प्रतिपक्षको भूमिका
बहुदलीय व्यवस्था पुनःस्थापना भएयताका करिब तीन दशकको अवधिमा लामो समय सत्ताको तालाचाबी लिएको नेपाली कांग्रेस यतिबेला भने प्रमुख प्रतिपक्षीको भूमिकामा उभिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणामले कांग्रेसलाई प्रतिपक्षको भूमिका सीमित तुल्याइदिएको छ । र, जनमतले अबको पाँच वर्षसम्म वाम गठबन्धनलाई सरकार चलाउने म्यान्डेट दिएर देशमा सुशासन, स्थिरता र समृद्धिका मार्गचित्र कोर्ने अभिभारा पनि सुम्पिएको छ । जनताको यस्तो सुझबुझपूर्ण निर्णय र विवेकलाई अब कांग्रेसले स्विकार्नुको विकल्प देखिँदैन र वाम गठबन्धनमा सामेल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले जनअपेक्षालाई पूर्ण गर्नतिर ध्यान दिनैपर्ने परिस्थिति सिर्जना हुन पुगेको छ ।
लामो समय सत्ताको स्वाद चाखेको र सत्तामा ढलिमली चलाएको कांग्रेसका निम्ति प्रतिपक्षमा खुम्चिनु स्वीकार्य विषय होइन । तर, अहिले भने कांग्रेस बाध्यताको बन्दी बन्न पुगेको छ । किनकि, जनताको अभिमतलाई स्विकार्न हरेक राजनीतिक शक्ति बाध्य हुनैपर्छ । जनताको निर्णयभन्दा ठूलो अरू केही नहुँदो रहेछ भन्ने यथार्थ स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणामले पस्किसकेको छ र अब जनताले सुम्पेको भूमिकालाई शिरोधार्य गर्दै त्यसलाई निर्वाह गर्ने कार्यतिर हरेक राजनीतिक शक्तिले तनमन दिनु अनिवार्य देखिन्छ ।
तर, प्रतिपक्षमा खुम्चिनुपर्दाको पीडा र छटपटी बिस्तारै कांग्रेसका नेताहरूमा उजागर हुन थालेका छन् । जनताको म्यान्डेटलाई कुल्चिने साहस कांग्रेसका नेतृत्व गणमा नभए पनि वाम गठबन्धनरूपी सरकारविरुद्ध उभिने संकेत दिन थालिसकेका छन् । सरकारले चालेका कदमविरुद्ध उभिने संकेत कांग्रेस नेतृत्वले दिनु कति स्वाभाविक र सान्दर्भिक छ ? त्यो समीक्षाको विषय बन्न सक्छ । तर, सत्ताबाट बाहिरिनुपर्दाको छटपटीले भने कांग्रेसलाई च्याप्दै लगिरहेको छ र त्यसका विदु्रप रूपहरू उजागर हुन थालिरहेका छन् ।
कांग्रेसले अब प्रतिपक्षको कुर्सीमा रहेर रचनात्मक आलोचकको भूमिका निर्वाह गर्नुको विकल्प देखिँदैन । हुन पनि प्रतिपक्षले रचनात्मक भूमिका नै निर्वाह गर्ने हो । सत्तापक्षले शक्तिको आडमा गलत र जनविरोधी निर्णयहरू गर्न सक्छन् र त्यस दिशातिर कदम चाल्न पनि सक्छन् । एउटा असल प्रतिपक्षले सत्ता पक्षका गलत क्रियाकलाप र चरित्रविरुद्ध आफूलाई उभ्याउन सक्नुपर्छ । आखिर, जनताले मूल्यांकन गर्ने विषय पनि हो त्यो । प्रतिपक्षले रचनात्मक रूपमा आफूलाई उभ्याएको छ कि ध्वंसात्मक गतिविधिमा सामेल भएको छ भन्ने निक्र्योल जनताले गर्ने नै छन् ।
हुन त प्रतिपक्षमा रहनुपर्दा यतिबेला सिंगो कांग्रेस नै हतप्रभ देखिन्छ । र, संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच निर्वाचनमा पराजय हुनुका ठोस कारणहरू केलाउनुभन्दा पनि आरोपप्रत्यारोपका शृंखलाहरू चलिरहेका छन् । असन्तुष्ट पक्षले नेतृत्वको कमजोरीका कारण निर्वाचनमा शर्मनाक पराजय भोग्नुपरेको विश्लेषण मात्र निकालेको छैन, नेतृत्वले आफ्नो कमजोरी स्विकारेर नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवाजसमेत उठ्न थालेको छ । यद्यपि, पुरातन सोच र मानसिकताबाट माथि नउठिसकेको र सत्ताको स्वादमा भुल्ने बानी परिसकेको कांग्रेसको नेतृत्वले तत्काल नेतृत्व अरूलाई नै हस्तान्तरण गर्ने सम्भावना त देखिँदैन । तर, नेतृत्वप्रति तिखा तीर सोझ्याउने पुस्ता कांग्रेसभित्र पैदा भइसकेको छ र त्यसले नेतृत्वको कमजोरीलाई आँखा चिम्लेर बस्ने सम्भावनाको भने अब अन्त्य भएको छ । यो कांग्रेसलाई सुधार्ने आशय राख्ने र सुध्रियोस् भन्ने चाहना राख्ने पंक्तिका निम्ति पनि सुखद खबरचाहिँ पक्कै हो ।
कांग्रेसका नेताहरूमा सद्बुद्धि पलाउँछ भने अबको पाँच वर्ष वाम गठबन्धनलाई काम गर्न दिनुपर्छ । किनकि, यो जनताको चाहना हो । जनताको चाहनालाई आत्मसात् गरेर कांग्रेसले केवल रचनात्मक प्रतिपक्षको भूमिकामा आफूलाई सशक्त रूपले उभ्याई वाम गठबन्धनलाई देशको विकास र समृद्धिमा अग्रसर हुने मौका दिनुपर्छ । लामो समयसम्म आफू सत्तामा रहँदा के–कस्ता गल्तीहरू भए, कुशासनका के–कस्ता नमुनाहरू प्रदर्शित भए ? त्यसको लेखाजोखा गरेर पाँच वर्षको अवधिमा आफूलाई सुधार्ने काम पनि कांग्रेसले यही अवधिमा गर्दा त्यो उसका निम्ति उत्पादक साबित हुनेमा द्विविधा देखिँदैन ।
सत्ताच्यूत हुनुको पीडाबोध सत्तामा लामो समय हालीमुहाली चलाएका शक्तिहरूलाई हुनु स्वाभाविकै हो । कांग्रेसका नेताहरूमा पनि त्यस्तो पीडाबोध व्याप्त हुनुलाई अन्यथा मान्न सकिँदैन । तर, कांग्रेसका नेताहरूले अबको पाँच वर्षसम्म धैर्य गर्ने शक्ति आफूभित्र विकास गर्नैपर्छ । किनकि, जनताको म्यान्डेटलाई नाघेर र कुल्चने सामथ्र्य कुनै पनि राजनीतिक शक्तिले राख्द सक्दैन र यदि कुनै शक्तिले त्यसो गर्छ भने त्यो प्रत्युत्पादक मात्र साबित हुनेछ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply