कांग्रेस–कलह
एउटा जीवन्त, क्रियाशील र प्रजातान्त्रिक चिन्तन पछ्याउने राजनीतिक दलका नेतृत्वकर्ताले पार्टीभित्र उत्पन्न विवाद वा अन्तरविरोधलाई सहमतिका आधारमा निप्ट्याउने कौशल प्रदर्शन गर्नु वाञ्छनीय देखिन्छ । तर, लामो एवं गौरवशाली इतिहास बोेकेको नेपाली कांग्रेसको वर्तमान नेतृत्वकर्तामा भने त्यस्तो कौशल, गुण र तत्परता देखिन छाडेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय ‘बहुमतका आधारमा’ पार्टीभित्र उत्पन्न किचलोलाई व्यवस्थापन गर्ने जुन शैली अपनाए, त्यसले एउटा प्रजातान्त्रिक भनाउँदो पार्टीको यथार्थ तस्बिर सामुन्ने आएको छ । पछिल्लो प्रकरणले अब कांग्रेसको राजनीतिमा सहमतिका लागि गुन्जाइस नरहेको पनि स्पष्ट पार्छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको लगाम लिएको तीन वर्षभन्दा बढी नै समय बितिसकेको छ । तर, उनले लगाम समाते पनि पार्टीलाई सही दिशातिर डो¥याउन सकेनन् भन्ने गुनासो पार्टी–पंक्तिभित्र बितेका अवधिमा प्रखर रूपमा सुनिँदै आएको हो । एउटा क्रियाशील पार्टीलाई व्यवस्थित, मर्यादित र अनुशासित रूपले सञ्चालन गर्न त्यसका सहायक अंगहरू अर्थात् भ्रातृ संगठन, विभाग र निकायहरूलाई चुस्तदुरुस्त राखेर क्रियाशील तुल्याउनु अनिवार्य हुन्छ । तर, महाधिवेशन सम्पन्न भएको लामो अवधि गुज्रिए पनि कांग्रेसका कतिपय भ्रातृ संगठन र विभागहरूले अझैसम्म पूर्णता पाउन सकेका छैनन् । कांग्रेसको संगठनलाई चलायमान तुल्याउने नेविसंघ, तरुण दल र विभागहरू अझै गठन हुन सकेका छैनन् । अहिले त यस्तो परिदृश्य देखिँदैछ– आउँदो महाधिवेशनसम्म पनि कतिपय भ्रातृ संगठनहरूले पूर्णता पाउने सम्भावना न्यून छ ।
यी सबै नेतृत्वको जडताको उपज हो । आफ्ना प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर सभापतिमा निर्वाचित भएपछि देउवाले कांग्रेसलाई गति दिने अपेक्षा पार्टी–पंक्तिले राखेको थियो । देउवाप्रति सिंगो कार्यकर्ता–पंक्तिको के कारण पनि अपेक्षा थियो र उत्साहित थिए भने जरा गाडेर बसेको वंशवादलाई उखेल्न देउवा सक्षम भएका हुँदा पार्टीलाई नयाँ शिरा र ढाँचाबाट अगाडि बढाउनेछ । हुन पनि देउवा नेतृत्वमा आउनुअघि कांग्रेस कोइराला परिवारको कोटरी मात्र थियो । कृष्णप्रसाद भट्टराईलाई छाडेर हेर्ने हो भने कांग्रेसको लगाम कोइराला परिवारबाट सायदै अर्को हातमा पुग्यो । पछिल्लो समय वंशवादको जकडबाट कांग्रेसलाई उम्काउन देउवा सक्षम देखिए र उनीप्रति आशा, भरोसा र विश्वास पनि पर्याप्त नै रह्यो ।
देउवाले नेतृत्व सम्हालदेखि नै कांग्रेस किचलोको दलदलमा फस्दै आयो । त्यो क्रम अद्यापि जारी छ । अझ महाधिवेशन नजिकिँदै गएको हुँदा कांग्रेस कलहको ग्राफ अझै बढ्ने निश्चितप्रायः छ । महाधिवेशनको माहोल तातिँदै जाँदा संस्थापन पक्षले असन्तुष्ट पक्षको अवरोधका कारण पार्टीलाई सोचेअनुरूप सञ्चालन गर्न नसकेको आरोप लगाउनु स्वाभाविक देखिन्छ र असन्तुष्ट पक्षले पनि नेतृत्वको असक्षमताका कारण पार्टीले गति लिन नसकेको आक्षेप लगाउनु स्वाभाविकै देखिन्छ ।
अझ पछिल्लो समय संस्थापन पक्षले बहुमतको आधार भन्दै एकलौटी रूपमा आफूखुसी महाधिवेशनको मितिसमेत तय गरेर निर्णय गरेपछि पहिलादेखि नै असन्तुष्टि पोख्दै आएको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह नेतृत्वप्रति झनै आगो हुन पुगेको छ । सहमतिबाटै पार्टीभित्र उत्पन्न समस्या, अन्तरविरोधहरू समाधान गर्न संस्थापन पक्षले प्रयत्न गरे पनि त्यस्तो प्रयत्न असफलतामा टुंगिएपछि एकलौटी निर्णय गरिएको थियो । यद्यपि, संस्थापन पक्षले गरेको एकलौटी निर्णय त्यो पक्षलाई महँगो पर्ने देखिइसकेको छ ।
यद्यपि, अहिले कांग्रेसभित्र उत्पन्न विवादको केन्द्रमा कुनै सैद्धान्तिक, वैचारिक मतभेद भने अडिएको छैन । विवाद केवल भागबन्डाका लागि मात्रै देखिएको छ । असन्तुष्ट पक्षले प्रणालीगत त्रुटि देखाउँदै नेतृत्वप्रति असन्तोष जनाए पनि, आह्वान गरिएको केन्द्रीय समितिको बैठक बहिष्कार गरे पनि विवादको अन्तर्यमा भने अब गठन हुने विभाग, भ्रातृ संगठनहरूमा भागबन्डा नै रहेको देखिन्छ । आखिर, राजनीति भनेका अन्तिममा गणितकै खेल हो, लेखाजोखाकै विषय हो । संस्थापन पक्षलाई एकलौटी गर्न दिने र उनीहरूका निर्णयमा ल्याप्चे लगाउनेजस्ता काममा मात्र पौडेल–सिटौला समूह किन तयार हुन्थे र ? आत्मसमर्पण गर्न उनीहरू किन राजी हुन्थे र ?
सम्बन्धित समाचार
- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
- आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply