कम्युनिष्टबाट लखेटिएका खतिवडा कसरी भए कम्युनिष्टका यति प्रिय ?
काठमाडौं । सरकारले डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त सिफारिस गरेको हो । कम्युनिष्ट सरकारमा सबैभन्दा धेरै र आकर्षक नियुक्ति पाउने भाग्यमानी हुन् डा खतिवडा । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतक्ष्य शासनकालयताका १६ वर्ष नेपालमा यति कसैका लागि सबैभन्दा बढी फलिफाप नै फलिफाप भएको छ भने त्यो डा खतिवडाका लागि भएको छ । राजा ज्ञानेन्द्रको शासनकालमा दरवारिया पगरी गुथेर सुटुक्क राष्ट्रिय योजना सदस्य खान पुगेका उनले त्यसयता कहिल्यै आकर्षक पदबेगर बस्नै परेन् ।
सुन्दा धेरैलाई आश्चर्य लाग्छ, विद्यार्थी कालमा पंचायत समर्थक विद्यार्थी मण्डलको सुँखार कार्यकर्ता उनी कसरी कम्युनिष्टको रोजाईको सबैभन्दा प्रिय पात्र बने ? २०३० दशकको सुरुवातमा झापामा अध्ययनरत रहँदा उनी पञ्चायत समर्थित राष्ट्रवादी विद्यार्थी मण्डलको कार्यकर्ता थिए । झापामा अखिलका कार्यकर्ताबाट कुटाइ खाएपछि उनी काठमाडौं छिरेको उनका समकालीनहरु बताउँछन्् । काठमाडौं आएर केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा स्नाताकोत्तर अध्ययनका लागि भर्ना भए । त्यहाँ मण्डलेहरूको कुनै गतिविधि थिएन । गुपचुप रूपमै पढे । एमए पास गरेपछि मोरङमा क्याम्पसमा पढाउन गए । २०३९ सालमा अधिकृतका रूपमा राष्ट्रबैंकमा प्रवेश गरे । त्यसबेला राष्ट्र बैंकमा कम्युनिस्टहरूकै जगजगी थियो । दीपेन्द्रबहादुर क्षेत्रीहरूको बोलावाला थियो । उनी त्यहाँ पनि कर्मचारी संगठन, कर्मचारी आन्दोलनमा उनीहरूको विरोधको तारो नबन्ने ढंगले मात्रै पन्छिएर, चोखिएर, मीठो बोली बोलेर सुतुरमुर्गजस्तो भएर बसेको उनका सहकर्मीहरू सम्झन्छन् । २०४२ सालमा पिएचडी गर्न भारत गए ।
तीनवर्षे पीएचडी कोर्स पूरा गरेपछि उनी राष्ट्र बैंक फर्के । त्यसपछि विस्तारै कम्युनिस्ट निकट कर्मचारीसँग सम्पर्क बढाउन थाले । त्यहाँ केशव आचार्य, डिल्ली खनाल, गोविन्दबहादुर थापा, भीम न्यौपानेलगायतको एउटा समूह थियो । उनी पनि त्यही समूहसँग नजिकिए । यो समूहलाई कम्युनिस्ट नेता भरतमोहन अधिकारीले ग्रुम गर्थे । उनीहरूलाई बेलाबेलामा बोलाउने, अन्तक्र्रिया गराउने गर्थे । पछि राजा ज्ञानेन्द्र सत्ता लिएपछि बद्रीप्रसाद श्रेष्ठ अर्थमन्त्री भएँ । पार्टीका सबै नेता जेलमा थिए । त्यस्तो बेलामा खतिवडा लुसुक्क राष्ट्रिय योजना आयोगको सदस्य खान पुगे । त्यसबेला भरतमोहनले निकै मन दुखाए थिए । हामी सबै जेलमा छौं, एकचोटि नसोधी, राजा नियुक्ति खान किन गएका होलान् भन्दै अधिकारीले दुखेसो पोख्ने गरेका थिए । राजाको निरंकुश कदमविरुद्ध राजनीतिक दलहरूले आन्दोलन तीव्र बनाउँदै लगेपछि योजना आयोगका सबैले राजीनामा गरे । खतिवडा यूएनडीपीमा कन्सल्टेन्टका रूपमा काम गर्न श्रीलंका गए । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि उनलाई बोलाइयो र योजना आयोगको उपाध्यक्ष बनाइयो ।
त्यसको केही समयमै राष्ट्र बैंकको गभर्नर खाली भयो । बैंकमै काम गरेको मान्छेलाई गर्भनर काम गर्न सजिलो पनि भयो, नोटमा हस्ताक्षर पनि गर्न पाइने, विदेश धेरै घुम्न पनि पाइने भएपछि त्यतैतिर उनको लोभ जाग्यो । राज्यमन्त्रीसरहको योजना आयोगको सुविधा छाडेर विशिष्ट श्रेणीको गभर्नर बन्ने योजना बुन्न थाले । तत्कालीन प्रधानमन्त्री नेपाललाई फकाएर उनी गभर्नर बने । त्यसो त योजना आयोगमा काम गर्न गाह्रो पनि भएको थियो । योजना आयोगामा पठाउँदा पनि पार्टीका मान्छेले धेरै विरोध गरेका थिए । नेपालकहाँ डेलिगेसन नै गएको थियो । नेपालले होइन सक्छन्, गर्छन् भन्दै थुम्थुम्याएका थिए । गभर्नर भएपछि आयोगबाट मुक्ति पाए । गभर्नर भएपछि पनि कर्मचारी युनियनले तीन महिनासम्म घेराउ गरेर सिटमा बस्न दिएनन् ।
गभर्नरको कार्यकाल सकिएपछि उनी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निकटमा पुगे र राष्ट्रिय सभा सांसद र प्रधानमन्त्री ओलीले पत्याएका अर्थमन्त्री बन्ने मौका पाए । कार्यकाल सकिएपछि पनि उनलाई दोहोर्याउन प्रधानमन्त्री ओली ले निकै प्रयत्न गरे तर पार्टीभित्रको तीव्र विरोधका कारण उनको त्यो प्रयास सफल भएन । अर्थमन्त्रीबाट राजीनामा दिनेवित्तिकै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा उनले नियुक्ति पाए । उक्त नियुक्ति पाएको हप्ता÷दश दिन नवित्दै फेरी अमेरिकाका लागि राजदूत बनाइएको छ ।
उनलाई राजदूतमा सिफारिस गरिएपछि सामाजिक संजालमा यसलाई लिएर सरकार र डा खतिवडाकै पनि खिल्ली उडाइएको छ । ‘अमेरिकाबाट फर्केपछि कहाँ नियुक्ति खाने होला भन्ने तनावमा डा खतिवडा’ भन्दै यो सिफारिसको खिल्ली उडाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply