यो पृथ्वी कसको हो महासय ?
छविरमण सिलवाल
आमा र बाहरूको काख रित्ताएर
केटाकेटीहरूको बिस्कुन लगाउने
ओ ! नायकहरू
यो धरामा बाँच्ने अधिकार
उनीहरूलाई छैन र ?
यो पृथ्वी उनीहरूको पनि
होइन र ??
अँ ! तिमीले देख्यौ कि देखेनौ
एउटा बच्चा
भोकले निस्लोट भएर
मरेकी आफ्नी आमाको
हात चाटिरहेको ?
त्यो नाबालकलाई मिठोमिठो
खुवाउने त्यो आमाको हात
किन चुडाल्यौ ?
के यो पृथ्वी त्यो नाबालकको
आमाको पनि होइन र ?
एउटा बाबुको हात
कति कठोर बनायौं तिमीले
हेर आँखा तन्काएर हेर
आफ्नै छोराछोरीको लास
चाङ लगाउन बाध्य बनाउने
त्यो तिम्रो कुन स्वार्थ हो ?
के आफ्ना प्यारा छोराछोरीका
हात समातेर टुकुटुकु हिँडाउने, रमाउने
अधिकार किन खोस्यौ ?
के त्यो अर्कै पृथ्वी हो र ?
के ति बाबुहरूको खुसी बाँड्ने
पृथ्वी यो होइन र ?
के पीडित बाबुहरूले बाँच्ने अधिकार
यो पृथ्वीमा छैन र ?
र यसरी,
निर्दोषको रगत लत्पत्याएर
सबैको साझा पृथ्वी रगतले रंग्याउने
तिमी को हौ ?
लाखौंका आँसुका भेल उरालेर तिमीले
कसलाई बगाउन खोजिरहेका छौं ?
अनाथहरूलाई या
यो पृथ्वीलाई ?
जीवनमा यति क्रूर भएर
मानवताको मजाक किन ठानिरहेका छौ ?
के यो पृथ्वी तिम्रो आफ्नै हो
या तिमीले तिम्रा लागि मात्र,
रजाइँ गर्न बनाउन लगाएका हौं ?
(सिरीया युद्धमा मारिएका बच्चाहरूप्रति समर्पित)
Leave a Reply