फराकिलो सोचको अभाव
गोेयबल्स शैलीमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यथोचित जवाफ दिन थालेका छन् । सरकार गठन हुनुपूर्व र गठन भइसकेयता नेपाली कांग्रेसले एउटै प्रलाप गर्दै आएको छ, सरकारले अधिनायकवादतिर पाइला चाल्यो । अझ, कांग्रेसका सभापति शेरबहादुर देउवाले त प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको बेलामा त यही कथनलाई चुनावी मुद्दासमेत बनाएका थिए । प्रदेश र प्रतिनिधिसभाको चुनावमा वामपन्थी शक्ति एकै थलोमा उभिएपछि तिल्मिलाएको कांग्रेस नेतृत्वले अधिनायकवाद जन्मिने हौवा पिटाएर वामपन्थीहरूप्रति वितृष्णा पैदा गराउने अभियान नै थालेका थिए । तर, निर्वाचन परिणामले वामपन्थी शक्तिलाई नै पहिलो र शक्तिशाली दलका रूपमा मान्यता थियो र कांग्रेस नेतृत्वले फैलाएको अधिनायकवादको हौवालाई जनताले विश्वासिलो नजरले हेर्न चाहेनन् ।
सरकारले गतिशील पाइला चाल्ने प्रयत्न गर्दै छ । सरकार बनेयता प्रधानमन्त्री ओलीको दक्षिण र उत्तरी छिमेकको सफलतापूर्वक भ्रमणपछि दुवै छिमेकसँगको सम्बन्धमा नयाँ आयाम कोरिन पुगेको छ । दुवै छिमेकीसँग सम्बन्धमा देखिएको सुमधुरता, विश्वास र विस्तारसँगै नेपालको विकासका लागि दीर्घकालीन महŒव राख्ने केही खुट्किला पनि कोरिएका छन् । भारत र चीनसँग रेल्वे सम्झौता भएपछि प्रधानमन्त्री ओली स्वयं उत्साहित देखिएका छन् र ती दुवै देशबाट काठमाडौंसम्म रेल आउने सम्भावना बढेको छ । निर्वाचनको बेला प्रधानमन्त्री ओलीले रेल ल्याउने कुरा निकाल्दा हाँसेर उडाउने जमातलाई काठमाडौं–केरुङ रेलमार्गको सम्झौता र त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सम्पन्न रक्सौल–काठमाडौं रेलमार्ग सम्झौताले ढिलो–चाँडो दुवै देशसँग नेपालको रेल्वे सञ्जाल जोडिने निश्चित भएको छ ।
दुवै देशबाट काठमाडौंसम्म रेल आउनेबित्तिकै समृद्धि हुने अपेक्षा राख्नु किमार्थ उचित नहोला । कतिपयले रेल र समृद्धिलाई एउटै टोकरीमा राखेर मूल्यांकन गर्ने गरेका छन् । यद्यपि, आर्थिक व्यवस्था सुदृढ रहेका दुई छिमेकीसँग रेल्वे सञ्जालसँग जोडिँदा त्यसले समृद्धिका खुट्किलाहरूलाई अझ मजबुत बनाउन निश्चित रूपमा सहयोग पु¥याउनेमा कुनै द्विविधा देखिँदैन । पछिल्लो एक तथ्यांकअनुसार नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूको संख्या बर्सेनि बढ्दो छ । पर्यटकहरूका लागि लोभ्याउने थलो चीनमै भए पनि नेपाल आउने क्रम भने बिस्तारै बढिरहेको छ । अझ रेल सञ्जालसँग दुवै देश जोडिएको अवस्थामा चिनियाँ पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि हुनेमा आशंका छैन । भारतीय नागरिकहरू नेपालमा तीर्थस्थलहरूमा घुम्न जसरी ओइरिने गर्दछन्, त्यो यातायातको सुगमताकै कारणले गर्दा हो । र, चिनियाँ नागरिकहरू पनि यातायातको सहजता भएको खण्डमा नेपाल घुम्न आउनेमा शंका छैन । देशमा पर्यटकहरू ओइरिँदा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने र समृद्धिका बाटाहरू पनि फराकिला हुने आधार जन्मिन्छन् ।
जनताको अपेक्षालाई सम्बोधन गर्ने कार्यमा प्रधानमन्त्री ओली नेतृत्वको वामपन्थी–बाहुल्य सरकार लागिपरेको छ । अर्थतन्त्रलाई सुदृढ र मजबुत तुल्याउँदै विकासका कार्यहरू गर्न सरकार उद्यत देखिएको छ । सुशासन कायम गर्ने दिशामा पनि सरकारले एकपछि अर्को कदम चाल्दै गइरहेको छ । राजनीतिक, सामाजिक, आर्थिकलगायत क्षेत्रमा देखिएको अराजकतालाई मेट्दै थिति बसाल्ने प्रक्रियामा पनि सरकारको ध्यान केन्द्रित हुँदै गइरहेको छ । हरेक क्षेत्र र तप्कामा विगतदेखि जम्दै आएका कुँडाकर्कटहरूलाई फालेर शुद्धीकरण गर्ने अभियानमा पनि सरकारले तत्परता देखाइरहेको छ । आर्थिक समृद्धिका बाटामा हिँड्दा देखिएका काँडाहरूलाई पन्छाउन पनि सरकार उत्तिकै क्रियाशील ढंगले लागिपरेको छ । विगतका बेथितिहरूलाई पन्छाउन खोज्दा बेथितिलाई मलजल गर्ने शक्ति र व्यक्तिहरूका आकांक्षामा निश्चय नै ठेस लाग्न सक्छ । तर, सरकारले भने एकएक कदम गर्दै पाइला चालिरहेको अवस्था छ ।
तर, नेपाली कांग्रेसले भने प्रतिपक्षी दलले निर्वाह गर्नुपर्ने रचनात्मक र सार्थक भूमिकाबाट आफूलाई च्यूत तुल्याएर अधिनायकवाद ल्याउन खोजिरहेको, लोकतन्त्र धरापमा पर्दै गएकोजस्ता अफवाह फैलाएर भ्रम सिर्जना गर्ने कार्यमा अद्वितीयता हासिल गर्दै गइरहेको छ । तर, कांग्रेस नेतृत्वको गैरजिम्मेवार अभिव्यक्ति र अफवाहबाट भने प्रधानमन्त्री ओली नेतृत्वको सरकार रत्तिभर तिल्मिलाएको देखिँदैन । भ्रमको खेती गर्ने कांग्रेस नेतृत्वलाई अब प्रधानमन्त्री ओलीले सिधा जवाफ दिन थालेका छन् र आफूलाई मात्र लोकतन्त्रको पहरेदार बताउने कांग्रेस नेतृत्वप्रति कटाक्ष मात्र होइन, कांग्रेस नेतृत्वको अभिव्यक्तिमा कुनै दम नरहेको तर्कसमेत दिन थालेका छन् । हुन त प्रतिपक्षीहरूको काम सदैव नै सत्ता पक्षका छिद्रहरू खोजेर त्यसलाई कोट्याउनेमा मात्र केन्द्रित हुन्छ । तर, सत्ता पक्षले असल र राम्रो काम गरेको छ भने त्यसलाई स्वीकार गर्ने र प्रशंसा गर्ने फराकिलो छाती पनि कहिलेकाहीँ प्रतिपक्षीले देखाउन सक्नुपर्छ । यो सवालमा भने कांग्रेस चुक्दै गइरहेको छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply