तीन दर्जन नेता मन्त्रीको दौडमा
काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रसँगको सहमतिमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री केपी ओली छन् । एकता घोषणा सम्पन्न नभइसके पनि एकीकरणको सहमतिपत्रमा हस्ताक्षर भइसकेकाले अब नेपाल कम्युनिस्ट पार्टीको नामबाट मन्त्रीहरू सहभागी हुनेछन् ।
संंविधानअनुसार २५ सदस्यसम्म मन्त्रिपरिषद् गठन गर्न मिल्छ । तर, १५ वटा मात्र मन्त्रालय रहेकाले बाँकीलाई बिनाविभागीय या राज्यमन्त्री बनाएर प्रादेशिक, लैंगिक, जातीय र पार्टीभित्रको शक्तिसन्तुलन मिलाउने पक्षमा ओली देखिएका छन् ।
अहिलेसम्म एमालेबाट उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण विष्ट मन्त्री बन्ने चर्चामा छन् । योग्यता, क्षमता, प्रादेशिक र समावेशितालगायतका सन्तुलन मिलाएर मन्त्रीहरूको नाम छनोट हुन सक्ने एक शीर्ष नेताले बताए । स्रोतका अनुसार महासचिव पोखरेलले यसपटक अर्थ, परराष्ट्र या गृहमध्ये एक मन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने सम्भावना छ । ३ फागुनमा प्रधानमन्त्रीको शपथग्रहण समारोहमा पक्का मन्त्री बन्ने मानसिकताका साथ महासचिव पोखरेल दौरा–सरुवालको औपचारिक पोशाकमा राष्ट्रपति कार्यालय, शितलनिवास पुगेका थिए ।
त्यस्तै, उपमहासचिव पौडेल, सचिव ज्ञवाली र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमध्ये एक अर्थमन्त्री बन्ने चर्चामा छन् । पौडेल र पाण्डे दुवैले सफल अर्थमन्त्रीको छवि बनाइसकेका छन् । दुवै जना एउटै प्रदेशका भएका कारण यी दुईमध्ये एक प्रधानमन्त्रीको रोजाइमा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । तर, पार्टी स्थायी समितिमा अहिलेसम्ममन्त्री बन्ने अवसर नपाएका सचिव भट्टराईलाई राम्रो मन्त्रालयसहित जिम्मेवारी दिनैपर्ने दबाबमा प्रधानमन्त्री ओली छन् । पार्टीभित्र बलियो सांगठनिक पकड, युवामाझ लोकप्रिय नेता भट्टराईलाई ताप्लेजुङमै पुगेर ओलीले जिताएर पठाएपछि मन्त्री बनाउने सार्वजनिक घोषणा गरेका थिए ।
प्रदेश १ बाट भानुभक्त ढकाल र यज्ञराज सुनुवार मन्त्रीको लाइनमा छन् । मोरङ–३ बाट निर्वाचित ढकाल एमालेभित्र मन्त्री बन्ने अवसर नपाएका प्रभावशाली नेता हुन् भने सुनुवार ओखलढुंगामा दुईदुई पटक कांग्रेसको गढ भत्काएर निर्वाचित चर्चित सांसद हुन् । तर, एउटै प्रदेशबाट सचिव भट्टराईको पनि बलियो सम्भावना रहेको र लोकप्रिय नेता लालबाबु पण्डितलाई मन्त्री बनाइएकाले अन्तिममा कसको भाग्य चम्किन्छ यसै भन्न सकिने स्थिति नरहेको बताइन्छ ।
उता, प्रदेश नम्बर २ बाट निर्वाचित दुई जनामध्ये रघुवीर महासेठको नाम मन्त्री बन्ने सूचीमा बढी चर्चा छ । तर, राष्ट्रिय सभामा निर्वाचित सप्तरीका सुमन प्याकुरेलले पनि मन्त्रीका लागि इच्छा देखाएका छन् । प्रदेश ३ बाट काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटा, सिन्धुलीबाट गणेशकुमार पहाडी, सिन्धुपाल्चोकबाट निर्वाचित शेरबहादुर तामाङ र दोलखाका पार्वत गुरुङ मन्त्रीको चर्चामा छन् । त्यस्तै, काठमाडौंबाट निर्वाचित केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ र रामवीर मानन्धर पनि मन्त्री बन्ने सूचीको अग्रपंक्तिमा छन् ।
चार नम्बर प्रदेशबाट कास्कीबाट निर्वाचित युवानेता रवीन्द्र अधिकारी मन्त्रीको स्वाभाविक चर्चामा छन् । तेस्रोपटक निर्वाचित उनलाई सहरी विकासमन्त्री बनाउने चर्चा छ । यद्यपि, कास्कीबाटै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी, स्याङ्जाबाट निर्वाचित पद्मा अर्यालको पनि मन्त्री बन्ने चर्चा छ । अर्याल महिला कोटामा पर्ने सम्भावना भए पनि पोलिटब्युरो सदस्य बिन्दा पाण्डे र झापाबाट निर्वाचित पवित्रा खरेल पनि चर्चामा छन् । त्यस्तै, दलित कोटाबाट रूपन्देहीका छविलाल विश्वकर्मा र कास्कीबाट निर्वाचित पोलिटब्युरो सदस्य जगत् विश्वकर्मा प्रतिस्पर्धामा छन् । थारूबाट मन्त्री बन्न आरजु देउवालाई हराएका नारदमुनि रानाको नाम पनि अघि आएको छ ।
उता, प्रदेश ६ बाट डोल्पाबाट दोस्रोपटक निर्वाचित धनबहादुर बुढा, सुर्खेतका नवराज रावत चर्चामा छन् । प्रदेश ७ बाट डोटीबाट निर्वाचित प्रेम आले, दार्चुलाबाट निर्वाचित गणेशसिंह ठगुन्ना चर्चामा छन् । ५ नम्बर प्रदेशबाट भने एमालेका पदाधिकारी नेताहरू नै प्रतिस्पर्धामा छन् ।
माओवादीले बादलको नेतृत्वमा पठाउने तयारी
माओवादी केन्द्रले एमालेसँग मन्त्रालयको भागबन्डा टुंगो लागेपछि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने गरी पार्टीका तर्फबाट रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको छलफलमा बादलले उपप्रधानमन्त्रीसहित गृह, अर्थ या परराष्ट्रमध्ये एक मन्त्रालय पाउने गरी मन्त्रीहरू सरकारमा पठाउने तयारी भइरहेको जानकारी दिएका छन् । १५ मन्त्रालयमध्ये एमालेले बढिमा १० र माओवादीले ६ ओटा लिने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।
माओवादीबाट अहिलेसम्म जनाद्र्धन शर्मा, पम्फा भुषाल, मातृका यादव, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, देवप्रसाद गुरुङ, लेखराज भट्टलगायत मन्त्री बन्ने अग्रपंक्तिमा छन् । यद्यपि शक्तिबहादुर बस्नेत, प्रभु शाहले पनि दौड तीव्र बनाएका छन् । तर, पार्टी एकतामा अध्यक्षबाटै शंकास्पद भूमिका खेलेको आरोप खेपिरहेका वर्षमान पुन यसपटक मन्त्री नबन्ने निश्चितजस्तै छ । त्यस्तै, माओवादी शान्ति प्रक्रियामा आएदेखि नै चारपटकभन्दा बढी मन्त्री भइसकेका कृष्णबहादुर महरा पनि यसपटक अध्यक्ष प्रचण्डको प्राथमिकतामा परेका छैनन् । बरु, उनले बुहारी बिना मगरलाई मन्त्री बनाउन चाहेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply