प्रधानन्यायाधीशको कोटामा शर्माको बाजी
काठमाडौं । न्यायाधीशको पदपूर्ति नहुँदा सर्वोच्च अदालतमा मुद्दा फस्र्यौटको संख्या तुलनात्मक रूपमा घट्दै गएका बेला हिजो मंगलबार न्यायपरिषद्ले पाँच न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको परिषद्को बैठकले सर्वाेच्च अदालतमा पाँचजना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।
उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश क्रमशः प्रकाश ढुंगाना र सुश्मालता माथेमा, डा. मनोजकुमार शर्मासहित पाँचजना सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् । त्यस्तै, पूर्वमहान्यायाधिवक्ता तथा अधिवक्ता हरिप्रसाद फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि न्यायाधीशमा सिफारिस भएका छन् । न्यायालयतर्फबाट वरीयताका आधारमा ढुंगाना र माथेमा नियुक्तिको सिफारिसमा परे पनि कानुन व्यवसायी समूहबाट नियुक्त भएका शर्माको नियुक्तिलाई भने न्यायिक क्षेत्रमै अस्वाभाविक रूपमा लिइएको छ ।
शर्मा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा नियुक्त भएका हुन् । भ्रष्टाचारका मुद्दा छिटो न्यायिक निरूपण गरेर सुशासनको अनुभूति दिलाउने संकेत गरेका कारण जबराको नेतृत्वकाललाई न्यायिक वृत्तमा सकारात्मक आशाका नजरले हेरिएको छ । न्याय क्षेत्रमा सुधार हुनेबित्तिकै लोकतान्त्रिक प्रक्रिया बलियो बनेर मुलुक सुशासन र समृद्धिको दिशामा अग्रसर हुने कुरामा दुईमत छैन । तर, जबराले खासै चर्चामा नरहेका कनिष्ठ तहका डा. शर्मालाई रोजेर किन न्यायाधीश बनाए भन्ने तथ्य भने धेरैका लागि चासोको विषय बनेको छ । त्यसो त जबराले शर्मालाई नियुक्त गरेर पुरानो गुन तिरेको बताइन्छ । पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश भएका बेला उनकै सिफारिसमा सर्वोच्चमा न्यायाधीशमा नियुक्ति हुने अवसर पाएकाले अहिले जबराले गुण तिर्न आफ्नो कोटामा खासै चर्चामा नरहेका कनिष्ठ डा. शर्मालाई सिफारिसमा पारेको बताइन्छ । डा. शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन् । जबराको पृष्ठभूमि केही नकारात्मक भए पनि न्यायिक क्षेत्रमा हुने गलत काममा कुनै सम्झौता नगर्ने सन्देश दिँदै आएका छन् । तर, आफूलाई गुन लगाउने र सहयोग गर्ने व्यक्तिलाई भने जबरा सम्झौतावादी बनेर भए पनि गुन तिर्ने स्वभावका छन् । त्यसैले पनि डा. शर्माले धेरै ठूलो अवसर पाएको चर्चा गर्ने गरिएको छ । न्यायाधीशमा सिफारिस भएका फुयाँल वाम र रेग्मी कांग्रेस पृष्ठभूमिका हुन् ।
त्यस्तै, मंगलबारकै बैठकले उच्च अदालतमा रिक्त रहेका २१ न्यायाधीशसमेतको नियुक्ति र पदस्थापन गरेको छ । परिषद्ले न्यायसेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायब महान्याधिवक्ता किरण पौडेल, सर्वाेच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय र सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको छ । पौडेललाई पाटन, उपाध्यायलार्ई पाटनकै हेटौंडा इजलास र ढकाललाई जनकपुरमा पदस्थापन गरिएको छ ।
यस्तै तत्कालीन पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीश निलम पौडेललाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापनसहित नियुक्त गरिएको छ । उता, पूर्व प्रधानन्यायाधीश रामकुमार शाहकी भतिजी रेणुका शाहले पनि न्यायाधीश बन्ने अवसर पाएको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply