महाधिवेशनको हावादारी अपेक्षामा बरालिएको नेकपा
काठमाडौं । सत्तारूढ पार्टी नेपाल कम्युनिट पार्टी (नेकपा) भित्रको लामो समयदेखिको विवाद के भयो ? समाधान भयो कि भित्रभित्रै अझै भुसको आगेजस्तै सल्किरहेको छ ? यसको प्रस्ट जवाफ नेकपाकै शीर्ष तहका नेताहरूमा समेत छैन । नौपटकसम्म स्थगित हुँदै आएको स्थायी कमिटी बैठक अब कहिले बस्ने भन्ने कुराको कुनै टुंगो को त के कुरा अनुमानसमेत छैन । गत महिना डाकिएको स्थायी समिति बैठकमा उत्पन्न विवादलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले फेस गर्न नसकेपछि स्थगित गरिएको बैठक बेवारिसे अवस्थामा छ । स्थायी मितिबाट समाधान निकाल्न नसकेपछि बनाइएको ६ जनाको कार्यदलले विवाद समाधानका उपायसहितको प्रतिवेदन अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई बुझाएको पनि हप्तौं भइसकेको छ । तर, त्यो प्रतिवेदन पनि बेवारिसे बनेको छ ।
विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुसालले बुझाएको प्रतिवेदन त्यसअघि वामदेव गौतमले पेस गरेको सुझावकै स्प्रिटमा थियो । जसको मुख्य बुँदा अर्को महाधिवेशनसम्म ओली नै प्रधानमन्त्रीमा निरन्तर रहने, दाहाल कार्यकारी अध्यक्ष र ओली सेरेमोनियल अध्यक्षका रूपमा रहने, सरकारले गर्ने नियुक्तिअघि पार्टीमा छलफल गरेर मात्र गर्नेलगायत बुँदा समेटिएका थिए ।
तर, प्रधानमन्त्री ओलीले त्यो प्रतिवेदनको सुझावलाई समेत रद्दीको टोकरीमा फ्याँकिसकेका छन् । तत्कालका लागि नेतालाई एकअर्काविरुद्ध जुधाउने र विवाद समाधानका लागि मुखमा बुजो मात्र हाल्ने मनशाय प्रधानमन्त्रीमा प्रकट हुने गरेको देखिन्छ । कार्यदलले बुझाएको प्रतिवेदनको सुझावविपरीत त्यपछि पनि प्रधानमन्त्री ओलीले जथाभावी पार्टीसँग कुनै सरसल्लाह नगरी धमाधम नियुक्ति गरिरहेका छन् । त्यसयता केही राजदूतहरूको नियुक्ति, युवा स्वरोजगारी कोषको कार्यकारी, प्रेस काउन्सिल कार्यवाहक अध्यक्षलगायतका विवादास्पद नियुक्तिहरू गरियो ।
यी नियुक्तिले पार्टीभित्र हुन लागेको सहमतिको वातावरण फेरि धमिल्याएको चर्चा हुन थालेको छ । पहिल्यै पार्टीले निर्णय गरिसकेको नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय बेवारिसे नै छ भने प्रम ओली अर्थमन्त्री खतिवडालाई नै निरन्तरता दिने प्रयासमा छन् । खतिवडाको नाम उनले राष्ट्रपतिसमक्ष पठाइसकेको बताइन्छ । पर्सि २० गते अवधि सकिन लागेका खतिवडालाई पार्टीको निर्णय विपरीत एकतालाई संकटमा पार्ने गरी च्याप्नुपर्ने के बाध्यता प्रधानमन्त्री ओलीलाई आइपर्यो ? त्यो कार्यकर्ताले बुझ्न सकेका छैनन् । सरकारमा रहेर उत्कृष्ट पर्फर्मेन्स देखाएको भए पनि जसरी कुलमान घिसिङको पक्षमा सामाजिक सञ्जालमा समर्थनको बाढी उर्लेको छ, त्यसरी नै खतिवडाका पक्षमा कार्यकर्ता स्वतःस्फूर्त जाग्ने थिए । तर, खतिवडाकै कारण अर्को निर्वाचनमा नेकपाले धक्का खाने आँकलन नेकपाकै कार्यकर्ताहरूको छ ।
यी र यस्ता प्ररणबाट प्रधानमन्त्री ओलीले सहमतिको पालना गर्छन भन्ने भ्रमको पर्दा खुल्दै गएको छ । नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘सहमतिमा आउने, सहमतिअनुसार चल्ने ओलीको स्वभाव नै होइन । उनको पहिचान भनेकै अरूले जे भन्छ, त्यसविरुद्ध जाने हो ।’ पछिल्लो समय अर्का अध्यक्ष प्रचण्ड ओलीको जुन आश्वासनबाट प्रभावित भएका छन् त्यसको पनि पर्दा चाँडै खुल्ने ती नेताले बताए । हुन पनि प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष दिने र ओली सेरेमोनियल बस्ने भन्ने जत्तिको हावा कुरा केही हुन सक्दैन । उदाहरणका लागि ओलीले बालुवाटारमा बैठक बोलाए भने प्रचण्ड जान्छन् कि जाँदैनन् ? बालुवाटमा बोलाएर त्यही बैठक सञ्चालन भयो भने भने कार्यकारी को हुन्छ ? निर्णयमा के लेखिएको छ भन्ने कुरा कसले हेर्छ ? अरू त कुरा छाडौं, ओलीलाई बालुवाटरबाट निकालेर पार्टी कार्यलयमा बैठकमा लिन पनि सक्दैनन प्रचण्डले । दोस्रो कुरा, चैतमा महाधिवेशन हुन्छ भन्नेजस्तो हावादारी, अविश्वसनीय कुरा के हुन्छ ? कोभिड महामारी दिनप्रतिदिन बढ्दैछ । यो अझै भयावह हँुदै जाने आँकलन गरिएको छ । यस्तो सन्त्रासका बीच तल्ला कमिटीको अधिवेशन कसरी हुन्छ र महाधिवेशन हुन्छ । यस्तो हावादारी अपेक्षाको लहैलहैमा नेकपा पंक्ति बरालिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply