धूमकेतुको नियति
धूमकेतुको चमक दीर्घकालीन हुँदैन । न त तारामण्डलका अरू सदस्यहरूजस्तै टिकाउयोग्य नै हुन्छ । उदाएको केही क्षणसम्म तेजिलो चमक छर्छ र त्यसपछि बिलाउँछ त्यसरी नै । नेपाली राजनीतिक वृत्तमा विवेकशील साझा पार्टीको उदय धूमकेतुभन्दा किमार्थ फरक रहेन । सो राजनीतिक दलले केही समय नेपाली राजनीतिक आकाशमा चमक छरे पनि अन्ततः बिलाउने दिशामा यात्रारत हुन पुगेको छ । नौ महिनाअघि विवेकशील र साझा दल मिलेर बनेको विवेकशील साझा पार्टी केही दिनअघि विभाजनको संघारमा उभिन पुगेको हो । आखिरमा दुई समूह बेग्लाबेग्लै चुलाचम्का जोड्न उद्यत देखिएका छन् ।
विवेकशील साझा दल एकतामा बाँधिँदा धेरैले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय हुन पुगेको कल्पना गरेका थिए । आखिर कल्पना गर्न नपाइने भन्ने हुँदैन । तत्कालीन नेकपा (माओवादी) बाट अलग्गिएर हिँडेका डा. बाबुराम भट्टराईले नयाँ शक्ति स्थापना गरेपछि कतिपयले डा. भट्टराईको नयाँ समूहलाई नेपाली राजनीतिमा वैकल्पिक शक्ति उदाएको लख काटेका थिए । तर, नयाँ शक्तिले गति पक्रन नसकेपछि र सो समूहका मानिसहरू एक–एक गर्दै आफ्नो मूलघरमा फर्किन थालेपछि डा. भट्टराईको समूह पन्छीहरूले छाडेर हिँडेको सुकेको वृक्षजस्तै बन्न पुग्यो । अझ स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नयाँ शक्तिले आशातीत सफलता पाउन नसकेपछि त सो समूहमा बसिरहन धेरै नेता–कार्यकर्ताले उचित ठानेनन्, डा. भट्टराईलाई पछ्याउँदा आफ्नो राजनीतिक भविष्य चौपट हुने ठानेर आ–आफ्नो बाटोतिर लागे ।
विवेकशील साझा पार्टीले भने अपेक्षाकृत रूपमा सहरिया मध्यम वर्गलाई समेट्न सफल भयो । काठमाडौंका केही अभिजात वर्गको पनि सो पार्टीलाई सहानुभूति रह्यो । खासगरी, कांग्रेस र कम्युनिस्टको राजनीतिक क्रियाकलापबाट असन्तुष्ट रहेका सहरिया अभिजात र मध्यम वर्गले विवेकशील साझालाई मन पराउनु स्वाभाविकै बन्यो । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका र अरू केही तहमा विवेकशीलले जुन अनुपातमा मत प्राप्त ग¥यो, त्यसले अबको वैकल्पिक शक्ति सोही दल हुने अनुमान लगाउन मुस्किल पर्दैनथ्यो । प्रदेश र संघीय निर्वाचनमा पनि विवेकशील र साझा दलले जुन सफलता प्राप्त ग¥यो, देशैभरि वामपन्थी शक्तिको पक्षमा लहर उर्लिंदासमेत काठमाडौंका केही निर्वाचन क्षेत्रमा सो दलका उम्मेदवारले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिने जुन हैसियत बनायो, त्यसले पनि नेपाली राजनीतिमा तेस्रो शक्तिका रूपमा विवेकशील पार्टी उदाउने अड्कल लगाउन थालिएको थियो । अझ, विवेकशील र साझा एकताको डोरीमा बाँधिएपछि त त्यो अझ सशक्त राजनीतिक शक्तिको रूपमा देखिने सम्भावनासमेत बढ्दै थियो ।
तर, विवेकशील र साझाका नेताहरूले आ–आफ्नै बाटो समातेका छन् । नेपाली राजनीतिमा देखिएको यो पछिल्लो विभाजनले के कुरा स्पष्ट संकेत गरेको छ भने, कुनै पनि राजनीतिक शक्ति दीर्घकालसम्म एकजुट भएर अघि बढ्न वैचारिक कुराले महŒवपूर्ण र निर्णायक भूमिका खेल्छ । देशको दुई ठूला कम्युनिस्ट शक्ति तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता हुनुमा वैचारिक निकटताले नै भूमिका खेलेकोमा कुनै दुईमत देखिँदैन । यी दुई पार्टीको हिँड्ने गोरेटा फरकफरक भए पनि वैचारिक रूपले भने एक थिए र अन्ततः एकताको सूत्रमा बाँधिन पुग्यो । तर, विवेकशील र साझा दलबीचको एकता भने वैचारिक निकटताका आधारमा भएको थिएन । किनभने, यी दुवै दलसँग कुनै स्पष्ट राजनीतिक विचारसमेत थिएन । विवेकशील र साझाबीचको एकता वैचारिक नभई व्यक्तिगत स्वार्थद्वारा प्रेरित थियो । अझ, यी दुई दलबीचको एकतामा नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रूपमा विकसित हुने हुटहुटीले धेरैभन्दा धेरै भूमिका खेलेको थियो ।
राजनीतिले गलत दिशा समात्दा, राजनीतिक दलहरू आफ्नो भूमिकाबाट च्यूत हुँदा सबभन्दा निरास र हतास युवावर्ग भएको थियो । अझ सहरिया युवावर्गमा त तीव्र आवेगले स्थान जमाएको हुन्छ र उनीहरू नयाँ र वैकल्पिक शक्तिको खोजीमा सदैव तल्लीन रहन्छन् । विवेकशील साझा दलले पनि विद्यमान राजनीतिक प्रक्रियाप्रति असन्तुष्ट सहरिया युवावर्गको भावना र उत्तेजनालाई भजाउने काम गरेको प्रस्टै थियो । सो दलले काठमाडौं उपत्यकाका जनताको जुन मत पायो, त्यो विद्यमान राजनीतिक प्रक्रियाप्रतिको असन्तोषको संकेत थियो । तर, राजनीति कसैको भावनालाई भजाउने विषय होइन, यो त नितान्त सैद्धान्तिक, वैचारिक विषय हो । सम्भवतः विवेकशील र साझाका नेताहरूले आफूलाई वैचारिक रूपले उन्नत तुल्याउने दिशामा एकता भएको समयदेखि नै पहल गरेको भए आज विभाजनको दुर्घटना बेहोर्नुपर्ने थिएन होला ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply