद जीवन बिताउन बाध्य छन् । तर, कांग्रेस नेतृत्वको सरकार भने जनताको कष्टप्रति संवेदनशील हुनै छाडेको छ र जसरी भए पनि सत्ताको आयु लम्ब्याउने ध्याउन्नमै छ । यो राष्ट्रकै निम्ति लज्जास्पद कुरा हो ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply