भ्रष्टाचार गर्ने पीए डाँँडा कटाइए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निजी सचिव भएर औषधि तथा उपकरण माफियाहरूको हितमा काम गर्ने उपसचिव लीलाराज पौडेललाई रुकुमपूर्वमा सरुवा गरिएको छ । ओम्नी गु्रपदेखि विशाल पण्डितसम्म उपकरण माफियाका एजेन्टका रूपमा दसौं वर्षदेखि मन्त्रालयमा कार्यरत उनी अर्थ मन्त्रालयको बजेटसम्बन्धी छलफलमा आफैं जाने गरेका थिए । मन्त्रीको पिए भएर योजना महाशाखाका उपसचिव वा सहसचिव जानुपर्ने बजेटसम्बन्धी छलफलमा हस्तक्षेप गरी आफैं जाने गरेका थिए । सरुवा बढुवादेखि अस्पतालका उपकरण खरिदमा उनी सोझै हस्तक्षेप गर्दथे । आफूलाई घुस नआउने भए खरिद प्रक्रिया नै भाँड्ने काममा पनि उनी सक्रिय हुने गरेका थिए ।
स्वास्थ्य सेवा विभागबाट हुने मेडिकल उपकरणदेखि औषधिसम्मको खरिद समितिको बैठकमा उनी उपस्थित हुने गरेका थिए । जबकि, मन्त्रीको सचिवालयका कर्मचारी खरिद प्रक्रियामा सहभागी यसअघि कहिल्यै हुने गरेका थिएनन् । स्वास्थ्य मन्त्रालयमा लामो समय कार्यरत पौडेल हरेक खरिदमा चासो राखेर कमिशनको हिस्सा खोज्ने गरेका थिए । यसरी मन्त्रालयबाटै खरिदमा हस्तक्षेप भएको कुरा विभागमा कसैले पनि रुचाएका थिएनन् । खरिदमा मन्त्री भानुभक्त ढकाललाई विवादमा पार्ने काम यिनै पौडेलले गरेको थाहा पाएपछि उनलाई रुकुमपूर्वमा सरुवा गरिएको छ । कारवाहीस्वरूप उनलाई रुकुमपूर्व सरुवा गरिएपछि मन्त्रालयबाट हँुदै आएको अनावश्यक हस्तक्षेप बन्द भएको विभाग स्रोत बताउँछ ।
मन्त्रीको नाम लिँदै पौडेलले विगतमा विभाग र महाशाखाका अधिकारीहरूलाई थर्काएर घुस माग्ने गरेका थिए । यो कुराको जानकारी मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले बिस्तारै थाहा पाउँदै गए । त्यसपछि मन्त्री ढकालले पनि पीएले गर्दा आफ्नो बदनाम भएको थाहा पाएपछि उनलाई कारबाहीस्वरूप रुकमपूर्व धपाइएको स्वास्थ्यका अधिकारीले बताए । पौडेलले आफूलाई कमिसन नदिएको खण्डमा मिडियालाई सूचना दिएर मन्त्रीदेखि महानिर्देशकसम्मको बदनाम गर्दै आएका थिए । विगतमा खगराज अधिकारीको पालामा पनि उनी स्वास्थ्य मन्त्रालयमा हर्ताकर्ता नै थिए । पद्मा अर्याल स्वास्थ्यमन्त्री भएपछि पनि उनी स्याङ्जाकै भएकाले हालीमुहाली चल्यो । तर, अर्यालले बेलैमा उनको हर्कत थाहा पाएपछि उनलाई साइड लगाएकी थिइन् । उनका भ्रष्टाचारका शृंखला थाहा पाएपछि उनलाई इलाम सरुवा गरिएको थियो । तर पछि हारगुहार गरी पुनः स्वास्थ्यमै आएर मन्त्री ढकालको निजी सचिव भएका थिए । तर, ढकालका नाममा स्वास्थ्यमा उनले ब्रह्मलुट मच्चाउँदै आए । मन्त्रीले ढिलै भए पनि थाहा पाएर उनलाई डाँडा कटाएकोमा स्वास्थ्यका अधिकारीहरूले राहत महसुस गरेका छन् ।
पौडेलको स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पतालहरूमा उपकरण आपूर्तिकर्ता विशाल पण्डितसँग उनको बाक्लो बसउठ हँुदै आएको थियो । उपसचिव पौडेलले गत वर्ष योजना शाखाको प्रमुख हुँदा सामुदायिक अस्पताललाई अनुदान वितरणका क्रममा २० देखि ३० प्रतिशतसम्म असुली गरेको आरोप पनि छ ।
उनले भनेअनुसार रकम दिनेलाई मात्र उनले अनुदान दिएको पीडितहरूको गुनासो रहेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताद्वारा सञ्चालित पञ्चकन्या सामुदायिक अस्पताललाई उनले ३५ लाख अनुदान दिने निर्णय गराएर १२ लाख आफूले लिएको आरोप छ । पञ्चकन्या एक उदाहरण मात्र हो, २० वटाभन्दा बढी सामुदायिक अस्पताललाई अनुदान दिँदा उनले यसैगरी रकम असुल्ने गरेको मन्त्रालय स्रोत बताउँछ । ओखलढुंगाका नेकपा सांसद यज्ञराज सुनुवारले मिसन अस्पताललाई अनुदान दिन अनुरोध गरे । मन्त्रालयले दिने भने पनि घुस नपाउने भएपछि मिसन अस्पतालको नेटवर्कलाई दिने भनी अड्काए । र, केन्द्रकै मिसन अस्पतालको नेटवर्कसँग कनेक्सन मिलाउने भनी अनुदान नदिएको ओखलढुंगा नेकपाका कार्यकर्ता बताउँछन् । पौडेलले आफ्नै गृहजिल्ला स्याङ्जाकै एक सामुदायिक अस्पताललाई अनुदान दिँदा पनि घुस लिएको आरोप छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply