कृत्रिम नहोस् एकता
दुई शक्तिशाली कम्युनिस्ट घटक नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको करिब डेढ वर्षपछि जिल्ला तहले नेतृत्व पाएको छ । पार्टीको जग मानिने जिल्ला तह नेतृत्वविहीन हुँदा अनेक समस्या र संशयहरू उत्पन्न भएका थिए । तर, एक साताअघि कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर जिल्लाहरूमा नेतृत्व चयन भएको छ । अब जिल्ला तहले पूर्णता पाउने, केन्द्रमा पोलिटब्युरो गठन हुने र पार्टीका अरू निकायहरू पुनजीर्वित हुने अपेक्षा पलाएको छ । गतिहीन नभए पनि खासै गतिशीलता पक्डिन नसकेको देशको ठूलो वामपन्थी शक्तिले अब भने आफ्नो सक्रियता देखाउने आशा पलाएको छ ।
नेपालको राजनीतिक परिदृश्यमा दुई ठूला कम्युनिस्ट घटकबीच ऐतिहासिक एकता भएको यो दोस्रो परिघटना हो । टुट, फुट र विभाजनका अजस्र पीडा झेल्दै आएको नेपालको कम्युनिस्ट पार्टीले २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलोपटक एकताको गहन सन्देश दिएको थियो । करिब तीन दशकअघिको त्यो परिघटना पछिल्लो पुस्ताको ‘नोटिस’ मा होला वा नहोला ? तर, तीस वर्षे लामो निरंकुश पञ्चायती शासन–सत्ताको अन्त्य भएपछि स्थापित बहुदलीय व्यवस्थापछिका दिनहरू नेपालका कम्युनिस्ट घटकहरूका निम्ति निश्चय नै अनुकूल थिएनन् । चौतर्फी प्रहार झेल्न बाध्य थिए, सबैजसो कम्युनिस्ट घटकहरू । विरोधीहरूले आक्षेप लगाउँथे, ‘कम्युनिस्टहरू दस चिरामा विभाजित छन्, यिनीहरू कहिल्यै मिल्न सक्दैनन् ।’ मूलतः पञ्चायती व्यवस्था स्थापनापछिका दिनहरूमा कम्युनिस्ट पार्टी छिन्नभिन्न भएर दर्जनौं समूहमा बाँडिएपछि ‘कम्युनिस्टहरू विभाजनमा रमाउने समूह हो’ भन्ने छाप सर्वत्र परेको थियो ।
अझ तत्कालीन समयमा वामपन्थी शक्तिले विश्वव्यापी रूपमै संकट झेलिरहेको थियो । सोभियत संघ विघटन हुन पुगेको थियो भने बर्लिनको पर्खाल ढलेको थियो । नेपालमा कम्युनिस्ट आन्दोलनको लहर उठ्न नदिन विरोधीहरू संसारका विभिन्न देशमा विघटन हुँदै गइरहेको कम्युनिस्ट सत्तालाई उदाहरण दिँदै आफ्नो राजनीतिक स्वार्थ र उद्देश्य पूर्ति गर्न प्रयत्नरत देखिन्थे । विश्वव्यापी रूपमै कम्युनिस्ट सत्ता ढल्दै गइरहेको हुँदा नेपालमा के प्रभाव पर्ला र भन्ने सोच बोकेर विरोधीहरू उभिएका थिए । विरोधीहरूको तर्कमा केही हदसम्म दम थियो पनि । तर, विश्वव्यापी रूपमै कम्युनिस्टमाथि भइरहेको प्रहार र नेपालमा पनि कम्युनिस्ट आन्दोलनलाई खुम्च्याउन र शिथिल तुल्याउन भइरहेका कुप्रयत्नहरूलाई चिर्न तत्कालीन समयमा नेकपा (माले) र माक्र्सवादीबीचको एकताले ठूलो र अहम् भूमिका खेल्यो ।
सौम्य र पाका नेता मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) र अपार नेतृत्व क्षमता भएका जननेता मदन भण्डारीले नेतृत्व गरेको नेकपा (माले) बीचको एकताले नेपाली कम्युनिस्ट आन्दोलनलाई अप्ठ्यारो समयमा पनि गति दिलाउन सघाउ पु¥यायो । त्यही एकताको प्रतिफलस्वरूप २०४८ सालको निर्वाचनमा नेकपा (एमाले) शक्तिशाली विपक्षी दलका रूपमा उभियो भने संसद्को तेस्रो शक्तिको रूपमा पनि कम्युनिस्ट घटक नै रह्यो ।
बहुदलीय व्यवस्था स्थापनापछि देशका दुई ठूला कम्युनिस्ट शक्तिबीच एकता भए पनि त्यसपछिका दिनमा कम्युनिस्ट आन्दोलनले विभाजनको पीडा नभोगेको होइन । कुनै समय त्यही शक्तिशाली पार्टी एमालेले नै विभाजनको तीतो पीडा झेल्नुप¥यो । एउटा शक्ति जनयुद्धमा थियो भने संसदीय राजनीतिमा रमाइरहेको अर्को शक्ति भने विभाजनको पीडाले आहत थियो । तर, समयान्तरमा एमाले फिनिक्स पन्छीझैं फेरि ब्युँझियो भने जनयुद्ध अँगालेर हिँडेको कम्युनिस्ट घटक पनि शान्ति प्रक्रियाको बाटोमा आइपुग्यो ।
डेढ वर्षअघि दुई ठूला कम्युनिस्ट घटकबीच एकता हुनुलाई नेपालको कम्युनिस्ट आन्दोलनको अर्को महŒवपूर्ण परिघटना मान्न सकिन्छ । पछिल्लो समय कम्युनिस्टमाथिको प्रहार झन तेजिलो बन्दै गएको थियो । हुन त कम्युनिस्ट शक्तिमाथि विरोधीहरूको प्रहार कहिल्यै रोकिएको घटना छैन । कम्युनिस्टहरूको प्रभाव र विस्तारलाई रोक्न जहिल्यै विरोधीहरूले झूटा लाञ्छना लगाउने, वैचारिक रूपमा प्रहार गर्ने र अनेक अफवाह फैलाउने कार्य गर्दै आएका छन् । कुनै छिद्र फेला प¥यो भने त्यसलाई तन्काउने काम त हुँदै आइरहेको छ नै, राम्रो काम गरे पनि भ्रम छर्ने कार्यमा विरोधीहरू अझै अगाडि नै छन् । यो सिलसिला आजपर्यन्त जारी छ ।
अहिले नेकपा देशकै ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ । सरकारको नेतृत्व पनि यही शक्तिले नै गरिरहेको छ । देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने संकल्पबोध गरेर आफ्नो लक्ष्यमा यात्रारत पनि छ । तर, नेकपाले एकतालाई अक्षुण्ण राख्न अझ धेरै प्रयत्न गर्न आवश्यक छ । २०४७ सालमा माले र माक्र्सवादीबीच एकता भएपछिका दिनहरूमा जति सहजता देखिएको थियो, त्यस्तै सहजता अहिलेको एकतापछि देखिनु आवश्यक छ । दुई वामपन्थी घटकबीच एकता भएको डेढ वर्ष बितिसकेको छ । तथापि, यो एकतालाई कृत्रिमताबाट बचाई यथार्थको धरातलमा परिणत गर्न अझै धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply