कार्यकारी भुमिकाको खोजी
काठमाडौं । ‘महाराज ! आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ, मदन भण्डारी चुनाव लड्न तयार छ ।’ तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको यो चर्चित भाषण अझै पनि नेकपाका मात्र होइन, नेपालका सबैजसो राजनीतिक दलका धेरैजसो नेता–कार्यकर्तालाई कण्ठस्थ छ । संवैधानिक हैसियतका राजाको चुरीफुरीप्रति खुलेआम गर्जने उनै भण्डारी पत्नी विद्या भण्डारी अहिले त्यही संवैधानिक हैसियतको राष्ट्रपति छिन् । तर, पछिल्ला दिनमा उनको चुरीफुरी तत्कालीन राजाको जस्तै देखिँदैछ ।
दुईपटकको मन्त्री, त्यो पनि छोटो अवधि मन्त्रालय सम्हालेर राष्ट्रपति बन्ने सुनौलो अवसर पाएकी व्यक्तित्व हुन्, विद्या भण्डारी । उनै भण्डारीको अस्वाभाविक राजनीतिक चलखेलले यतिबेला राजनीतिक वृत्त गर्माएको छ । उनको यो सक्रियता हेर्दा प्रस्ट हुन्छ, उनमा मन्त्री हुने, दलीय राजनीति गर्ने रहर मेटिएकै छैन ।
तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको समेत योगदानमा भण्डारी दोस्रो कार्यकाल पनि राष्ट्रपति दोहरिइन् । उनी २०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा पहिलोपटक महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन् । तर, एक वर्ष पनि अनुभव सम्हाल्ने मौका पाइनन् । दोस्रोपटक २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा भने २० महिना रक्षामन्त्री बनेर अनुभव सम्हाल्ने मौका पाइन् । एउटा सरकारको पूर्ण कार्यकाल आयु पाँच वर्ष मान्ने हो भने उनी आधा कार्यकाल अर्थात् दुई वर्षभन्दा बढि मन्त्री बनेकी थिइनन् । यसरी हेर्दा उनमा राज्य सञ्चालनको खासै अनुभव पनि थिएन । तथापि, उनी २०७२ सालयता भने चार वर्षदेखि दोस्रो कार्यकाल राष्ट्रपति छिन् । तर, उनले पार्टीका नेताहरूको समूहलाई हप्तैपिच्छे राष्ट्रपति कार्यालयमा बोलाएर भेटेको थाहा पाउनेहरू कतै भण्डारीले राष्ट्रपतिजस्तो सम्मानित संस्थाको कार्यालयलाई पार्टी कार्यालयमा रूपान्तरण गरेर शक्ति अभ्यास त गर्न खोजेको होइन भन्ने आशंका गरिरहेका छन् ।
नेकपाको स्थायी समिति बैठक चलिरहेका बेला गत ४ गते राष्ट्रपति भण्डारीले १० जना नेतालाई शीतलनिवासमा कार्यालयमा भेट गरिन् । तीन घन्टा लामो भेटवार्तामा नेताहरूलाई लन्च खुवाइन् । त्यसक्रममा स्थायी समितिमा भइरहेको छलफल मात्र होइन, सरकारको काम, बजेट कार्यान्वयन, समाजवाद र जनताको जनवादबारे पार्टीभित्र भइरहेको बहसबारे पनि गम्भीर चासो राखिन् । त्यति मात्र होइन, उनले यसरी जाँदा उपयुक्त हुन्छ भन्दै निर्देशनात्मक प्रकृतिको सुझावसमेत राखेको भेटमा सहभागी नेताहरूको भनाइ छ ।
त्यसो त भण्डारीले यस्तो अभ्यास नेकपाका दुई अध्यक्षलाई बोलाएर निर्देशन दिने मात्र होइन, मधेसकेन्द्रित दलहरूलाई पनि बोलाएर अर्तीउपदेश दिने गरेको समाचारहरू बाहिर आइरहेकै हुन् । पछिल्लोपटक चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा सम्मान र स्वागत तथा सत्कारमा सहभागी हुनुका अतिरिक्त औपचारिक डेलिगेसनस्तरको भेटघाटकै अगुवाइ गरेपछि पनि भण्डारी विवादमा तानिएकी थिइन् ।
हाम्रो संविधानले आलंकारिक राष्ट्रपतिको व्यवस्था छ । तर, राष्ट्रपति भण्डारीको अस्वाभाविक चासो र निर्देशनहरू कार्यान्वयन नहुने हो भने के उनले आलंकारिक पदीय मर्यादा उल्लंघन गरेर मैदानमा आउनेछिन् ? गम्भीर प्रश्न खडा गरेको छ । कतिपयले राष्ट्रपतिको अहिलेको सक्रियतालाई पहिलो राष्ट्रपति डा. रामवरण यादवसँग जोडिएका कतिपय सन्दर्भसँग पनि तुलना गर्ने गरेका छन् । तर, त्योबेला राष्ट्रपतिको अन्तरिम प्रबन्धबारे उनीहरूको ध्यान पुग्न सकेको देखिँदैन । राष्ट्रपति भण्डारीलाई नेकपाभित्र अध्यक्ष केपी ओलीनिकट नेताहरूको एउटा समूहले सक्रिय हुन प्रेरित गर्ने, उक्साउने गरिरहेको पनि बताउन थालिएको छ । राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति गोविन्द कोविदकै जस्तो हैसियतमा छिन् । तर, कोविदले शिष्टाचारबाहेकका कुनै पनि राजनीतिक भेटघाट गर्दैनन् । पूर्वराष्ट्रपति प्रणव मुखर्जीले पनि कहिल्यै शक्ति अभ्यास गर्ने लोभ देखाएनन् । तर के राष्ट्रपति भण्डारीले भने अन्तर्राष्ट्रिय अभ्यासबाट पाठ सिक्लिन् ? लोकतन्त्रको दीर्घायुका लागि प्रश्न विचारणीय छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply