रिमालको छायामा प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अनावश्यक आलोचना बढ्नुमा उनको सल्लाहकार समूह र स्वकीय सचिवालय बढी जिम्मेवार रहेको भन्दै नेकपाभित्र बारम्बार प्रश्न उठिरहेको छ । सल्लाहकार समूह र सचिवालयको कामको समीक्षा गर्नुको सट्टा प्रमुख सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यमा मात्र बढी भर पर्ने र विश्वास गर्ने गरेकाले प्रधानमन्त्री ओली झन् बढी आलोचित बन्दै गएको बताइन्छ । रिमालको भूमिकाबारे गत १२ गते सम्पन्न स्थायी समिति बैठकमा नेताहरूले गम्भीर प्रश्न उठाएका थिए । तर, कतिपय कमजोरी स्वीकार गर्नुको सट्टा उल्टै प्रधानमन्त्री ओलीको बचाउ गर्दै आक्रामक रूपमा प्रतिवादको शैलीमा प्रस्तुत भएपछि तपाईं भगवान् हो कि कम्युनिस्ट कार्यकर्ता भन्दै उनको ज्ञानको स्तरबारे समेत प्रश्न उठेको थियो । एक दैनिक पत्रिकाले लाखौं रुपैयाँ खाएर आफूविरुद्ध समाचार लेखेको रिमालले अभिव्यक्ति दिएपछि कतिपय नेता पेट मिचिमिची हाँसेका थिए । आलोचना भनेपछि सुन्नै नसक्ने, जिम्मेवार पदमा बसेर सामाजिक सञ्जालमा पार्टी नेताहरूको हुर्मत लिने रिमालको शैलीमाथि बारम्बार प्रश्न उठ्दै आएको छ । जनस्तरमा पहुँच नभएको, ‘टेक्नोक्रेट’ शैलीमा काम गर्ने रिमालले आफूलाई सबैतिर छाया प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
रिमालको कार्यशैलीप्रति सल्लाहकार समूहमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल असन्तुष्ट रहको बताइन्छ । भट्टराईसँग ठीकै सम्बन्ध भए पनि रिमालले सूचना प्रविधि विज्ञ अस्गर अलीको बाहेक कुरै नसुन्ने र उनकै योजनाअनुसार सबै काम गर्ने गरेको आरोप लाग्दै आएको छ । उनको कार्यशैलीबाट आजित भएका प्रेस सल्लाहकार डा. अर्यालको कार्यकक्षसमेत प्रधानमन्त्री कार्यालयबाट अन्तै सारिएको छ । उनी अहिले ऊर्जा मन्त्रालयको भुइँतलाको कार्यकक्षमा छन् । प्रधानमन्त्रीसँग नजिक रहेर सूचनामा अपडेटेड भइरहनुपर्ने व्यक्तिलाई अर्कै मन्त्रालयमा कार्यकक्ष बनाएर सारिएपछि प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीदेखि तल्लो तहसम्मका कर्मचारी पनि तीनछक परेका छन् । अर्यालले मिडिया मालिक, सम्पादक, बिट रिपोर्टरहरूसँग राम्रो समन्वय गर्न नसकेको, मिडियाको कन्टेटबारे विश्लेषण गरेर उपयुक्त सुझावहरू प्रस्तुत गर्न नसकेको, सरकारको रणनीतिक प्रचारका कन्टेटहरू उत्पादन गरेर मिडियामा लैजान नसकेको रिमालले निकटस्थहरूसँग गुनासो पोख्दै आएका छन् । अर्यालले पनि रिमालकै कारण आफ्नो सिधा पहुँच नरहेको निरीहता कतिपय मिडियाका सम्पादकहरूसँग नै घुमाउरो तरिकाले पोख्ने गरेको स्रोतले जनाएको छ । त्यसो त उनी प्रधानमन्त्री ओलीको रुचिभन्दा पनि राष्ट्रपति विद्या भण्डारी, उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेललगायतको दबाबमा प्रेस सल्लाहकार नियुक्त भएका थिए । त्यसो त प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भए पनि प्रधानमन्त्री ओलीले सबैभन्दा बढी विश्वास राजेश बज्राचार्यलाई मात्र गर्दै आएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुख्यसचिवदेखि सचिवहरूलेसमेत बज्राचार्यको फोनलाई मात्र आधिकारिक ठानेर काम गर्ने गरेकाले गर्दा भण्डारीले आफ्नो अधिकार क्षेत्रमा धेरै असहजता महसुस गरेको स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply