कांग्रेसको कन्तबिजोग
नेपाली कांग्रेस जनतालाई आफ्नो गथासो सुनाउन आतुर र व्यग्र थियो । देशमा प्रमुख प्रतिपक्षी दल छ कि छैन ? भन्ने कुरा थाहा पाउनबाट जनता वञ्चित रहेको बेला कांग्रेसले आफ्नो उपस्थिति देखाउन भए पनि केही न केही गर्नैपर्ने थियो । राष्ट्रिय जनजागरण अभियान त्यसकै एउटा कडी थियो । तर, केही दिनअघि सम्पन्न कांग्रेसको राष्ट्रिय जनजागरण अभियान अपेक्षाकृत रूपमा फितलो साबित हुन पुग्यो । जनजागरण अभियानमा देखिएको जनताको लगभग शून्य उपस्थितिले कांग्रेसको कुरा सुन्न जनता इच्छुक छैनन् भन्ने सन्देश मात्र प्रवाहित गरेको छ । हुन पनि कुनै ठोस वा निर्दिष्ट राजनीतिक एजेन्डाबिना नै कांग्रेसले थालेको जनजागरण अभियानलाई जनताले पटक्कै रुचाएनन् र त्यो एउटा कार्यकर्ता भेलाका रूपमा मात्र परिणत हुन पुग्यो ।
नेपाली कांग्रेसले जनजागरण वा अरु कुनै त्यस्तै प्रकृतिको अभियान सञ्चालन गर्नु नितान्त जरुरी भइसकेको थियो । संघीय र प्रदेश तहको निर्वाचनपछि सेलाउन पुगेको कांग्रेसले आफ्नो अस्तित्व जीवित नै छ भन्ने देखाउन पनि कुनै न कुनै कार्यक्रम वा अभियान चलाउनैपथ्र्यो । तर, वामपन्थी नेतृत्वको सरकारले बटुल्दै गएको लोकप्रियता र क्रियाशीलताको अघि कांग्रेसले जस्तोसुकै अभियान चाले पनि त्यो जनताको नजरमा अंकित हुने सम्भावना भने कमै थियो । सायद यही रहस्य बुझेर नै हुनुपर्छ, वामपन्थी शक्तिको नेतृत्वमा सरकार गठन भएको करिब १५ महिनापछि जनताको नाडी छाम्ने हेतुले कांग्रेसले जनजागरण अभियानको सहारा लिएको प्रस्टै बुझिन्छ ।
तर, वामपन्थी नेतृत्वको सरकारको चमकदमकको अगाडि कांग्रेसको कुरा कसले सुन्ने ? कांग्रेसको कुरा कसरी पत्याउने ? हरेक ठाउँमा सञ्चालित जनजागरण अभियानमा जनताले देखाएको उदासीनताले अझै पनि कांग्रेसको कुरा सुन्न जनता अग्रसर छैनन् भन्ने प्रस्टै देखाएको छ । जबसम्म जनता कुनै राजनीतिक शक्तिको कुरा सुन्न उदासीन हुन्छन्, तबसम्म त्यस्ता राजनीतिक शक्तिले जनतालाई आफ्नो कुरा सुनाउने अपेक्षा राख्नु व्यर्थ हुनेछ । कांग्रेसको जनजागरण अभियानले भोगेको असफलतालाई पनि त्यही पृष्ठभूमिमा हेर्नुपर्ने हुन्छ ।
जनतालाई जागृत तुल्याउने हेतु कांग्रेसजनहरूले राख्नुलाई गलत रूपमा लिइनुहुँदैन । कुनै पनि राजनीतिक शक्तिलाई जनताका बीच पुग्ने छुट छ र उसलाई जनतासामु आफ्नो राजनीतिक एजेन्डा बिसाउने पर्याप्त अवसर पनि छ । तर, जनताका बीचमा जाँदा आफूभित्रका यावत् अन्तरविरोधहरूलाई साथसाथै लिएर जाँदा त्यसले कार्यकर्ता, समर्थक, शुभेच्छुक र जनपंक्तिलाई एकीकृत तुल्याउन कदापि भूमिका खेल्दैन । जनतासामु जाँदा एकढिक्का भएर जाने राजनीतिक शक्तिले मात्र जनताको मन र विश्वास जित्न सक्दछन् । तर, कांग्रेसको सवालमा भने त्यसो हुन सकेन । जनजागरण अभियानमा जाँदा सभापति शेरबहादुर देउवा र कोइराला खेमाबीचको अन्तरद्वन्द्वको प्रतिच्छाया प्रस्टै देखियो ।
राष्ट्रिय राजनीतिमा कांग्रेस दिनदिनै कमजोर साबित हुँदै गए पनि सो पार्टीभित्रको अन्तरद्वन्द्व भने थामिनसक्नु छ । तीन वर्षअघि शेरबहादुर देउवाले कोइराला खेमाबाट उभ्याइएको प्रत्यासी रामचन्द्र पौडेललाई पाखा लगाउँदा एउटा आशा पलाएको थियो, अब कांग्रेस वंशवादको घेराबाट टाढियो । तर, देउवाले पनि अपेक्षाकृत रूपमा कांग्रेसलाई गति दिन सकेनन् । अझैसम्म पनि कांग्रेसका कतिपय कमिटीहरूले पूर्णता नपाउनुको त्यसको संग्लो उदाहरण हो । अझ, सभापति देउवाको नेतृत्वमा लडेका प्रदेश र संघीय संसद्को निर्वाचनमा कांग्रेसले लज्जाजनक पराजय बेहोर्नुपरेपछि त देउवाको नेतृत्व क्षमतामाथि नै प्रश्नचिह्न उठ्न पुग्यो ।
सभापतिमा देउवा चुनिएपछि आफ्नो वंशवृक्ष मासिने हो कि भन्ने भय कोइराला खेमामा व्याप्त छ र अब हुने महाधिवेशनमा देउवा समूहलाई पाखा लगाउने दाउ र रणनीतिमा कोइराला खेमा जुटेको प्रस्टै देखिन्छ । तीन वर्षअघिको महाधिवेशनमा कोइराला खेमाबाट सभापतिका लागि ‘योग्य वर’ नपाइएपछि रामचन्द्र पौडेललाई उभ्याउनु सो खेमाको बाध्यता नै थियो । तर, अब हुने महाधिवेशनमा भने वंशवादलाई कायम राख्न कोइराला खेमाबाटै कोही न कोही सभापतिमा उठ्ने संकेत अहिलेदेखि नै देखिन थालेको छ । देउवाले पनि अर्को महाधिवेशनमा आफूलाई शक्तिशाली देखाउन र पुनः अर्को कार्यकाल दोहो¥याउन अहिल्यैदेखि अभ्यास गर्न थालेका छन् ।
केही दिनपूर्व सम्पन्न कांग्रेसको जनजागरण अभियानमा दुवै खेमाको ‘अभ्यास’को संकेत देखिन पुगेको थियो । वामपन्थी नेतृत्वको सरकारलाई खुइल्याउन सो जागरण अभियान थाले पनि राजनीतिक रूपमा आफैं खुइलिन पुगेको कांग्रेसले पत्तो नै पाएन । किनभने, जनताको अपार सहभागिता हुने अपेक्षा राखेर जागरण अभियान थाले पनि जनताले नपत्याइदिँदा कांग्रेसको कुरा सुन्न जनता अझै तत्पर रहेनछन् भन्ने प्रष्टै देखाएको छ र एक हिसाबले कांग्रेस आफैं जनपंक्तिबाट खुइलिन पुगेको छ ।
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply